कोरोनाविरुद्धको लडाईंमा साहसी सुमी

0
918

गौरीगञ्ज।

सगरमाथा चढ्ने, हवाईजहाज उडाउने, बस चलाउने, अग्ला–अग्ला हिमाल चढ्ने, ठूला–ठूला बिल्डिङ एवम् पहाड फोड्ने साहसी महिलाहरूको संख्या पनि बढ्दो क्रममा छ ।

महिलाहरू जस्तो सुकै संघर्षपूर्ण तथा अप्ठ्यारो पेसामा पनि रिस्क लिन सक्षम छन् र अवसर पाए जुनसुकै र जतिसुकै अप्ठ्यारो परिस्थितिमा पनि अघि बढ्न सक्छन् भन्ने कुराको ज्वलन्त उदाहरण हुन्– सुमी गुरूङ्ग ।

गौरीगञ्ज गाउँपालिका वार्ड नं. ६ मा रहेको गौरीगञ्ज खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याव टेक्निसियनको रूपमा करीब तीन बर्षदेखि कार्यरत् छिन् । कोरोना संक्रमणको प्रभाव गौरीगञ्जमा पनि देखिएपछि करिब छ महिनादेखि पीसीआर परीक्षणका लागि स्वाव संकलन कार्य उनकै काँधमा छ ।

चीनमा कोरोना भाइरसको संक्रमण फैलिरहेको समयमा यहाँसम्म त्यो संक्रमण आउला जस्तो लागेको थिएन उनलाई । जब विस्तारै कोरोनाको संक्रमण फैलिइँदै नेपालमा भित्रियो र पीसीआरको लागि स्वाव संकलन कार्य आफ्नो काँधमा आएपछि शुरूमा डर लागे पनि पछि बानी बसेर आएको सुमीले आफ्नो अनुभव सुनाइन् ।

‘करिब एक हजार पाँच सय जनाको स्वाव संकलन गरिसकेको रहेछु क्यार’ –उनले भनिन– ‘अब त बानी लागिसक्यो, डर लाग्दैन ।’ कोरोना भाइरसको संक्रमणले विश्व नै प्रताडित भइरहेको बेला आफ्नो ज्यानलाई जोखिममा राखेर कोरोनाको परीक्षणका लागि अग्रपंक्तिमा रहेर गौरीगञ्जमा स्वाव संकलन कार्यमा निरन्तर खटिरहेकी छन् ।

भोजपुर जिल्लामा जन्मेकी हाल उनको पथरी नगरपालिका वार्ड नं. १ गुम्बालाईनमा स्थायी बसोवास छ । घर नगएको छ महिना भईसक्यो उनले भनिन– ‘घरको सम्झना आईरहे पनि स्वास्थ्यकर्मीले आपत विपतमा नागरिकप्रति गर्ने कर्तव्य र जिम्मेवारीबाट पञ्छिन हुँदैन त्यसैले स्वास्थ्य सेवाका लागि निरन्तर जहिल्यै तयारी अवस्थामा बस्नेछु ।’

स्वास्थ्य सेवामा अहोरात्र खटिरहे पनि कहिलेकाही स्वास्थ्यकर्मीसँगको दुव्र्यवहारबाट चित्त दुख्ने गरेको उनले बताइन् । एक दिनअघि आफ्नो फेसबुक एकाउन्टसमा पोस्ट गरेकी छन् यो स्टाटस्– घरबाट निकाल, टोलबाट निकाल, अस्पतलाबाट पनि निकाल ! अनि तिमी बिरामी पर्दा काहाँ आउँछौ ? बिरामी त हामी पनि पर्दैछौं, मृत्युलाई हत्केलामा राखी तिम्रो उपचार गर्दैछौं । कोरोनाबाट त बाचिएला, तपाईंको दुव्र्यवहारबाट मलाई कसले बचाउने । डाक्टर र अस्पतालले समेत कोरोनाको संक्रमणको डरले विरामीलाई भर्ना नलिइरहेको अवस्थामा सुमीले त्यसको प्रवाह नगरी अग्रपंक्तिमा रहेर निरन्तर गौरीगञ्जमा स्वाव लिइरहेकी छन् ।

स्वाव संकलन कार्यमा जहिल्यै हौसला प्रदान गर्ने स्थानीय सरकार, स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्र, स्वास्थ्य संयोजक अनुप शर्मा लगायत टिमलाई उनले धन्यवाद दिएकी छन् । उनले गाउँबासीलाई बाहिर हिँडडुल नगरी घरमै बस्न सबैमा आग्रह गरेकी छन् । अकसर चुनौति र अफ्ठ्यारो कार्यमा पुरुष मात्र अगाडि देखिए पनि महिला पनि कम छैनन् भनेर प्रमाणित गरेकी छिन्– सुमीले ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here