भनिन्छ नि ‘प्रिभेन्सन इज बेटर देन क्योर’ अर्थात् रोग लागेपछि त्यसलाई निको पार्ने कोसिस गर्नुभन्दा लाग्नै नदिने प्रयास गर्नुपर्छ । अक्सर हामी यहीँ आएर चुक्छौं । बिरामी भएर औषधि उपचारमा गर्ने खर्च यदि स्वस्थ्य खाना खान, स्वस्थ्य जीवनशैली बाँच्नमा खर्चिने हो भने धेरै रोगहरुबाट बच्न सकिन्छ । यसको मतलब अहिलेदेखि जिम जाने, डाइट प्लान गर्ने, महंगा खानेकुराहरु खाने होइन ।
हामीले दैनिक जीवनमा खाने दाल, भात, तरकारीको पनि मात्रा र गुणस्तर मिलाउनुपर्छ । हाम्रो आहारामा कुन तत्व अत्यधिक छ र कुन छैन भनेर मध्यनजर गर्दै शरीरको आवश्यकता अनुरुप भिटामिन, कार्बोहाइड्रेट, प्रोटिन, खनिज आदि सम्पूर्ण पोषणतत्व मिलाएर खानुपर्छ ।

यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्दछ । रोग प्रतिरोधात्मक क्षमता अर्थात् मानव शरीरले रोगसँग लड्ने क्षमता । यसले हाम्रो शरीरलाई कुनै पनि रोग लाग्नबाट बचाउँछ । अहिले कोरोना भाइरसको संक्रमण बढी रहेको छ । यस्तो अवस्थामा रोगप्रतिरोधात्मक क्षमता कम हुँदा मानिसले ज्यान गुमाउने गरेको चिकित्सकहरुको भनाई छ । कोरोनाको संक्रमण हुने बित्तिकै मृत्यु नहुने र आत्मबल बलियो बनाउनुपर्ने चिकत्सिकहरुको सुझाव छ ।
रोग प्रतिरोधात्मक क्षमता
बढाउन खानुहोस् यी खानेकुरा :
सिट्रस फ्रुट : चिसो लागेपछि प्राय मानिसहरु भिटामिन सीको भर पर्छन् । किनकि त्यसले रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गर्दछ । भिटामिन सीले ह्वाइट ब्लड सेल वृद्धि गर्नमा मद्दत पु¥याउँछ । संक्रमणहरुसँग जुध्ने क्षमताको वृद्धिमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
सिट्रस फ्रुट अन्तर्गतका केही फलफूल यी हुन् :
कागती, सुन्तला, निबुवा, जुनार, अंगुर । भिटामिन सी हाम्रो शरीरमा न उत्पादन हुन्छ न त भण्डारन नै त्यसैले हरेक दिन यसको आवश्यकता पूरा गर्नलाई भिटामिन सीयुक्त फलफूल खान जरुरी छ ।
ब्रोकाउली : ब्रोकाउली भिटामिन र खनिजयुक्त हुन्छ । भिटामिन ए, सी, इ सँगसँगै फाइबर, एन्टी अक्सिडेन्ट लगायत पोषणतत्वहरु भएको ब्रोकाउली सबैभन्दा स्वस्थ्य तरकारी मध्ये एक हो । त्यसैले यसलाई सकेसम्म कम पकाउनुपर्छ अथवा काँचै पनि खान सकिन्छ ।
लसुन : संसारभरिको जुनसुकै देशको खानामा पनि लसुन प्रयोग हुन्छ । पुराना सभ्यताहरुले लसुनलाई संक्रामक रोगसँग बच्नमा प्रयोग गरेको पाइन्छ । राष्ट्रिय पूरक र एकीकृत स्वास्थ्य केन्द्रका अनुसार लसुनले रक्तचाप कम गर्न र रक्तसञ्चारमा पनि मद्दत पु¥याउँछ । यसले शरीरको प्रतिरोधात्मक शक्ति बढाउँछ ।
अदुवा : हामीलाई सञ्चो नहुँदा प्राय घरेलु औषधिको रुपमा प्रयोग गरिने खाद्यवस्तु हो अदुवा । यसको प्रयोग प्राय घाँटीको समस्या भएको वेला गरिन्छ । साथै, वाकवाकी रोक्न पनि मद्दत गर्छ अदुवाले । यसमा शरीरमा ताप बढाउने र दुखाइ कम गर्ने क्षमता पनि हुन्छ ।
पालुङ्गो : पालुङ्गोमा भिटामिन सी मात्र नभएर एन्टी अक्सिडेन्ट बेटा क्यारोटिन लगायतका तत्वहरु हुन्छन् जसले शरीरमा संक्रामक रोगसँग लड्ने क्षमताको वृद्धि गर्दछ । यसलाई हल्का पकाउनुपर्छ ताकि यसमा भएको भिटामिन सी नष्ट नहोस् र भिटामिन ए लगायत अक्जालिक एसिडमा भएका तत्वहरु पनि रिलिज होस् ।
