पार्थ मण्डल / भद्रपुर।
जिल्लाकै सबैभन्दा ठूलो सरकारी अस्पतालमा बिरामी जान छाडेको भन्दै चौतर्फी आलोचनापछि मेची प्रादेशिक अस्पताल भद्रपुरको हाताभित्र सञ्चालनमा ल्याइएको कोभिड–१९ उपचार केन्द्र अन्यत्र सार्न लागिएको छ ।
जिल्लामा कोरोना भाइरस संक्रमण पुष्टि भएका बिरामीलाई मेची अस्पतालको निर्माणाधीन भवनमा राख्न ५० शैय्याको कोभिड–१९ उपचार केन्द्र बनाइएको छ । अब अस्पतालको निर्माणाधीन भवनमा कोरोना संक्रमित राख्ने तयारी लगभग पूरा भइसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पीताम्बर ठाकुरले जानकारी दिए । ‘सङ्क्रमितलाई राख्न ५० शैय्याको बेड तयार भइसकेको छ’– मेडिकल सुपरिटेन्डेन्ट डा. ठाकुरले भने– कोभिड–१९ उपचार केन्द्रको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिने समेत निर्णय भइसकेको छ, अब सेनाले त्यस विषयमा अस्पताललाई जानकारी गराउँछ ।’
‘सङ्क्रमितको उपचारका लागि अस्पतालका डा. गोविन्द कँडेलको संयोजकत्वमा आठ सदस्यीय आरडीटी समिति यसअघि नै गठन गरिसकेका छांै, त्यही समितिमा आबद्ध चिकित्सकको टोलीले उपचार गर्ने छन्’– डा. ठाकुरले भने । अस्पतालको योजना एक सय शैय्याको उपचार केन्द्र बनाउने थियो, तर अहिले ५० शैय्या बनाइसकेको बताउँदै उनले भने– ‘अस्पताल प्रशासन र सञ्चालक तथा व्यवस्थापन समिति ७५ शैय्याको बनाउने योजनाका साथ काम गरिरहेको छ ।’ जिल्लामा कोभिड उपचार केन्द्र बनाउन प्रदेश तथा संघीय सरकारले सहयोग गरेको उनले बताए ।
अस्पतालकै पुरानो भवनमा बनाइएको आइसोलेसन वार्डमा गत साउन १९ गतेदेखि कोरोना संक्रमण पुष्टि भएका बिरामी राखेर उपचार शुरु गरेपछि अन्य उपचारका लागि जाने बिरामी संख्या ह्वात्तै घटेको थियो । एक मात्र सरकारी अस्पतालमा कोरोना संक्रमित बिरामी राखिएपछि संक्रमण फैलिन सक्ने त्रासकै कारण गरिब तथा असहाय बिरामी जान छाडेपछि चौतर्फी आलोचना शुरु भयो । यस विषयमा नेपाली कांग्रेसले समेत जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाउँदै कोभिड–१९ उपचार केन्द्र अन्यत्र सार्न माग राख्दै दबाब दिएको थियो ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा यसै निर्वाचन क्षेत्रमा संघीय सांसद राजेन्द्रप्रसाद लिङ्देनले पनि कोभिड–१९ उपचार केन्द्र अन्यत्र सार्न माग राखेका थिए । २२ शैय्याको आइसोलेसन तीन दिनमै भरिएपछि अस्पताल प्रशासनलाई थप चुनौति थपिएको थियो । त्यसपछि अस्पतालले कोभिड–१९ उपचार केन्द्र अन्यत्र सार्न छिटो कदम चालेको बताइएको छ ।































