सामाजिक कार्यमा अग्रसर हिमांशु

0
1690

हुने बिरुवाको चिल्लो पात भने झैं सामाजिक क्षेत्रमा सेवा गर्ने व्यक्ति सानै उमेरदेखि समाजका हरेक गतिविधिमा सक्रिय हुने गरेका छन् ।

कोरोना भाइरसका कारण नेपालमा संक्रमित र मृत्युदर बढिरहेका बेला झापाको कनकाई नगरपालिकाका १८ वर्षीय हिमांशु उप्रेती सामाजिक कार्यमा सक्रिय रहेका छन् । कनकाई नगर बाल सञ्जालका अध्यक्ष समेत रहेका उप्रेती बालबालिकाका क्षेत्रमा क्रियाशील रहेका छन् । सानै उमेरबाट समाजमा केही गर्नुपर्छ भन्ने मान्यता राख्ने गरेका उप्रेतीले कोरोना भाइरसको महामारीको समयमा बालक्लव तथा कनकाई नगर बाल सञ्जालको तर्फबाट कोरोना कोषमा छ हजार सात सय रुपैयाँ संकलन गरेर सहयोग प्रदान गरे । बालबालिकाले पनि समाजमा सकारात्मक काम गर्न सक्छ भन्ने उदाहरण दिन आफूहरुले कोरोना कोषमा आर्थिक सहयोग गरेको सञ्जालका अध्यक्ष समेत रहेका उप्रेतीले बताए ।

पछिल्लो समय बालबालिकामा नैतिक शिक्षाको कमी रहेको र यसलाई निरुत्साहित गर्दै नैतिक आचरण र सकारात्मक सोचलाई बढुवा दिन सञ्जालका तर्फबाट आफूहरुले कनकाई नगरपालिकाका विभिन्न सामुदायिक तथा निजी विद्यालयमा कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए । कनकाई नगरपालिकाले समेत बाल सञ्जाललाई सहयोग र हौसला प्रदान गरेकाले नै नगर क्षेत्रका बालबालिकाहरु सामाजिक काममा सक्रिय हुने गरेको उप्रेतीको भनाइ छ ।

बालमैत्री अभिमुखीकरण कार्यक्रम, बालमैत्री अभियान, बाल विवाह रोक्न विभिन्न कार्यक्रम, बाल हिंसाका घटनालाई निरुत्साहित गर्न कनकाई नगर बाल सञ्जाल सक्रिय रहेको छ । युवा तथा वृद्धवृद्धाको विषयमा सबैले बोले पनि बालबालिकाको विषयमा थोरै मानिसले मात्रै बोल्ने गरेकाले आफूहरुको समस्या बाहिर ल्याएर समाजलाई जागरुक बनाउनुपर्छ भन्ने हेतुले आफूले विभिन्न बालमैत्री कार्यक्रमहरु सञ्चालन गरिरहेको अध्यक्ष उप्रेतीले बताए ।

कनकाई नगरपालिका, इलाका प्रहरी कार्यालय सुरुङ्गा तथा विभिन्न संघ–संस्थाका साथै सामुदायिक तथा निजी विद्यालयहरुले भरपुर सहयोग र साथ दिएकाले नगर बाल सञ्जालले कनकाई नगरमा विभिन्न कार्यक्रमहरु गर्ने गरेको उप्रेतीको भनाइ छ । आमा–बुबाको प्रेरणा कै कारण सामाजिक क्षेत्रमा सानै उमेरदेखि सक्रिय रहेको उप्रेती कक्षा ८ मा अध्ययनरत् रहेकै समयमा बाल सञ्जालमा आबद्ध भएका थिए । समितिका विभिन्न पदमा आफ्नो जिम्मेवारी कुशलताका साथ निर्वाह गरेका उनले अध्यक्षको जिम्मेवारी पाए लगत्तै बालबालिकाको क्षेत्रमा काम गर्दै बालबालिकाको समस्याप्रति सम्बन्धित क्षेत्रका जनप्रतिनिधिलाई अवगत गराउँदै समस्या समाधानका लागि निरन्तर खबरदारी गर्ने गरेका छन् ।

सुरुङ्गा जेसीज सन् २०२० का वातावरण संयोजक समेत रहेका १८ वर्षीय उप्रेती सानै उमेरदेखि सामाजिक काममा सक्रिय रहेको र उक्त सक्रियतालाई परिवारबाट भरपुर साथ र सहयोग रहेकाले बालबालिकाका साथै वातावरणका क्षेत्रमा विभिन्न योजना बनाएर कामलाई निरन्तरता दिने सोचमा रहेका छन् । कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र पोखरेलले बाल सञ्जाललाई हरेक क्षेत्रमा साथ र सहयोगका साथै प्रेरणा प्रदान गर्ने गरेको र सञ्जालको हरेक कार्यक्रममा आर्थिक सहयोग गरेकाले आफूहरुलाई काम गर्न समेत सजिलो भएको अध्यक्ष उप्रेतीले बताए । उनले कनकाई नगरपालिकालाई छिट्टै बालमैत्री नगर घोषणा गरेर जिल्लाकै पहिलो बालमैत्री नगरका रुपमा परिचित गराउन आफूहरु सक्रिय रहेको बताए ।

सामुदायिक विद्यालयमा सेनेटरी प्याड र फोहोर मैलाको व्यवस्थापन मुख्य समस्याको रुपमा रहेकाले त्यस विषयमा नगर बाल सञ्जालको तर्फबाट जनप्रतिनिधिलाई जानकारी गराएको र उक्त विषयमा नगरले छिट्टै कार्ययोजना बनाएर अगाडि बढ्ने आश्वासन दिएको उप्रेतीले बताए । २०७२ सालमा स्थापना भएको कनकाई नगर बाल सञ्जालले हरेक शुक्रबार विद्यालयमा बालमैत्री कार्यक्रम तथा कक्षा ७, ८, ९ र १० लाई शिक्षण सिकाइमा सहयोग पु¥याउन सिकाइ मञ्च कार्यक्रम सञ्चालन गरेको तथा कनकाई नगर बाल प्रतिभाको खोजी अभियानलाई समेत अगाडि बढाएको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here