अनिल वाग्ले/बुद्धशान्ति ।

विभिन्न वहानामा चुरे क्षेत्रमा अत्यधिक दोहन भईरहेको सांसदहरुले बताएका छन् । चुरे क्षेत्रको दोहन तत्काल नरोक्ने हो भने निकट भविश्यमा जनताले ठूलो क्षति बेहोर्नुपर्ने सांसद, राजनीतिक दलका नेता तथा जनप्रतिनिधिहरुले चेतावनी दिएका छन् ।
सोमबार रातीको मुसलधारे वर्षाका कारण बुद्धशान्तिमा पर्ने टिमाई खोलाले पु¥याएको क्षतिको जिल्ला समन्वय समिति झापाका प्रमुख एंव जिल्ला अनुगमन तथा समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको संयोजकत्वमा सांसद, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका जिल्ला प्रमुख, जनप्रतिनिधि, सुरक्षाकर्मी लगायतको टोलीले आज स्थलगत अनुगमन गर्ने क्रममा उनीहरुले त्यस्तो चेतावनी दिएका हुन् ।
प्रदेश सांसद गोपाल बुढाथोकीले ५÷१० वर्षको बिचमा चुरे क्षेत्रमा व्यापक दोहन भएको दावी गर्नुभयो । उहाँले यहि अवस्था रहिरहने हो भने शान्तिनगरका जनता बसाईं सर्नुपर्ने अवस्था आउने चेतावनी दिनुभयो । दोहनका कारण पैनी, खानेपानीका मुहान सुक्ने उहाँको भनाई छ । चुरे क्षेत्रको संरक्षण गर्नुपर्ने नीति बनेपछि थप दोहन भईरहेको उहाँको भनाई छ ।

१० वर्षदेखिको निरन्तर दोहनले चुरे क्षेत्र नराम्ररी प्रभावित भएको छ । चुरे क्षेत्रको संरक्षण गर्न सबै निकायको पहल कदमी प्रभावकारी हुनुपर्ने झापा क्षेत्र नम्बर १ का संघीय सांसद राम कार्कीले बताउनु भयो । सबै पक्ष इमान्दार भईदिने हो भने यस्तो समस्या नआउने उहाँको भनाई छ ।
चुरे क्षेत्रको दोहन तत्काल रोक्नुपर्ने जिल्ला समन्वय समिति झापाका प्रमुख एंव जिल्ला अनुगमन तथा समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले बताउनु भएको छ । उहाँले चुरे क्षेत्रमा ढुंगा, गिटी, बालुवा बोक्न आउने सम्पूर्ण सवारी साधनलाई तत्काल नियन्त्रणमा लिन र आवश्यक कार्वाही गर्न सुरक्षाकर्मीलाई अनुरोध गर्नुभयो ।
पोर्तेलले चुरेको फेदबाट डेढ किलोमिटर सम्म खन्न नपाइने भएपछि विभिन्न वहानामा खोला खन्ने कार्य भईरहेको दावी गर्नुभयो । कसैलाई पनि चुरे दोहन गर्ने अधिकार नभएको पोर्तेलको भनाई छ ।

बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले चुरे क्षेत्रमा भईरहेको दोहन रोक्न सबै निकायको उत्तिकै भूमिका हुनुपर्ने बताउनु भयो । रातारात चुरे क्षेत्र दोहन हुने गरेपनि त्यसका लागि स्थानीय निकायले नसकिरहेको हुँदा सबै पक्ष दोहन रोक्न लाग्नुपर्ने भुजेलले बताउनु भयो ।
अनुगमनका क्रममा चुरे क्षेत्रमा भएको दोहन नियन्त्रणका लागि सुरक्षाकर्मी, स्थानीय निकायको भूमिका महत्वपूर्ण हुने धारणा राखिएको छ । अनुगमनमा संघीय सांसाद राम कार्की, प्रदेश सांसद गोपाल बुढाथोकी, बुद्धशान्ति गाउँपालिकाका प्रमुख रमेशकुमार भुजेल, उपप्रमुख मिरा भूर्तेल, प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाही, नेकपा झापाका अध्यक्ष चिन्तन पाठक, प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, शसस्त्र प्रहरीका प्रतिनिधि सहित स्थानीयको उपस्थिति थियो ।






























