जनताको सुरक्षा गर

१८ भाद्र २०७७, बिहीबार मा प्रकाशित

सम्पादकीय

मध्य झापा भएर बग्ने विरीङ नदीलाई झापाको दुःख भनिन्छ । यसको प्रारम्भ विन्दुपछि झापाको बुद्धशान्ति, अर्जुनधारा हुँदै कन्काई, बाह्रदशी पालिकाका क्षेत्रहरुलाई किनारामा पारेर बग्ने विरीङ नदीले वर्षेनि ठूलो क्षति गराउने गरेको छ, त्यसैले विरीङलाई झापाको दुःख भनिएको हो । खेतीबारीदेखि मानवीय क्षतिसम्म पु¥याउँदै आएको विरीङ नदीमा हिउँदका समय जल प्रवाह अत्यन्त थोरै हुन्छ । वर्षाको समयमा शिरमा पानी पर्नासाथ बाढी आउने भएकाले नदी किनारका बासिन्दा आवश्यक सावधानी अपनाउनै पाउँदैनन् । यस्तोमा स्थानीय सरकार एक्लैको प्रयासले नदी नियन्त्रणको काम सम्भव हुँदैन भने प्रदेश, संघीय सांसदहरु, सम्बद्ध निकाय र सरकारको गम्भीर ध्यानाकर्षण नहुँदा बुद्धशान्तिदेखि नदीले छोएका र कति नछोइने पालिकाहरु समेत प्रभावित हुने गरेका छन् । विरीङ नदीले तत्कालीन बुधबारे, शनिश्चरे, खुदुनाबारी, अर्जुनधारा हुँदै दक्षिणी झापाका क्षेत्रहरुलाई ठूलो क्षति पु¥याउने गरेको थियो । नदीको धारलाई नियन्त्रण गर्न हालको बुद्धशान्ति–२ मा बाँध बनाइएको थियो । बिन्दुली बाँध भनिने त्यसले विरीङको बाढीलाई बुधबारे, शनिश्चरे, अनारमनीतर्फ आउन रोकेको थियो ।

बिन्दुली बाँध यसअघि चारपटक भत्किएको थियो । वि.सं. २०२१, २०२८,२०३१ र २०६० सालमा बाँध भत्किँदा ठूलो क्षति भएको थियो । त्यसमा पनि तेस्रोपटक बाँध भत्किँदा मूलधार नै शनिश्चरे बजार उत्तर पश्चिम भएर बगेको थियो । विगतदेखि सो क्षेत्रको सुरक्षाका लागि मर्मत तथा सम्भार गरिए पनि स्थायी प्रकृतिको तटबन्धन नहुँदा बिन्दुली क्षेत्रका स्थानीयबासीले सधैँ आतंकित हुनु परेको छ । अचानक बाढी आउने विरीङको विशेषता भएका कारण जहिल्यै असुरक्षित रहेको स्थानीयबासीको दीर्घपीडाको उपचार अहिलेको मुख्य आवश्यकता हो । सत्र वर्षअघि लगाएको तारजाली बाढीले बगाएका कारण अहिले त्यस क्षेत्रका बासिन्दाले निदाउन पाएका छैनन् । बिन्दुली बाँधको साठी मिटर क्षेत्रमा लगाएको तारजाली बगाएकोले जनताको तटबन्धन कार्यक्रम मार्फत भए पनि स्थायी तटबन्धनका लागि अनुरोध गरेको स्थानीयले बताएका छन् ।

बुद्धशान्ति, अर्जुनधारा र बिर्तामोड नगरपालिका बढी प्रभावित हुने कारणले तीनै तहका सरकारको मुख्य प्राथमिकतामा बिन्दुली बाँध पर्नुपर्दछ । बिन्दुली बाँधलाई बलियो र सुरक्षित राख्न त्यस क्षेत्रका जनप्रतिनिधिहरुको मुख्य भूमिका र जिम्मेवारी हुनुपर्दछ । प्रत्येक वर्षापछि बाँधको मर्मत तथा सम्भारले मात्र त्यसको स्थायित्व निर्धारण गर्दछ । यसका लागि स्थानीय सरकारको प्रमुख अग्रसरता हुनुपर्दछ त्यसले मात्र सम्बद्ध निकाय र सरकारलाई दवाव दिन सक्छ । बिन्दुली बाँध भत्किनु हुँदैन र नदीको धार पनि आफ्नै क्षेत्रबाट बग्नु पर्दछ । त्यसो भए नदी किनारमा हजारौं विगाह खेर गइरहेको जमिनलाई खेतीयोग्य बनाउन सकिन्छ । यसले रोजगारी मात्र उपलब्ध गराउँदैन राष्ट्रिय आयमा समेत योग पुरयाउँछ । त्यसैले पनि नदीको दुबै किनारमा स्थायी तटबन्धन गरी जनतालाई निश्चिन्त बनाउनेतर्फ सरकारको ध्यान जानु पर्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here