अर्जुनधारा ।

नेपाल सरकारको ‘सय पर्यटकीय गन्तव्य’को सूचीमा सूचिकृत भएसँगै प्राप्त अनुदानबाट अर्जुनधारा–७ स्थित अर्जुनधारा जलेश्वर धाम परिसरमा पूर्वाधार विकास अन्र्तगत विभिन्न कार्य भएका छन् ।
पूर्वको पशुपतिनाथले परिचित उक्त धाम ‘सय पर्यटकीय गन्तव्य’मा सूचिकृत भएकै आर्थिक वर्षमा ५० लाख र गत आर्थिक वर्ष ०७६÷०७७मा ५० लाख गरि हालसम्म एक करोड रुपैयाँ संघीय सरकार पर्यटन मन्त्रालयबाट प्राप्त भएको धाम समितिका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिए ।
कोषाध्यक्ष जोशीका अनुसार अघिल्लो आर्थिक वर्षमा प्राप्त ५० लाख रुपैयाँको लगानीमा धाम परिसरमा रहेको सन्त भवन निर्माण, खडेबाबा चिल्ड्रेन पार्क र धाम परिसरमा रहेको परिक्रमा मार्गमा पेभर्स ओछ्याउने कार्य भएको बताइएको छ ।

त्यसैगरी गत आर्थिक वर्षमा प्राप्त ५० लाख रुपैयाँको लगानीमा धाम परिसरमा कम्पाउण्ड वाल निर्माण गरिएको छ । धाम परिसरको उत्तर पूर्व र दक्षिण भागमा गरि जम्मा दुई सय ६५ मिटर लम्बाई र २.७५ मिटर उचाई भएको आकर्षक शैलीको कम्पाउण्ड वाल निर्माण कार्य गत वैशाखमा सुरु भई असारमा सम्पन्न भएको कार्यालय सचिव विष्णु भट्टराईले बताए ।
आर्थिक वर्ष ०७५÷०७६देखि ‘सय पर्यटकीय गन्तव्य’मा सूचिकृत धाम परिसरमा आगामी दिनमा थप आकर्षक पूर्वाधार विकासका लागि तीनवटै सरकारसँग गुरुयोजनासहित प्रक्रिया अगाडि बढाइएको धाम समितिले जनाएको छ ।































