फोहोरमैला व्यवस्थापन अवसर कि चुनौति ?

0
1067

विष्णु आचार्य,

फोहोर व्यवस्थापन ऐन २०६८, ले फोहोर व्यवस्थापनको प्रमुख दायित्व स्थानीय सरकारको रहने व्यवस्था गरेको अवस्थामा त्यसतर्फ नीति, प्रविधि, योजना तथा बजेटले सम्बोधन गर्न आवश्यक छ । सरकारी संयन्त्र, निजी क्षेत्र तथा प्रत्येक नागरिकले आ–आफ्नो जिम्मेवारी बुझेर काम गरे सकारात्मक परिणाम प्राप्त गर्न सकिन्छ । फोहोर व्यवस्थापन सम्बन्धी प्रविधि, उद्योग वा अन्य केही काम गर्न इच्छुक जनशक्तिलाई राज्यले जग्गा उपलब्ध गराउने, करमा छुट, विद्युत् शुल्कमा सहुलियत लगायतका कामलाई प्राथमिकता दिए दीगो फोहोर व्यवस्थापनमा टेवा पुग्ने देखिन्छ ।

झापाका १५ वटै स्थानीय निकायको अवस्था हेर्दा कुनै पनि ठोस, दीर्घकालीन योजना साथै कुनै संस्थालाई फोहोर प्रशोधन गर्न र गराउन दिएको छैन । झापाको मुख्य शहरहरु मध्ये धेरै आवाससँगै व्यापारिक केन्द्र हो– बिर्तामोड । दैनिक रुपमा औषत १० टनभन्दा माथि फोहोर उत्पादन हुन थालेको छ भने त्यसमध्ये ७० प्रतिशत प्लाष्टिकजन्य फोहोर हुने गरेको छ । जुन सबै भारतबाट आउने मजदुरहरुले आएर फोहोरलाई संकलन गरी मनग्ये आयस्रोतको माध्यम बनाएका छन् ।

स्थानीय निकाय यो बिषयमा बेखबर नभएको भन्ने पक्कै होइन । कहिले फोहोरमा राजनीति त कहिले स्थानीयको गुनासो, एकले अर्कालाई दोषारोपण गर्दागर्दै झन्–झन् समस्या बढ्दै गइरहेको अवस्था छ । त्यसो त कन्काई नगरपालिकामा बनिन लागेको बायोप्लान्टमा संयुक्त रुपमा कन्काई, बिर्तामोड र अर्जुनधारा नगरपालिकाबाट निस्कने फोहोरलाई व्यवस्थापन गर्नका लागि प्लान्ट निर्माण कार्य धमाधम भइरहेको छ ।

निर्माण कार्य सम्पन्न हुन अझै केही बर्ष लाग्नेछ । त्यो बेलासम्म नगरपालिकाले फोहोर कसरी व्यवस्थापन गर्ने त्यो नै चुनौतिको बिषय बनिँदै गएको छ । अहिले नगरपालिकाले रिङरोडभित्रका फोहोर मात्र संकलन गर्दै आइरहेको छ र केही पर महेन्द्र राजमार्ग आसपास खाल्डो खनेर पुर्ने गरेको छ । साथै अस्पतालबाट उत्पादन हुने फोहोरको पनि व्यवस्थापन हुन सकेको छैन ।

पूर्व मेचीनगर नगरपालिकाको हकमा खोला प्रशस्तै भएको कारणले फोहोरमैलालाई सजिलै व्यवस्थापन गरिँदै आइएको छ । मेचीनगरको काँकरभिट्टास्थित नाइट चेस क्लब, धुलाबारी खानेपानीका ट्याक्टरले उठाउने गरेको छ र नगरकै गाडीले धाइजन–चारआलीको फोहोर उठाउँदै आइरहेको छ । दमक नगरपालिकाले विगत तीन–चार बर्षदेखि पाथ वे भन्ने संस्थालाई फोहोर व्यवस्थापनको ठेक्का दिएको थियो । पछिल्लो दिनमा फोहोरमैलाको उचित व्यवस्थापन हुन नसक्दा वादविवाद आइरहेको छ । अरु पालिकाहरुको हकमा खोलाको किनार साथै जङ्गलमा लगेर पुर्दै आइरहेका छन् ।

फोहोरको उच्च चापले हाम्रो नवीनता, सोच, बानी, व्यवहारमा पनि प्रश्नचिन्ह खडा गर्दै आइरहेको छ पछिल्ला दिनमा । फोहोरलाई उचित व्यवस्थापन गर्न सके यही फोहोरबाट प्रत्येक बर्ष करोडौं रुपैयाँ आम्दानी गर्न सकिन्छ । बिदेश पलायन हुने युवालाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न सकिन्छ यदि राज्यले गर्न चाहेको खण्डमा । तर, यस्ता बिषयमा राज्य मौन छ । अहिले प्रत्येक बर्ष करोडौं रुपैयाँ बाहिरी रहेको अवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here