नरेन्द्र ढकाल / बिर्तामोड ।

प्रदेश–१ मा पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढिरहेको छ । कोरोना संक्रमण रोक्न मुलुकका विभिन्न जिल्लामा अत्यावश्यकबाहेकका गतिविधि सञ्चालनमा निषेध गरिए पनि पूर्णतः कार्यान्वयन हुन नसक्दा भाइरस फैलने सम्भावना बढ्दै गएको चिकित्सकहरुले बताएका छन् ।
यस्तो लापरवाहीले संक्रमण रोक्ने सरकारी अभियान निरर्थक बनिरहेको छ । सर्वसाधारणबाट सरकारी आदेश र स्वास्थ्य सम्बन्धी मापदण्ड उल्लङ्घन भइरहेको पाइएको छ । जथाभाबी हिँड्डुल गर्नेदेखि अनावश्यक रुपमा सवारीसाधन चलाउने देशभर नै भेटिएका छन् । गत चैत ११ गतेबाट सरकारले एक सय २१ दिन अर्थात् करिब चार महिना लकडाउन गरेको थियो । हाल लकडाउन खुले पनि अतिआवश्यकका नाममा अनावश्यक घुमफिर गर्नेहरु धेरै बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक प्रकाश जवेगूले बताए । उनका अनुसार चैत ११ गतेबाट भदौ १३ गतेसम्ममा १५ हजार ६५० सवारी साधनलाई कार्वाही गरिएको छ ।
लकडाउन, ट्राफिक नियम उल्लंघन, स्वास्थ्य मापदण्ड विपरीत सञ्चालन, बढी भारबहन, लापरबाही लगायतका कारण ती सवारी साधनलाई कारबाही गरिएको ट्राफिक प्रहरी निरीक्षक जवेगूले जानकारी दिए । कतिपय भने मास्क नै नलगाई हिंड्ने गरेको समेत पाइएको उनले बताए । मानिसको अटेरीपनका कारण जोखिम बढ्ने भएकाले त्यसबिरुद्ध थप कडाइ गरिए पनि प्रहरीको आँखा छल्ने कामले गर्दा जोखिम बढेको प्रहरीको भनाइ छ ।
नक्कली परिचयपत्र बनाएर हिँड्ने, अत्यावश्यक कामका लागि हिँडेको भनेर ढाँट्ने र बन्दाबन्दीका बेलाको सवारी पास बोकेर हिँड्ने समेत फेला परेको प्रहरीले जनाएको छ । ट्राफिक नियम पालना गर्न, मास्क अनिवार्य प्रयोग गर्न, भौतिक दूूरी कायम गर्न अनुरोध गर्दै विभिन्न कार्यक्रम गरे पनि बिर्तामोड, दमक, काँकरभिट्टा लगायतका शहरी क्षेत्रमा प्रहरी देखेमा मात्रै मास्क लगाउनेहरु धेरै रहेको जवेगूले बताए । अनावश्यक रुपमा हिँड्न मोटरसाइकल तथा निजी कार र जिपको धेरै प्रयोग भएको पाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
झापामा लकडाउनदेखि हालसम्म सवारी दुर्घटनामा परेर १५ जनाले ज्यान गुमाएका छन् भने एक सय ३६ जना घाइते भएका छन् । ट्राफिक प्रहरीले १५ हजार ६५० सवारीलाई कारबाही गर्दा एक करोड २६ लाख ४९ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको ट्राफिक प्रहरी निरीक्षक जवेगूले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाका विभिन्न स्थानीय तहमा निषेधाज्ञा जारी गरे पनि सर्वसाधारणले निषेधाज्ञाको उल्लंघन गरेकाले समुदायमा कोरोना फैलने जोखिम बढेको चिकित्सकहरुले बताएका छन् ।
गृह मन्त्रालयले अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, अनावश्यक हिँड्डुल नगर्न आग्रह गरे पनि अटेर गर्नेहरु दिनप्रतिदिन बढ्दै गएको ट्राफिक प्रहरी निरीक्षक जवेगूले बताए । सरकारले गत साउन ६ गतेदेखि बन्दाबन्दी अन्त्य भएको घोषणा गरेको थियो । त्यसपछि मानिसको आवागमन ह्वात्तै बढ्दा संक्रमण बढेको जनस्वास्थ्यविज्ञको भनाइ छ । एक महिनाको अवधिमा नजानिँदो रुपमा संक्रमण र मृत्युदर बढिरहेको छ ।
यसैबीच प्रहरीले स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरे पनि अटेर गर्नेहरुले गर्दा समस्या भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताएका छन् । स्थानीय तहले लकडाउन तथा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपनि सर्वसाधारणको अटेरिपनले नै समस्या बढ्दै गएको उनले बताए ।
प्रदेश–१का १४ जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको र झापाकै दुई जना पुरुषको कोरोना संक्रमणकै कारण मृत्यु भइसकेको छ । यस्तो अवस्थामा आफ्नो स्वास्थ्य प्रति सचेत बन्नुपर्ने चिकित्सकहरुले सुझाव दिएका छन् । ट्राफिक प्रहरीका अनुसार निजी सवारी साधनको प्रयोग गरेर विभिन्न पर्यटकीय क्षेत्रमा घुम्ने, अनावश्यक रुपमा भेला भएर रमाइलो गर्ने क्रम बढेको छ । झापाका केही पर्यटकीय क्षेत्रमा विभिन्न बहाना बनाएर अनावश्यक रुपमा घुम्नेहरु बढ्दै गएकाले सावधानी अपनाउन जरुरी रहेको प्रहरीले जनाएको छ ।




























