विर्तामोड ।

चीनको विशेष प्रशासनिक क्षेत्र हङ्कङ र मकाउका लागि महावाणिज्यदूत नियुक्त भएका झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरलाई सम्मानसहित विदाइ गरिएको छ । बिर्तामोडमा मंगलवार आयोजना गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रानामगरलाई एक दर्जनभन्दा बढी सामाजिक संघ–संस्थाले सम्मानसहित विदाइ गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी रानामगरलाई एकका लागि एक अभियान, बिर्तामोड उद्योग वाणिज्य संघ, सहारा नेपाल, नेपाल रेडक्रस सोसाइटी विर्तामोड उपशाखा, झापा गोल्डकप, संवाद समूह झापा, राष्ट्रिय उपभोक्ता मञ्च झापा, वीरता जेसीज, वीरता लेडी जेसीज, रोटरी क्लव अफ बिर्तामोड, रोटरी क्लव अफ बिर्तामोड मिडटाउन र पूर्वाञ्चल राष्ट्रिय दैनिकले सामुहिक सम्मान गरेका थिए ।
एकका लागि एक अभियानका संयोजक तथा सहारा नेपालका प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीको अध्यक्षता तथा झापाका प्रमुख जिल्ला अधिकारी रानामगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले स्वागत गरेका थिए ।
कार्यक्रममा पूर्वाञ्चल राष्ट्रिय दैनिकका प्रधानसम्पादक तथा संवाद समूह झापाका सहजकर्ता एकराज गिरीले सम्मान–पत्र वाचन गरेका थिए । एकका लागि एक अभियानका संयोजक तथा सहारा नेपालका प्रमुख कार्यकारी निर्देशक गिरी, अभियानका सहसंयोजक तथा झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेत, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष अध्यक्ष भट्टराई, नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखा सभापति सजेश शिवाकोटी, राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुव्वा, वीरता जेसीजका अध्यक्ष मिजास पोखरेल, वीरता लेडी जेसीजकी अध्यक्ष सुष्मा पौडेल, रोटरी क्लव अफ बिर्तामोडका प्रेसिडेन्ट निर्मल भट्टराई, रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट प्रशान्त भण्डारीले प्रमुख जिल्ला अधिकारी रानामगरलाई सम्मानपत्र, दोसल्ला र खादाद्वारा सम्मान गरेका थिए ।
त्यस्तै कार्यक्रममा मेची पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष नवीन कोइराला , कोषाध्यक्ष अमित सरिया, वैदेशिक रोजगार व्यवसायी संघ झापाका सल्लाहकार भानुप्रसाद शिवाकोटी, फर्निचर व्यवसायी खगेन्द्र खरेल, लायन्स क्लवका डिस्ट्रिक चियर पर्सन ओमकृष्ण विमली, नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमली, टेलरिङ व्यवसायी संघ झापाका महासचिव वीरु दर्नाल, रौनीयार सेवा समाज झापाकी अध्यक्ष संगीता रौनियार, निर्माण व्यवसायी केदार गिरी, बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका पारस मैनाली, नेपाल फोटो पत्रकार महासंघ झापाका अध्यक्ष बिनोद पाण्डे, इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी मुकुन्द रिजाल, नेपाल अलैंची व्यवसायी महासंघका सल्लाहकार पवन विन्दल, पाथीभरा एफएमका प्रवन्ध निर्देशक राजेन्द्र चम्लागाँई लगायतले प्रमुख जिल्ला अधिकारी रानामगरलाई खादा र मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य तथा झापा सभापति लोकराज ढकालले प्रमुख जिल्ला अधिकारी रानामगरले झापामा रहँदा निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए । उनले जिल्ला प्रशासन कार्यालय झापामा टोकन प्रणालीको व्यवस्था, पुस्तकालयको व्यवस्था गर्नुका साथै विपद् व्यवस्थापन र सुरक्षा व्यवस्था सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको वताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रानामगरले झापा बसाइ सुखद् रहेको स्मरण गर्दै एक वर्षको अवधिमा आफूले ५५ वटा काम गरेको बताए । अब आउने नयाँ प्रमुख जिल्ला अधिकारीलाई त्यसले थप जिम्मेवार बनाउने उनले बताए । प्रजिअ रानामगरले झापाको सुरक्षा व्यवस्था सुदृढ पार्न सबैले गरेको सहयोगको सह्राहना गरे । आफूले जीवनमा झापा र झापावासीको सद्भाव, एकता र मायालाई कहिल्यै नबिर्सने उनले बताए ।
संवाद समूह झापाले समाजमा हुने विवाद अन्त्यका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रजिअ रानाले त्यसले जिल्ला प्रशासन कार्यालयलाई समेत सहयोग पुर्याएको बताए । संवाद समूहको जस्तो असल अभ्यास अरु जिल्लामा पनि शुरु गर्न आफूले पहल गर्ने उनले बताए । त्यस्तै उनले सहारा नेपालसहित विभिन्न सामाजिक संघ–संस्थाको सहभागितामा शुरु भएको एकका लागि एक अभियानको प्रशंसा गर्दै अभियान अन्य जिल्लाका लागि अनुकरणीय हुने वताए ।
एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट झापाको कनकाई नगरपालिका–४ कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा पीसीआर ल्याब स्थापना गर्नु झापावासीको एकताको नमूना भएको उनले बताए । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि पीसीआर ल्याब चाँडै सञ्चालनमा ल्याउनु पर्नेमा उनले जोड दिए ।
त्यस्तै नेपाल रेडक्रस सोसाइटी झापाले विपद् व्यवस्थापनका लागि खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रमुख जिल्ला अधिकारी रानामगरले कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न र अन्य मानवीय सेवाका लागि आफूले रेडक्रससँग सहकार्य गर्ने अवसर पाएको स्मरण गरे ।
त्यस्तै उनले चीनको विशेष प्रशासनिक क्षेत्र हङ्कङ र मकाऊका लागि महावाणिज्यदूतमा नियुक्त भएकाले बिर्तामोड उद्योग वाणिज्य संघका व्यवसायीहरुसंगको सम्बन्ध प्रगाढ हुने बताए । उनले व्यवसाय र व्यवसायीको हितका लागि आफू महावाणिज्य दूत भएकाले बिर्तामोड उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायीहरुलाई हङ्कङ र मकाउ आउन निमन्त्रणा समेत दिए । कार्यक्रमको सञ्चालन बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव तथा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट प्रशान्त भण्डारीले गरेका थिए ।





























