कोरोनाको संक्रमण बढ्दै: झापाका एक पुरुषको मृत्यु, देशभर १२ जनाले ज्यान गुमाए

0
432

बिर्तामोड ।

कोभिड–१९को संक्रमणका कारण पछिल्लो २४ घण्टामा देशभर १२ जनाले ज्यान गुमाएका छन् । यो हालसम्मकै उच्च मृत्यु हो । यसअघि कोभिडका कारण दिनमा ११ जनाको मृत्यु भएको थियो ।

प्रदेश–१ मा मात्रै शुक्रबार तीन जनाले ज्यान गुमाएका छन् । सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् तीन जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

झापा, मोरङ र सिराहाका कोरोना संक्रतिमको मृत्यु भएको बताइएको छ । कमल गाउँपालिकामा कोरोना संक्रमणका कारण एक व्यक्तिको मृत्यु भएको हो । कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवाश श्रेष्ठले दिएको जानकारी अनुसार केरखा बजार निवासी ८३ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

वृद्धलाई कोरोना संक्रमण देखिएपछि उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएको थियो । उनको उपचारकै क्रममा शुक्रबार बिहान निधन भएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए । दुवै मृगौला फेल भएर लामो समयदेखि डायलासिस गराइरहेका उनी उच्च रक्तचाप र मधुमेहका पनि दीर्घ रोगी रहेको प्रतिष्ठानले जनाएको छ ।

यस्तै मोरङको बेलबारी नगरपालिका–५ की ५६ वर्षीया महिलाको विहान सवा ३ बजे मृत्यु भएको छ । उनमा भदौ ९ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । पहिला कोशी अञ्चल अस्पताल पुगेकी ती महिलामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि प्रतिष्ठानमा रिफर गरिएको थियो ।

यसैबीच, प्रतिष्ठानमै उपचारका क्रममा रहेका सिराहाका ५५ वर्षीय पुरुषको बिहीबार राती मृत्यु भएको हो । भदौ ६ गते प्रतिष्ठानमा भर्ना भएका सिराहा नगरपालिका १ का पुरुषमा भदौ ७ गते कोरोना पुष्टि भएको थियो । उच्च रक्तचापका विरामी समेत रहेका उनलाई अवस्था जटिल भएपछि दुई दिनदेखि आइसियुमा राखेर उपचार गरिएको थियो । प्रदेश १ मा मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

यसैबीच प्रदेश १ मा शुक्रबार ७४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ४१, मोरङ र झापामा १४–१४, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इनरुवामा ६ महिला र १४ पुरुष, धरानमा ५ महिला र ४ पुरुष, इटहरीमा ५ पुरुष, देवानगञ्जमा २ महिला र २ पुरुष, कोशी गाउँपालिकामा ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको विराटनगरमा २ महिला र ५ पुरुष, लेटाङमा १ महिला र २ पुरुष, सुन्दरहरैचा र रंगेलीमा २–२ पुरुषमा संक्रमण देखिएको छ ।

यता झापाको कमल गाउँपालिकामा २ महिला र ७ पुरुष, मेचीनगरमा ३ पुरुष, हल्दीबारीमा १ पुरुष, शिवसताक्षीमा १ महिला, संखुवासभाको पाँचखपनमा १ पुरुष, खाँदबारीमा १ महिला, पाँचथरको फाल्गुनन्दमा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार १०४ पुगेको छ । प्रदेश १ स्थायी ठेगाना भएका २० र अन्य ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा शुक्रबार २० जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट १६, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ र विराटनगर अस्पताल आईसोलेसन केन्द्रबाट २ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा १ हजार ५१६ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा शुक्रबार १ हजार ३२७ जनाको पीसीआर परीक्षण गरिएको छ । अहिलेसम्म प्रदेशमा ८५ हजार २ सय २ जनाको पीसीआर परीक्षण भएको छ ।

शुक्रबार मात्रै देशभर ९ सय २७ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । १० हजार २ सय २९ जनाको पीसीआर गर्दा ९ सय २७ जना संक्रमित भेटिएका हुन् । हाल संक्रमित संख्या ३६ हजार ४ सय ५६ छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १६ हजार १९ संक्रिय संक्रमित रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here