लक्ष्मी उप्रेती / मेचीनगर ।

सरकारले मुसुरो दाल निर्यात प्रोत्साहन गर्न भन्दैं व्यवसायीलाई निर्यात सहुलियत दिए पनि पूर्वीनाकाबाट मुसुरो दालको निर्यात तीनवर्ष यता क्रमस ओरालो लाग्दैं गएको छ । सरकारले निर्यात प्रोत्साहन स्वरुप व्यवसायीहरुलाई ‘एस्सपोर्ट इन्सेटिफ’ निर्यात प्रोत्साहन भन्दैं ५ प्रतिशत सहुलियत दिएको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले बताए ।
प्रमुख भन्सार अधिकृत विश्वकर्माका अनुसार व्यवसायीले मुसुरो दाल निर्यात गर्दा निकासी वापत प्रतिकेजी १ रूपैयाँ निकासी दस्तुर बुझाउनु पर्छ । तर, सरकारले व्यवसायीलाई निकासी सहुलियत प्रदान गरे पनि काँकरभिट्टा नाकाबाट हुने मुसुरो दालको निर्यात व्यपार खासै सन्तोषजनक नरहेको बताइएको छ । पूर्वी काँकरभिट्टा नाका भएर बंगलादेश निर्यात हुने मुसुरो दाल आर्थिक वर्ष २०७४÷०७५ देखि २०७६÷०७७ तीनवर्षको अवधिमा क्रमस घट्दो क्रममा रहेको सरकारी तथ्याङ्क छ ।
प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका कार्यालय प्र्रमुख वरिष्ठ बाली संरक्षण अधिकृत हर्षहाङ्ग राईका अनुसार अघिल्लो आर्थिक वर्ष २०७४ ÷०७५ मा यो नाका भएर ९५ करोड ५४ लाख ४० हजार रुपैयाँ मुल्य बराबरको १० हजार ६ सय १६ मेट्रिक टन मुसुरो दाल बंगलादेश निर्यात भएको थियो ।
तर, आर्थिक वर्ष २०७५÷०७६ मा मसुरो दालको निकासीमा केही बृद्घि भएपनि गत आर्थिक वर्ष २०७६÷०७७ मा निकासी हवात्तै घट्यो । आर्थिक वर्ष २०७५÷०७६ मा नेपालले १ अर्व ४१ करोड १ लाख २० हजार रुपैयाँ मुल्य बराबरको ११ हजार ५ सय ६८ मेट्रिक टन दाल बंगलदेश निकासी गरेको सरकारी तथ्याङ्क छ । त्यसलगत्तै गत आर्थिक वर्ष २०७६÷०७७ मा भने निकासी घटेर ८३ करोड ३८ लाख ३८ हजार वा ६ हजार ६ सय ५१ मेट्रिक टनमा सिमित हुन पुगेको कार्यालय प्र्रमुख राईले जानकारी दिए ।
दाल निकासीमा नेपाल सरकारले कृषि भएकाले भ्याट छुट दिएको छ । तर, व्यावसायीहरुले मुसुरो दाल निर्यातका क्रममा अनिवार्यरुपमा खाद्य प्रयोगशालाको सीफारिश भए पेश गर्नुपर्ने भन्सार अधिकारीहरु बताउछन् । व्यवसायीले खाद्य प्रयोगशालाको सिफारीश भए पेश गरे पछि निकासी वापत प्रतिकेजी १ रूपैयाँ निकासी दस्तुर वाहेक अन्य केही रकम बुझाउनु नपर्ने प्रमुख भन्सार अधिकृत विश्वकर्माको भनाई छ । तेस्रो मुलुकबाट आयात भएको दालमा कृषि छुटमा १० प्रतिशत महशुल बुझाउनुपर्छ । भारतले निर्यातमा प्रतिबन्ध गरेको मुसुरो दाल बासमती चामललगायतका कृषिजन्य वस्तु पर्याप्त मौज्दात भएपछि मात्र उसले यस्ता वस्तुको कोटा प्रणालीमा निर्यात गर्ने गरेको छ ।
नेपालमा उत्पादित मसुरो विशेषगरी बंगलादेश मात्रै निर्यात हुने गरेको छ । नेपालमा उत्पादित मुसुरो दालको माग बंगलादेशमा अत्यन्तै भएपनि माग अनुसार पूर्ति गर्न नसकिएको नेपाी सरकारी अधिकारीहरुको भनाई छ । बंगलादेश निकासी गर्दा त्यहाँ कुनै पनि प्रकारको महशुल बुझाउनु नपर्ने ,निर्यात विना झण्डझट सहजरुपमा गर्न सकिने वातावरण हुदाँहुदैं नेपालले बंगलादेशको माग अनुसार मुसुरो दाल निर्यात गर्न नसकेको प्रमुख भन्सार अधिकृत विश्वकर्माले बताए ।
यता नेपालमा उत्पादित दालले नेपाली बजार धान्न नसकेका कारण अधिकाँश बजार भारतबाट आयतित दालले ओगटेको नेपाली व्यवसायीहरुको भनाई छ । मुख्यःत भारतबाट दाल आयात हुने भएपनि नेपालमा उत्पादित दाल बंगलादेश निर्यात हुने गर्छ । नेपालमा उत्पादित दाल गुणस्तरीय र स्वादिष्ट हुने भएकाले पनि बंगलादेश बढी निर्यात हुदैं आएको व्यवसायीहरुको भनाई छ । नजिक पर्ने भएकोले बंगलादेशले सकेसम्म दाल आयात गर्न चाहेको नेपाली दाल व्यवसायीहरुको भनाई छ । व्यवसायीहरुका अनुसार नेपालमा उत्पादित दालमध्ये २० प्रतिशतमात्रै नेपालको आन्तरिक बजारमा खपत र वाकी सवै निर्यात हुने गरेको छ ।
दाल निर्यातले नेपालको बजारलाई नकरात्मक असर पारेको भन्दैं नेपाल सरकारले नेपालमा प्रयोग हुने सात प्रकारका दालको निकासीमा केहि बर्षअघि परिणात्मक प्रतिबन्ध लगाएको थियो । नेपालमा दालको उत्पादन कम भएका बखत नेपालमा उत्पादित दाल नेपालमै खपत होस भन्ने उद्देश्यले नेपाल सरकारले दाल निकासीमा परिणात्मक प्रतिबन्ध लगाएको नेपाली व्यवसायीको भनाई छ ।
छिमेकी मुलुकहरु बंगलादेश र श्रीलंकाले नेपालसंग दाल निर्यात खुला गरिदिन आग्रह गरे लगत्तै केहि महिनामै नेपालले नेपालको बजारलाई नकरात्मक असर नपर्ने गरी मुसुरो दाल निकासीको अनुमति दिने प्रक्रिया सुरु गरेको थियो । नेपाली व्यवसायीहरुले पनि मिलमा मुसुरोको दाल थुप्रिएको भन्दैं प्रतिबन्ध खुल्ला गर्न सरकारमाथि निरन्तर दबाब दिदै आएका थिए । छिमेकी राष्ट्र र स्वदेशी व्यवसायीको आग्रहलाई मध्यनजर गदैंँं सरकारले प्रतिबन्ध खुला गरेको बताइएको छ ।