दही : दहीले रोग प्रतिरोधात्मक क्षमताको वृद्धिमा मद्दत पु¥याउँछ । तर, दही खाँदा बजारमा पाइने फ्लेभर हालेको, गुलियो बनाइएको भन्दा पनि सादा दही खानु उपयुक्त हुन्छ । बरु स्वादका लागि आफैले ताजा फलफूल काटेर हाल्न सकिन्छ ।
बेसार : प्रायः हरेक खानामा रङ्गका लागि प्रयोग गरिने बेसार केवल रङ्गीन मसला मात्र होइन । यसले ‘इन्फ्लामेटरी’ रोग अर्थात् सुन्निनेसँग सम्बन्धित रोगहरु जस्तै टन्सिल, आस्थमा, हेपटाइटिस लगायत रोगसँग लड्न मद्दत पुयाउँछ ।
तुलसी : तुलसीका फाइदाहरु यस्ता छन् –
– रोग प्रतिरोधात्मक क्षमताको विकास
– बालबालिका, वृद्धवृद्धा र गर्भवतिका लागि विशेष फाइदा
– चिसोबाट बच्नका लागि निकै उत्तम (यसको पात डाँठ जराको प्रयोग)
– टाउको दुख्ने समस्या समस्याबाट मुक्त हुन सकिन्छ
– मुटु सम्बन्धी समस्या हुनेहरुले दैनिकरुपमा खालीपेटमा तुलसीको पत्ता र दूध सेवन गर्न सकिन्छ
– मुख गनाउने समस्याबाट छुट्कारा
अंकुरित खानेकुरा : मुङ, चना, केराउ लगायत गेडागुडी तथा दालहरुलाई केही दिन भिजाएपछि तिनमा टुसा पलाउँछ । यसमा भएको भिटामिन सीले शरीरमा सेतो रक्तकोषहरुको संख्या बढाउँछ जसले रोग प्रतिरक्षा प्रणालीलाई सुदृढ पार्छ । साथै यसमा उपस्थित भिटामिन एमा एन्टिआक्सिडेन्ट सम्बन्धी गुणहरू पाइन्छ जसले रोगविरुद्ध लड्न सक्ने क्षमता बढाउँछ ।
ड्राइ फ्रुट्स : चिसोसँगको लडाइमा शरीरलाई भिटामिन सी पछि भिटामिन इले सघाइरहेको हुन्छ । त्यसैले काजु, बदाम, पिस्ता जस्ता ड्राइ फ्रुट पनि प्रतिरोधात्मक क्षमताको वृद्धिमा अत्यन्तै लाभदायी हुन्छन् ।
मेवा : भिटामिन सीयुक्त अर्को महत्वपूर्ण फल हो मेवा । एउटा मेवामा एक दिनभरिलाई आवश्यक भन्दा दुई सय २४ गुणा बढी भिटामिन सी हुन्छ । मेवाले पाचन प्रणालीलाई पनि सुधार्छ ।
किवी : मेवा जस्तै किवी पनि निकै पोषणयुक्त फल हो । यसमा फोलेट, पोटासियम, भिटामिन के, भिटामिन सी लगायतका तत्व पाइन्छ । यसले ह्वाइट ब्लड सेल (सेतो रक्तकोष)को वृद्धि गराउँछ । सेतो रक्तकोषको मूख्य काम भनेकै शरीरमा रोग प्रतिरोधात्मक क्षमता कायम गर्नु हो ।
शंख भएका जीव (शेलफिस) : यस्ता जीवमा हामीले रोगसँग लड्ने क्षमता पाउँछौंभन्दा अचम्म लाग्नसक्छ । तर, केही यस्ता जीवहरुमा जिन्कको मात्रा अत्यन्तै बढी हुन्छ । जिन्कलाई अन्य भिटामिन र खनिज तत्वजस्तो महत्वपूर्ण रुपमा नलिइए पनि यसले हाम्रो शरीरमा भएका प्रतिरोधात्मक क्षमता बढाउने कोषहरुलाई चलायमान राख्न अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । गंगटा, घुंगी, झिंगे माछा लगायत जीवमा यो तत्व पाइन्छ ।
अन्त्यमा, सकारात्मक सोचको विकास गर्ने । कतिपय अवस्थामा हामी मानसिक रुपमा स्वस्थ्य भयौं भने, सकारात्मक सोच राख्यौं भने पनि धेरै किसिमका शारीरिक समस्याहरु देखा पर्दैनन् । हाम्रो मस्तिष्कसँग शरीरलाई नियन्त्रण गर्ने क्षमता हुन्छ ।
(एजेन्सीको सहयोगमा)































