न्यूनतम पाँच सय मिटरका दरले सबै वडाको सडक कालोपत्रे गर्न बजेट विनियोजन

0
1127

अमित खम्बू/अर्जुनधारा ।

झापाको अर्जुनधारा नगरपालिकाले चालु आर्थिक वर्ष ०७७/०७८मा नगरका ११ वटै वडामा न्यूनतम पाँच सय मिटरका दरले सडक कालोपत्रे गर्न बजेट विनियोजन गरेको छ ।

गत असार १० गतेदेखि साउन २६ गतेसम्म सञ्चालन भएको सातौं नगर सभाबाट स्वीकृत चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा नगरले पूर्वाधार विकास अन्र्तगत उक्त बजेट विनियोजन गरेको हो ।

राजश्व बाँडफाँड संघको स्रोतबाट व्योहोर्ने गरि तीन करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको नगरपालिकाद्वारा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक वार्षिक नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यसैगरी सोही स्रोतबाट व्योहोर्ने गरि सडक ग्राभेल, पुल, आवास र तटबन्ध गर्न ७७ लाख रुपैयाँ विनियोजन गरेको छ ।

त्यस्तै नगरपालिकाले बहुवर्षिय योजना अन्र्तगत नगरभित्र ६० किलोमिटर सडकको स्तरोन्नती तथा २५ किलोमिटर सडक कालोपत्रे गर्न प्रदेश र संघसँग सहकार्य गर्ने नीति लिएको छ । नगर योजना शाखाका अनुसार संघ र प्रदेशको सहकार्यमा नगरपालिकाले हालसम्म ९.७ किलोमिटर सडक कालोपत्रे, १८५ किलोमिटर सडक ग्राभेल र १० किलोमिटर सडकको ट्रयाक निर्माण गर्ने कार्य सम्पन्न गरेको छ ।

नगरले आर्थिक वर्ष ०७४/०७५मा ३ किलोमिटर, आर्थिक वर्ष ०७५/०७६मा २.७ किलोमिटर र आर्थिक वर्ष ०७६/०७७मा ४ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य सम्पन्न गरेको थियो । त्यसैगरी आर्थिक वर्ष ०७४/०७५मा ५० किलोमिटर, आर्थिक वर्ष ०७५/०७६मा ९५ किलोमिटर र आर्थिक वर्ष ०७६/०७७मा ४० किलोमिटर गरि जम्मा एक सय ८५ किलोमिटर सडक ग्राभेल गरेको नगरले गत आर्थिक वर्ष ०७६/०७७मा १० किलोमिटर सडकको ट्रयाक निर्माण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here