कोरोनाको रोकथाम र नियन्त्रणमा सरकार असफल : सिटौला

0
1194

तुलसीप्रसाद निरौला / विर्तामोड।

नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले कोरोना महामारीको रोकथाम र नियन्त्रणमा सरकार पूर्णरुपमा असफल भएको आरोप लगाएका छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा बिर्तामोडमा शनिवार उद्योगी व्यवसायीसँग भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै सिटौलाले देशमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको भन्दै त्यसको नियन्त्रण र रोकथाममा सरकारले केही गर्न नसकेको आरोप लगाएका हुन् ।

महामारीको समयमा जनताले सरकार छ भन्ने अनुभूति समेत गर्न नपाएको बताउँदै उनले कोभिड–१९विरुद्ध सरकारले लकडाउन गर्ने बाहेकका कुनै पनि काम गर्न नसकेकोले महामारीबाट बच्न आफैं सचेत हुनुपर्ने बताए ।

पूर्व गृह तथा उपप्रधानमन्त्री समेत रहेका नेता सिटौलाले लामो समयको लकडाउनका कारण उद्योगी व्यवसायी संकटमा परेको र यो समयमा सरकारले उद्योगी व्यवसायीको पक्षमा केही गर्न नसकेको उल्लेख गरे । सरकारलाई करको मात्रै चिन्ता रहेको भन्दै नेता सिटौलाले लकडाउनको समयमा सम्पूर्ण व्यापार व्यवसाय ठप्प रहेकोले उक्त समयको सम्पूर्ण कर र व्याज मिनाहा गर्नुपर्ने बताए ।

उद्योग व्यवसाय देशको अर्थतन्त्रको मेरुदण्ड भएकाले सरकारले उद्योगी व्यवसायीलाई सुविधा दिएर यसलाई टिकाउनुपर्ने उनले बताए । संविधानमा करको वाँडफाँड भए पनि दोहोरो तेहरो करको व्यवस्था नभएकाले त्यसलाई हटाउन सरकारलाई खबरदारी गर्नुपर्नेमा सिटौलाले जोड दिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशवराज पाण्डेले उद्योगी व्यवसायीको पक्षमा सरकारले केही गर्न नसकेको बताए । उनले नेपाली कांग्रेसको आगामी महाअधिवेशनमा उद्योगी व्यवसायीको हितमा नीति बनाउन नेता सिटौलालाई आग्रह गरे । त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश सदस्य बलराम कार्कीले लकडाउनको समयमा सम्पूर्ण व्यापार व्यवसाय ठप्प रहे पनि सरकार कर उठाउन उद्यत रहेको बताए ।

हार्डवेयर व्यवसायी मातृका कोइरालाले व्यवसायीहरु कोरोना महामारीको मारमा परेकाले सरकारले कर, व्याज लिएर व्यवसायीको पीडामा मल्हमपट्टि लगाउनुको सट्टा नुनचुक छर्केको आरोप लगाए ।  त्यस्तै बिर्तामोड उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष मोहन ढकालले कोरोना महामारीको रोकथाम र नियन्त्रणका नाममा कालोबजारी र भ्रष्टाचार वढेकाले त्यसलाई रोक्नुपर्नेमा जोड दिए ।

मेनपावर व्यवसायी भानुप्रसाद शिवाकोटीले वैदेशिक रोजगारमा गएर जोखिमपूर्ण अवस्थामा बसेका नेपालीलाई फिर्ता ल्याउन पहल गर्न नेता सिटौलासँग आग्रह गरे । नेपाल निर्माण व्यवसायी महासंघ झापाका अध्यक्ष मिलन बस्नेतले सरकारले निर्माण व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने, निर्माण आयोजनाको भुक्तानी समयमै दिनुपर्ने, निर्माणजन्य सामग्रीको सहजता हुनुपर्नेमा जोड दिए । उनले निर्माण व्यवसायीको हकहितको विषयमा सदनमा कुरा उठाउन नेता सिटौलालाई आग्रह गरे ।

त्यस्तै नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी संघका संस्थापक अध्यक्ष टेकबहादुर खजुमले सरकारले फर्निचर तथा फर्निसिङ व्यवसायीलाई सुविधा नदिएर करमात्रै असुलेको आरोप लगाउँदै त्यसको अनुगमन गर्न सरकारलाई पहल गर्न नेता सिटौलासँग आग्रह गरे ।

चेम्वर्स अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण बिमलीले कृषिलाई प्राथमिकता दिएर कृषि उपजहरुको उत्पादन, भण्डारण र वितरण प्रणालीलाई थप व्यवस्थित र निरन्तर अगाडि बढाउन राज्यले उचित कदम चाल्नुपर्नेमा जोड दिए ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका हरिकुमार दियालीले कोरोना महामारीले सुनचाँदी व्यवसायलाई प्रभावित बनाएको वताउँदै सरकारले सुनचाँदी व्यवसायलाई सुरक्षित र मर्यादित बनाउनुपर्नेमा जोड दिए ।
नेपाल अलैची व्यवसायी महासंघका उपाध्यक्ष इन्द्र विन्दलले अलैंची निर्यातका समस्या समाधान गर्न सरकारलाई आग्रह गरे ।

त्यस्तै बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष राजु न्यौपानेले सरकारले व्यवसायीको समस्या गर्नुको सट्टा झन पीडा दिएको बताए । उनले लकडाउनको समयमा उद्योग व्यवसाय बन्द रहे पनि कर, किस्ताले झन पीडा थपेको बताए ।
त्यस्तै सञ्चार उद्यमी राजेन्द्रकुमार चौलागाईले सरकारले लकडाउनको समयमा कर लिएर व्यवसायीको ढाड सेक्ने काम गरेको बताउँदै लकडाउन अवधिको कर मिनाहा गर्न आग्रह गरे ।

त्यस्तै मेनपावर व्यवसायी टीका शिवाकोटीले मेनपावर व्यवसायीलाई व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा व्यवसायीहरु देवेन्द्रकुमार सिंह, देवी संग्रौला, लवकुमार चौधरी,पुनितकुमार वंशल लगायतले कोरोना महामारीको समयमा उद्योगी, व्यवसायीलाई राहत दिन सरकारलाई पहल गर्न नेता सिटौलासँग आग्रह गरेका थिए । संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटीको आतिथ्य रहेको कार्यक्रमको सहजीकरण बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here