बिर्तामोड ।

झापामा पछिल्लो समय नेटवर्कीङ ब्यवसाय गर्नेहरुको गिरोह सक्रिय रहेको पाइएको छ । भन्सार छली अबैधरुपमा ल्याउँदै गरेको नेर्टवर्किङ ब्यवसाय ओरियन्स कम्पनीको सामान सहित ६ जनालाई प्रहरीले पक्राउ गरेसंगै यस्तो खुलासा भएको हो ।
भारतबाट भन्सार छलेर ल्याउँदै गर्दा झिलझिले प्रहरीले ओरियन्स कम्पनीका ६ लाख ७६ हजार ९४५ रुपैयाँ मूल्य बराबरको सामान सोमबार बरामद गरेको हो ।वीटग्रास डायट्री सप्लीमेन्ट ६० क्याप्सुल लेखिएका ३०७ वटा बट्टा बरामद भएको प्रहरीले जनाएको छ । सामानसँगै ६ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा इटहरी उपमहानगरपालिका–१८ बस्ने २८ वर्षिय नगेन्द्र चौधरी, सोही ठाउँका २६ वर्षिय शिवराम चौधरी, मोरङ ग्रामथान गाउँपालिका–६ बस्ने २३ वर्षिय सुरजकुमार चौधरी, सोही गाउँपालिका– ७ बस्ने २५ वर्षिय दीपक सिंह , वडा नं ६ बस्ने २५ वर्षिय लक्ष्मण माझी र कटहरी गाउँपालिका–७ का २३ वर्षिय सुनिल विश्वास रहेका छन् ।

उनीहरुले सामान बोक्न प्रयोग गरेको को ३३ प ८३०८ ,को १७ प २८५६ नम्बरकोे मोटरसाइकल र को ३४ प ५६८६ नम्बरको स्कुटर बरामद भएको झिलझिले प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुरको नेतृत्वमा खटिएको प्रहरीको टोलीले ठूलो परिमाणमा औषधी सहित उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको हो ।
अहिलेसम्म भन्सार छली ल्याएको ५० लाख बराबरको ओरियन्स कम्पनीको सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए । उनका अनुसार भदौ महिनामा मात्र १४ लाख मूल्य बराबरको ओरियन्स कम्पनीको सामान बरामद गरी भन्सारमा बुझाइएको थियो ।































