पार्थ मण्डल/भद्रपुर,

भद्रपुर भन्सार कार्यालय परिसरमा शुक्रवार दिउँसो एकाएक भिड बढ्यो। सो भिडमा देखिएका व्यापारी तथा कारोबारी अन्य सामानको राजश्व काट्न नभई भन्सार कार्यालयले गरेको खुला लिलाम डाक बढाबढमा आएका थिए।
भन्सारले शुक्रबार रासायनिक युरिया मलको लिलाम गरेपछि अरू दिनको तुलनामा व्यापारी र कारोबारीको भिड बढी देखिएको हो। बजारमा युरिया मल अभावले कृषक छटपटाइरहेका बेला भन्सारले लामो समयपछि युरिया मलको खुला डाक बढाबढ गरेपछि सबैको ध्यान भन्सारतर्फ केन्द्रित भयो। सशस्त्र र नेपाल प्रहरीले भारतबाट भन्सार छलेर भित्र्याइएकाे युरिया मल विभिन्न मितिमा बरामद गरी भन्सार बुझाएका थिए।
सशस्त्र र नेपाल प्रहरीले विगत दुई महिनाको अवधिमा साढे ४ सय बढी युरिया मल भन्सार बुझाएको छ। त्यसमध्ये भन्सारको मुद्दा प्रक्रिया अनुसार शुक्रबार १ सय २९ बोरा युरिया मलको लिलाम सकिएको हो। आठ वटा मुद्दामा गरिएको युरिया मलको लिलामबाट भन्सारले ३ लाख ४ हजार एक सय राजश्व उठाएको छ।
प्रहरीले बुझाएको दररेट अनुसार नै भन्सारले प्रतिबोरा युरिया मल ९ सयदेखि १६ सम्म मूल्य तोकेर लिलाम गरेका थिए। लिलामको क्रममा व्यापारी तथा कारोबारीले महँगो रकम हालेर पनि मल लिएको पाइएको छ। व्यापारी तथा कारोबारीले प्रतिबोरा २४ सयदेखि २५ सयसम्म खरिद गरेका थिए। नेपालमा युरिया मलको सहज रुपमा पाइरहेको अवस्थामा कृषकले एक बोरा ८ सय ५० मा खरिद गर्दै आइरहेका थिए।
तर, मल अभाव भएपछि कृषकले भारतीय मल २ हजारदेखि ४ हजारसम्म खरिद गर्न बाध्य हुन्छन्। त्यही आधारमा बिक्री गर्न सकिन्छ भनेर व्यापारी तथा कारोबारीले तीन गुणा बढी रकम हालेर पनि भन्सारमा राखिएको युरिया मल आफ्नो बनाएका हुन्।
भन्सारले दिएको जानकारी अनुसार १३ बोरा युरिया मल बायो केम ट्रेड एग्रो सेन्टरले ३० हजार २ सय, १० बोरा र पाँच वटा साइकल बायो केम ट्रेड एग्रो सेन्टरले नै ३० हजार ५ सय, २० बोरा बुधकरण टी एन्ड कम्पनीले ४० हजार २ सय, ११ बोरा खेम्का टी स्टेटले २७ हजार ६ सय र जेकेजे कृषि फर्मले १९ बोरा ४६ हजार ६ सय, १४ बोरा ३४ हजार १ सय, २० बोरा ५० हजार, २२ बोरा ४५ हजारमा खरिद गरेका हुन्।
नेपाल वा भारत दुवै देशको युरिया मलमा नाइट्रोजनको क्षमता ४६ प्रतिशत हुनुपर्ने हो ।तर, नेपालमा पाइने युरिया मलमा नाइट्रोजनको क्षमता ३० देखि ३४ प्रतिशत हुन्छ, भने भारतको युरिया मलमा ४२ देखि ४४ प्रतिशत हुन्छ। त्यसैले पनि भन्सारमा रहेको भारतीय युरिया मल खरिद गर्न व्यापारी र कारोबारी पुगेका कृषि विज्ञहरू बताउँछन्।
धान रोपाइँका बेला सरकारले कृषकलाई युरिया मल उपलब्ध गराउन नसक्दा भन्सारमा चर्को मूल्य तिरेर भए पनि मल खरिद गर्नुपरेको बायो केम ट्रेड एग्रो सेन्टरका सञ्चालक रमेश श्रेष्ठले बताए। ‘भन्सारमा रहेको मल खरिद गर्नुपर्ने हाम्रो बाध्यता हो,’ उनले भने, ‘कृषकलाई दिनलाई नै मल लिलाम प्रक्रियाबाट लिएको हो।’
यता भन्सारबाट लिलाम प्रक्रियाबाट खरिद गरिएका मल पनि उनीहरूले चर्को मूल्यमा बिक्री गर्नुपर्ने हुन्छ। यसबाट पनि कृषक प्रत्यक्ष मारमा पर्ने छन्।
चार महिनापछि झापामा बाँड्न थालियो मल
झापाका कृषकले चार महिनापछि रासायनिक युरिया मल पाउन थालेका छन्। साल्ट ट्रेडिङ कर्पोरेसन बिर्तामोडले बुधबारदेखि युरिया मल वितरण सुरु गरेको हो।
साल्ट ट्रेडिङ कर्पोरेसनको क्षेत्रीय कार्यालय विराटनगरबाट २५ सय बोरा युरिया मल झापा आइपुगेको छ। त्यसमध्ये तीन दिनमा २४ सय बोरा युरिया मल बिक्री वितरण भइसकेको साल्ट ट्रेडिङ कर्पोरेसन बिर्तामोड शाखाका प्रमुख देवराज भट्टराईले जानकारी दिए।
कृषि ज्ञान केन्द्र झापाको तथ्यांकनुसार ८० हजार बोरा युरिया मल आवश्यक रहेको बताउँदै शाखा प्रमुख भट्टराईले भने, ‘२० हजार बोरा युरिया मल आउने कुरो छ। आएका मलमध्ये झापाका कृषि सहकारी संस्थालाई ५० बोराका दरले बिक्री गरिसकेका छौं, सहकारीलाई एक बोरा ७ सय ३४ मा बिक्री गरिरहेका छौ,’ उनले भने, ‘त्यसपछि सरकारी संस्थाहरूले स्थानीय तहको सिफारिसमा मूल्य तोकेर मल उपलब्ध गराउने प्रावधान छ।’
कृषकले आआफ्नो स्थानीय तह अनुसार सहकारी संख्याबाट प्रतिबोरा साढे ८ सयदेखि ९ सय सम्म खरिद गर्दै आइरहेको जनाइएको छ। झापा जिल्लालाई धान बालीका लागि बर्सेनि ४ हजार मेट्रिक टन मल आवश्यक छ। तर, पर्याप्त मात्र मल नआउँदा अहिले पनि कृषक भारतीय मल चर्को मूल्यमा किन्न बाध्य भएका छन्।































