
अरुण सापकोटा,
आफैंलाई उभिन हम्मे–हम्मे परेको
माटोमा खोल्दैछौं पाइला पुर्खाको,
तिनकै पसिनाको गन्ध खोज्दै,
खन्दैछौं इतिहास ।
कतै लेखिएका छन् कि तिनका नामहरु ?
कतै देखिएका छन् कि नाङ्गा पैतालाका छापहरु ?
खोलाका बगरमा टेकिएका पाइलाहरु
पानीसँगै बगे होला ।
अक्करिलो भीरमा नुन बोकेर हिँडेका
ढाकरसहितका पाइलाहरु
भीरमा नुन जस्तै बगे होला ।
माटोमा लागेका रगत पनि
अग्ला रुख भएर रगत नदेखिने गरी टुप्पैमा
पुगे होला ।
पुर्खाका पैतालाका डोबहरु
खोज्दैछौं आज हामी,
भेटिएका डोबहरुको जगेर्ना
गर्न सकिएनछ,
अब हामीले सन्ततिका लागि दह्रो
पाइला टेक्नुछ
र छाप छाड्नुछ पाइलाको
कहिल्यै नमेटिने गरी,
जहिल्यै भेटिने गरी ।
बिर्तामोड, हाल हेटौडा



























