अमित खम्बू /अर्जुनधारा।

युवापुस्तालाई स्वदेशमै व्यवसायिक बनाउने उद्देश्यले अर्जुनधारा नगरपालिकाले कृषि तथा पशुपालनका विभिन्न कार्यक्रमहरु अघि बढाएको छ ।
कोरोना भाइरसका कारण युवाहरु गाउँ फर्किरहेका बेला अर्जुनधारा नगरपालिकाले आफ्नो ठाउँका युवाहरुलाई कृषि र पशुपालनमै व्यवसायिक बनाउँदै समृद्ध अर्जुनधारा नगरको कार्यक्रमलाई अघि बढाएको हो । नेपालमा कृषि तथा पशुपालनमा प्रशस्त सम्भावना रहेकाले हरेक क्षेत्रको पहिचान गरेर पकेट क्षेत्र घोषणा गरेर कार्यक्रम अघि बढाइएको नगरपालिकाले जनाएको छ ।
कृषकद्वारा उत्पादित वस्तुको उचित मूल्य प्राप्त गर्न र कृषि तथा पशुपन्छी क्षेत्रमा देखिएको बिचौलियाको अन्त्य गर्दै नगरलाई आत्मनिर्भर बनाउने उद्देश्यले अर्जुनधारा नगरपालिकामा शुरु गरिएको पशुपन्छी पकेट कार्यक्रम क्रमशः विस्तार हुँदैछ ।
अर्जुनधारा–२ नम्बर वडाका एक सय जना परिवारलाई लक्षित गरी उत्पादन, प्रशोधन (विविधिकरण) र बजारीकरणमा सहजीकरण र सहयोग गर्दै उनीहरुको आर्थिक जीवनस्तर उकास्ने लक्ष्यसहित नगर पशुपन्छी मत्स्य तथा कछुवा विकास शाखाले अघिल्लो आर्थिक वर्ष ०७५÷०७६मा पहिलोपटक उक्त कार्यक्रम नगरमा शुरु गरेको थियो ।
सोही क्रममा गत आर्थिक वर्ष ०७६÷०७७मा अर्जुनधारा–१ नम्बर वडाका तीन सय जना परिवारलाई लक्षित गरी शुरु गरिएको उक्त कार्यक्रम चालू आर्थिक वर्ष ०७७÷०७८मा अर्जुनधारा–९ र १० नम्बर वडामा सञ्चालन गर्न बजेट विनियोजन गरिएको छ । दुवै वडामा उक्त कार्यक्रम सञ्चालन गर्न सात लाख ९५ हजार रुपैयाँ विनियोजन गरिएको नगरद्वारा चालू आर्थिक वर्षका लागि स्वीकृत वार्षिक नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
जसअनुसार एक हजार लिटर क्षमताको चिलिङ भ्याट स्थापना लागत साझेदारी (मिल्क ड्याम, मिल्क पम, गेट भल्भसहित) का लागि दुई लाख रुपैयाँ, मिल्क एनालाइजरका लागि एक लाख रुपैयाँ, डिजिटल तराजुका लागि पाँच हजार रुपैयाँ, १५ केभीको जेनेरेटर खरिद गर्न दुई लाख रुपैयाँ, कार्यक्रम अभिमुखीकरण गोष्ठीका लागि २० हजार रुपैयाँ, थुनेलो परीक्षणका लागि ४० हजार रुपैयाँ, टिट डिपिङ तथा थुनेलो रोगको लागि औषधि तथा सामग्री खरिद र वितरण कार्यक्रमका लागि ५० हजार रुपैयाँ, परजीवी नियन्त्रण कार्यक्रमका लागि ५० हजार रुपैयाँ, गाईभैंसी पालन तथा रोग सम्बन्धी तालिमका लागि ८० हजार रुपैयाँ र रोग सर्भिलेन्स तथा फर्म अनुगमन र निरीक्षणका लागि पचास हजार रुपैयाँ विनियोजन गरिएको छ ।
त्यसैगरी वडा नम्बर १ र २मा हाल सञ्चालनरत् उक्त कार्यक्रमको निरन्तरताका लागि चालूआर्थिक वर्षमा थप चार लाख रुपैयाँ विनियोजन गरिएको छ । जसअनुसार परजिवी नियन्त्रणका लागि एक लाख ६० हजार रुपैयाँ, गाईभैंसी पालन तथा रोग नियन्त्रण तालिमका लागि ८० हजार रुपैयाँ र थुनेलो रोग परीक्षण तथा औषधि र सामग्री खरिद तथा वितरणका लागि एक लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ ।
उत्पादित वस्तुलाई खेर जान नदिई कच्चा पदार्थको रुपमा भन्दा पनि प्रशोधन गरी विभिन्न सामग्रीहरु बिक्री वितरण गर्न सकेको खण्डमा थप फाइदा हुने शाखाका प्रमुख पदमलाल राईले बताए । त्यसको लागि पनि तयारी गरिरहेको शाखाले चाँडै नगरको उपयुक्त स्थानमा कृषि तथा पशुपन्छीजन्य बिक्री केन्द्र सञ्चालन गर्ने प्रमुख राईले प्रतिबद्धता व्यक्त गरे ।
उक्त कार्यक्रममा सहभागी कृषकहरुलाई आवश्यक पर्ने प्राविधिक सेवा प्राप्त हुने, पशुपन्छीलाई चाहिने दाना, घाँस तथा घाँसको वीऊ उत्पादनमा प्रोत्साहन मिल्ने, परजीवी नियन्त्रण कार्यक्रम अन्तर्गत नाम्ले, जुका, जुम्रा आदिको औषधि निःशुल्क प्रदान हुने, उन्नत जातको नश्ल सुधारका लागि अनुदानको व्यवस्था हुने, व्यवसायिक कृषक समूह तथा फर्मलाई विमामा अनुदान प्राप्त हुनेलगायत नगरको पशुपन्छी मत्स्य नीतिमा उल्लेख गरिएको छ ।
शाखाका अनुसार अर्जुनधारा–२स्थित कार्यक्रम सञ्चालन गर्दै आएको खुदुनावारी कृषक समूहमा हालसम्म एक सय ८१ जना शेयर सदस्य छन् । दुई सय ५० परिवार प्रत्यक्ष लाभान्वित रहेको उक्त कार्यक्रममार्फत् समूहले दैनिक तीन सय लिटर दूध संकलन गर्ने गरेको छ ।
यता अर्जुनधारा–१स्थित कार्यक्रम सञ्चालन गर्दै आएको स्थानीय हाम्रो स्वावलम्वी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दैनिक एक सय लिटर दूध संकलन गर्ने गरेको छ । दुवै कार्यक्रम सञ्चालकहरुले हालको दूध संकलनमा वृद्धि गरी दैनिक पाँच सय लिटर पु¥याउने लक्ष्य लिएको बताइएको छ ।
‘लम्पी स्कीन डिजिज नियन्त्रणमा आउछ’
केही साताअघि नगरका पशुचौपायामा देखिएको लम्पी स्कीन डिजिज पूर्णरुपमा नियन्त्रणमा आउने हुँदा त्यसले पशुपन्छी पकेट कार्यक्रमलाई असर नपु¥याउने शाखा प्रमुख राईले दावी गरे ।
नगरका अनुमानित दुई हजार वटा पशु चौपायामा देखिएको उक्त रोग नियन्त्रण गर्न शाखामा उपलब्ध भएको औषधि निःशुल्क र नभएको औषधि न्यून दरमा कृषकहरुलाई उपलब्ध गराइएको शाखा प्रमुख राईले बताए ।































