कनकाई माविमा ३६ शिक्षक–कर्मचारीलाई ल्यापटप वितरण

0
1283

सुरुङ्गा ।

कनकाई माध्यमिक विद्यालय, सुरुङ्गाले ३ कर्मचारीसहित ३६ शिक्षकलाई ल्यापटप कम्प्युटर वितरण गरेको छ ।
नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नमुना विद्यालय विकास गुरुयोजना अनुसार शिक्षक कर्मचारीलाई ल्यापटप वितरण गरिएको हो । ती ल्यापटप खरिदमा विद्यालयको ७५% र शिक्षक–कर्मचारीको २५% साझेदारी रहेको छ ।

एक कार्यक्रमका वीच प्रमुख अतिथि कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलले ल्यापटप वितरण गर्दै विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्य अनुरुप सूचना सञ्चार प्रविधिको विकास गर्ने लक्ष्यका साथ विद्यालयले समयसापेक्ष पहल गरेको कुरा प्रशंसनीय रहेको बताए ।

मेयर पोखरेलले कनकाई नगरीलाई शिक्षाको हब बनाउने योजनालाई कनकाई माविको कदमले थप सहयोग पुगेको बताए । कार्यक्रमका विशेष अतिथि कनकाई नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव पीताम्बर गौतमले युग अनुरुप शिक्षकले आफूलाई बदल्नुपर्ने बताए ।

उपसचिव गौतमले शिक्षकहरुले चाहने हो भने शिक्षा क्षेत्रमा ठूलो परिवर्तन आउने र कनकाई नगरले पनि गुणस्तरीय शिक्षाको लागि कार्ययोजना बनाएको बताए । उनले कोरोनाको विषम परिस्थिति साम्य भएपछि नगरपालिकाले शिक्षामा अघि सारेका कार्ययोजना लागु गर्दै लैजाने विश्वास दिलाए । अर्का विशेष अतिथि कनकाई नगरपालिकाका सामाजिक विकास समितिका संयोजक नबलकिशोर दत्तले कनकाई माविले नगरमै शिक्षा क्षेत्रमा नेतृत्वदायी भूमिका खेलिरहेकोमा प्रशंसा गरे ।

उक्त कार्यक्रमका अध्यक्ष समेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनार्दन उप्रेतीले २२ सय बढी विद्यार्थी संख्या पुगेको र दुई दर्जन बढी शिक्षकहरु निजी दरबन्दीमा कार्यरत रहेकाले आर्थिक रुपमा विद्यालयलाई टिकाउन कठिनाइ भएको बताए । उनले दरबन्दी मिलान गर्दा विद्यार्थी संख्याको आधारमा दरबन्दी दिन स्थानीय सरकारसँग माग गरे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कर्णबहादुर डाँगीले नमुना विद्यालय विकास कार्यक्रमको पञ्चवर्षीय योजना अन्तर्गतको तेस्रो वर्षमा अगाडि बढिरहेको, सूचना र सञ्चार प्रविधिको युगमा शिक्षकले शिक्षण सिकाइको क्षेत्रमा अद्यावधिक हुनुपर्ने देखिएकाले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नवीनतम प्रविधिमा पहुँच पुगोस् भनेर ल्यापटप वितरण योजना अघि सारिएको बताए ।

प्रअ डाँगीले कोरोना महामारीका प्रतिकूल समयमा पनि शिक्षकहरुलाई सूचना प्रविधिसम्बन्धी तालिमको व्यवस्था गरी असारको दोस्रो सातादेखि विद्यालयले कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थीलाई निरन्तर अनलाइन कक्षा सञ्चालन गरिरहेको जानकारी दिए । उनले अनलाइन कक्षामा २५–३० प्रतिशत मात्र विद्यार्थीको पहुँच भएकोमा यो समस्या हल गर्न अभिभावक, शिक्षासेवी, स्थानीय सरकार, नगर शिक्षा समिति र पूर्व विद्यार्थीहरुसँग उनले अपिल गरे ।

विद्यालयमा ५९ जना पूर्णकालीन, ६ जना आंशिक शिक्षक र ११ जना कर्मचारी रहेको र २ दर्जन बढी शिक्षक–कर्मचारी निजी स्रोतबाट कार्यरत रहेकाले हालको परिस्थितिमा तलब व्यवस्थापन र भौतिक स्रोतको व्यवस्थापनमा चुनौति देखिएको बताए । आगामी चैत्र सम्ममा थप १७ थान ल्यापटप खरिद गरी शिक्षक–कर्मचारीलाई विरण गरिने कार्ययोजना रहेको प्रअ डाँगीले जानकारी दिए ।

कार्यक्रममा शिक्षक अभिभावक संघ (पीटीए) अध्यक्ष नेत्रप्रसाद प्रसाई, नेपाल शिक्षक महासंघ कनकाई नगर अध्यक्ष शारदा पाठक, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु छबिलाल थपलिया, चन्द्रप्रसाद प्रसाई, टीका अधिकारी, लीला प्रसाई, विद्यालयका पूर्व प्रअ गोपीकृष्ण भट्टराई, पीटीए सदस्यहरु संगीता उप्रेती, जीवेन्द्र घिमिरे, विद्यालयका सहायक प्रअद्वय हरिप्रसाद तिम्सिना र चन्द्रप्रसाद शिवाकोटी, आधारभूत तह संयोजकद्वय खड्गप्रसाद आचार्य र खेमराज भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

ल्यापटप प्राप्त गर्ने शिक्षक–कर्मचारीको तर्फबाट शिक्षक दिलिपकुमार ख्रतिवडाले विद्यालयबाट प्राप्त सामग्रीको शिक्षण सहजीकरणमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । विद्यालय व्यवस्थापन समितिका सदस्य एवम् शिक्षक प्रतिनिधि बल्लभकुमार गौतमले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन शिक्षक तीर्थराज खरेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here