असन्तुष्ट जनप्रतिनिधिले कचनकवल गाउँपालिकामा लगाएको ताला सेवाग्राहीले फुटाइदिए

0
854

भद्रपुर।

असन्तुष्ट पक्षका जनप्रतिनिधिले कचनकवल गाउँपालिकामा लगाएको ताला सेवाग्राहीले फोडिदिएको छ । गाउँपालिका समक्ष विभिन्न पाँच बुँदे माग राख्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस समर्थनका जनप्रतिनिधिहरुले बिहीबार बिहान अध्यक्षको कार्यकक्ष र गाउँपालिकाको प्रशासनिक भवनमा तालाबन्दी गरेको थियो ।

गाउँपालिकाबाट हुने दैनिक कामकाज प्रभावित बनेपछि तालाबन्दी गरेको करिब दुई घण्टा बित्न नपाउँदै सेवाग्राहीले सो ताला फुटाइ दिएका थिए ।
स्थानीय स्वायत्त शासन विपरीत वडा कार्यालयको अधिकार कटौती गर्ने गरी बजेट सिलिङ घटाएको, सङ्कटको समयमा करको भार बढाएर नागरिकमाथि ज्यादती गरेको, ६० लाखको बजेट सिलिङ १० लाखमा झारेको विरोध गर्दै असन्तुष्ट पक्षका जनप्रतिनिधिहरुले सो निर्णय सच्याउन माग राख्दै दुई हप्ता अगाडि ५ दिने अल्टिमेटम दिँदै ज्ञापनपत्र बुझाएका थिए ।

गाउँपालिकामा बुझाएको माग सम्बोधन नभएपछि उनीहरू तालाबन्दीमा उत्रेका थिए । आफूहरूका माग गाउँपालिकाका अध्यक्षलाई लिखित रुपमा दिएको वडा नम्बर ६ का वडा अध्यक्ष कुलबहादुर कार्कीले बताउँदै भने, ‘त्यस विषयमा पटक–पटक बैठक बोलाउन माग गर्दा पनि छलफल नगरेको हुँदा बाध्य भएर ताला लगाउनु पर्‍यो ।

जनप्रतिनिधिहरू बिच आपसी कुरा नमिलेको भए बैठकबाटै समस्याको समाधान खोज्नु पर्नेमा ताला लगाएर जनताको काम प्रभावित बनेकोले ताला तोडी दिएको सेवाग्राही भूपाल दंगालले बताए । बैठक बस्ने कुरा गरिरहेको बेला एक्कासि गाउँपालिकामा तालाबन्दी गर्नु कार्य राम्रो नभएको गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले बताए ।

गाउँपालिकाले ४९ करोड बजेट ल्याउनु भनिएकोमा सङ्घीय, प्रदेश र आन्तरिक स्रोतमा कम भयो, त्यसैले गर्दा गाउँपालिकाको बजेट ३७ करोडमा खुम्चिँदा वडाको सिलिङ कटौती गर्नु परेको हो, अध्यक्ष आलमले भने, ‘मैलै व्यक्ति रुपमा घटाउनु लगाएको होइन, आय स्रोत नै नजुटेकोले समस्या भएको हो । तर, पनि कार्यपालिका बैठकबाट यसको निकास निकाल्न सहमत छु ।’ गाउँ सभा हुनु अघि नै कार्यपालिकाको बैठकले बजेटको विषयमा निर्णय गरिसकेको थियो । ‘गाउँभामा पनि त्यस विषयमा छलफल गरी टुङ्गो लगाउन सकिन्थ्यो, तर असन्तुष्ट भएका जनप्रतिनिधिहरू कुरै नबुझेर गाउँ सभा बहिष्कार गरेर निस्किनु भयो,’ उनले भने ।’

उहाँहरूले ज्ञापनपत्र पनि मलाई बुझाएका हुन, उनले भने, ‘तर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काठमाडौँ जानु, त्यसपछि उनको सरुवा हुनु, नयाँ प्रमुख प्रशासकीय आउनु जस्ता गतिविधिले एक महिना त्यत्तिकै ढिलो भएको हो । यस विषयमा अहिले पनि बैठकबाटै निकास निकाल्न सकिन्छ, विरोध र तालाबन्दी गरेर सेवा ठप्प बनाउनु हुँदैन ।’ सात वटा वडा रहेको कचनकवल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित तीन जना वडा अध्यक्ष राप्रपाबाट निर्वाचित छन् काँग्रेस र नेकपाबाट दुई–दुई जना वडा अध्यक्षहरू निर्वाचित भएका छन् । गाउँपालिकामा राप्रपाकै वर्चस्व रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here