ताप्लेजुङका रिट्रनीहरु संगठित

0
686

तुलसीप्रसाद निरौला ,विर्तामोड  । वैदेशिक रोजगारमा गएर पुनः विदेश नजानेगरी स्वदेश फर्किएका रिट्रनीहरुको सामाजिक संस्था रिट्रनी माइग्रेन्ट नेपालको ताप्लेजुङ जिल्ला समिति बिस्तार भएको छ ।

संस्थाका जिल्ला युवा समितिका अध्यक्ष सन्तोष प्रसाईंको आतिथ्यमा फुङ्लिङमा भएको रिट्रनीहरुको भेलाले गोपाल भण्डारीको संयोजकत्वमा सात सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

नवगठित समितिको सह–संयोजकमा दावाछिरिङ शेर्पा, सचिवमा सरोजकुमार सुनुवार, सह–सचिवमा विवश प्रसाईं र कोषाध्यक्षमा फुर्वा शेर्पा रहेका छन् । त्यस्तै सदस्यहरुमा सुमित्रा प्रसाईं र भगिमाया लिम्बू रहेका छन् ।

वैदेशिक रोजगारीमा विभिन्न देश गएर फर्किएकाहरु स्वदेशमा पनि रोजगारी सिर्जना गर्न तथा स्वरोजगार बन्नेखालका योजना बनाउनमा पहल गर्नेगरी संस्था दर्ता भएको बताइएको छ ।

कार्यक्रममा जुम प्रविधि मार्फत सम्बोधन गर्दै रिट्रर्नी माइग्रेन्ट नेपाल प्रदेश समिति प्रदेश नं. १ का अध्यक्ष गोकुल थापाले संस्थाले सरकारलाई वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुको आवाज सुन्न बाध्य पारेको चर्चा गर्दै आंशिक भए पनि रिट्रनीहरुका माग सुनुवाई भएर कार्यान्वयन गर्ने चरणमा प्रवेश गरेको बताए ।
त्यस्तै संस्थाका प्रदेश नं. १ का सचिव भरत शिवाकोटीले संस्थाको आवश्यकता र स्थापना एवम् प्रदेश १ को गतिविधि बारे प्रकाश पारेका थिए ।

उनले रेमिट्यान्स मार्फत देशको ठूलो आर्थिक भार थामेका रिट्रनीहरुलाई स्वदेश फर्के पश्चात् उनीहरुले विदेशमा हाँसिल गरेको सीप र पुँजीलाई स्वदेशमा उपयोग गर्दै देशको विकास र समृद्धिमा हातेमालो गरेर लैजान सरकार तयार रहनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा जिल्ला युवा समितिका अध्यक्ष सन्तोष प्रसाईंले रिट्रनीहरु देश विकासको संवाहक बन्न सक्ने उल्लेख गर्दै जिल्ला युवा समिति रिट्रनीहरुसँग हातेमालो गरेर अगाडि जान तयार रहेको धारणा राखेका थिए ।

ताप्लेजुङ जिल्ला संयोजक गोपाल भण्डारीले परिस्थिति अनुकूल हुनसाथ जिल्ला सम्मेलन गर्न तयारी रहने बताउँदै वैदेशिक रोजगारीमा गएर फर्केकाहरुको लागि स्वदेशमा नै रोजगारी सिर्जना गर्नेखालको योजना बनाउने कार्यका लागि संस्थाले पहल गर्ने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here