बाबुरामको ट्वीट : मल अभाव र भ्रष्टाचार वारे सरकारको ध्यानाकर्षण

0
937

बिर्तामोड ।

जनता समाजवादी पार्टी (जसपा) नेता तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले रासायनिक मल उत्पादनका लागि भारत, बंगलादेश र चीनसंग संयुक्त लगानीमा नेपालमै कारखाना खोल्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा डा. भट्टराईले समसामयिक विषयमा आफ्ना विचारहरु प्रस्तुत गर्दै आएका छन् । किसानले मल नपाएर हाहाकार भइरहेका बेला भट्टराईले नेपालमै कारखाना खोल्ने वा तत्कालका लागि मल बढी उत्पादन हुने खाडी मुलुकसँग सम्झौता गरेर सिधै आयात गर्नुपर्ने बताए । तेलमा झैं मलमा पनि भारतसंग द्विपक्षीय सम्झौता गरेर आयात गर्नुपर्ने र देशभित्रै प्रांगारिक मल प्रबद्र्धन गर्न जरुरी रहेको उनको भनाइ छ ।

उनले विकास निर्माणमा भइरहेको भ्रष्टाचार र ढिलासुस्ती रोक्न पनि सुझाव दिएका छन् । उनले बँुदागत रुपमा लेखेका छन्– ठेक्का दिँदा सबैभन्दा कमलाई हैन, कमको १० प्रतिशतभित्र क्षमता र इतिहास हेर्नुपर्ने, एउटालाई रकम हेरेर २–३ भन्दा ठेक्का दिन नहुने, मोबिलाइजेसन खारेज गर्नुपर्ने, समयमा काम नसक्नेलाई कार्वाही तथा कार्बाही नगर्ने कर्मचारीलाई पनि कार्वाही गर्नुपर्छ ।

डा. भट्टराईले सामाजिक सञ्जाललाई व्यवस्थित गर्न पनि सुझाव दिएका छन् । सामाजिक सञ्जालमा देखिएको विकृतिबिरुद्ध उनले लेखेका छन्– अरूबाट सिक्ने, आफूले जानेको बाँड्ने, सत्य र न्यायको पक्षमा उभिनुहोस्, शोषित, उत्पीडित र विभेदमा परेकाहरूको पक्षमा पैरवी गर्नुहोस्, जाइनलाग्ने, आइलाग्नेलाई नछोड्ने (जस्तालाई त्यस्तै) र बुझेर बुझ पचाउने ठग तथा नबुझ्ने, बुझ्न नचाहने मूर्खदेखि टाढै बस्नुहोस् ।

सामाजिक सञ्जालमा निकै सक्रिय रहेका डा. भट्टराई राजनीति तथा समसामयिक विषयमा सामाजिक सञ्जालमा आलोचना, समर्थन तथा सुझाव दिन अन्य नेताहरु भन्दा अघि रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here