ताप्लेजुङ ।
वैदेशिक रोजगारमा गएर पुनः विदेश नजानेगरी स्वदेश फर्किएका रिट्रनिहरुको सामाजिक संस्था रिटर्नी माइग्रेंट नेपालको ताप्लेजुङ जिल्ला समिति विस्तार भएको छ ।
जिल्ला युवा समितिका अध्यक्ष सन्तोष प्रसाईंको उपस्थितिमा शुक्रबार सदरमुकाम फुङ्लिङमा भएको रिट्रनिहरुको भेलाले गोपाल भण्डारीको संयोजकत्वमा सात सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको सह(संयोजकमा दावाछिरिङ शेर्पा, सचिवमा सरोजकुमार सुनुवार, सह(सचिवमा विवस प्रसाईं र कोषाध्यक्षमा फुर्वा शेर्पा रहनुभएको छ भने सदस्यमा सुमित्रा प्रसाईं र भगिमाया लिम्बू रहनुभएको छ ।
वैदेशिक रोजगारीमा विभिन्न देश गएर फर्किएकाहरु स्वदेशमा पनि रोजगारी सिर्जना गर्न तथा स्वरोजगार बन्ने खालका योजना बनाउनमा पहल गर्नेगरी संस्था दर्ता भएको बताइएको छ । कार्यक्रममा जुम अनलाइन मार्फत सम्बोधन गर्दै रिटर्नी माइग्रेंट नेपाल प्रदेश समिति प्रदेश न. १ का अध्यक्ष गोकुल थापाले सस्थाले सरकारलाई वैदेशिक रोजगार बाट फर्किएका नेपालीहरुको आवाज सुन्न बाध्य पारेको चर्चा गर्दै आंशिक भएपनी रिट्रनीहरुका माग सुनुवाइ भएर कार्यान्वयन गर्ने चरण मा प्रवेश गरेको र थप कामहरु गर्न देशैभरिका रिट्रनिहरु संगठित हुनुको विकल्प नभएको चर्चा गरेका थिए ।
प्रदेश १ का सचिव भरत शिवाकोटीले संस्थाको आवश्यकता र स्थापना एवम प्रदेश १ को गतिविधि बारे प्रकाश पार्दै रेमिट्यान्स मार्फत देशको ठूलो आर्थिक भार थामेका रिट्रनीहरुलाई स्वदेश फर्के पश्चात् उनिहरुले विदेशमा हासिल गरेको सीप र पुजिलाई स्वदेशमा उपयोग गर्दै देशको विकास र सम्वृद्दिमा हातेमालो गरेर लैजान सरकार तयार रहनुपर्ने बताएका थिए ।
कार्यक्रममा जिल्ला युवा समितिका अध्यक्ष सन्तोष प्रसाइले रिट्रनिहरु देश विकासको संवाहक बन्न सक्ने उल्लेख गर्दै जिल्ला युवा समिति रिट्रनीहरुसग हातेमालो गरेर अगाडि जान तयार रहेको धारणा राखेका थिए । ताप्लेजुङ जिल्ला संयोजक गोपाल भण्डारीले परिस्थिति अनुकुल हुनसाथ जिल्ला सम्मेलन गर्न तयारी रहने बताउँदै वैदेशिक रोजगारीमा गएर फर्केकाहरुको लागि यहीँ रोजगारी सिर्जना गर्ने खालको योजना बनाउने कार्यका लागि संस्थाले पहल गर्ने बताएका थिए ।































