लकडाउनमा १८ जनाको हत्या ,अपराधीको पहिचान गर्न कुकुरको सहायता

0
1369

बिर्तामोड ।

कोरोना भाइरसले विश्वभर नै महामारीको रुपमा लिएसंगै नेपालमा समेत उक्त भाइरसको संक्रमण देखिएपछि सरकारले गत चैत ११ गतेबाट एक सय २१ दिनसम्म लकडान ग¥र्यो । कोरोनाको संक्रमणबाट बच्न सबै क्षेत्रको त्यसतर्फ ध्यान केन्द्रित भएपनि कोरोनाको संक्रमणदेखि हालसम्म प्रदेश–१ का १४ जिल्लामा १८ जनाको हत्या भएको छ । चैत ११ गतेबाट भदौ १८ गतेसम्म अर्थात १६५ दिनमा नवजात शिशुसहित बृद्ध–बृद्धाको समेत हत्या भएको प्रहरीले जनाएको छ ।

अधिकांश हत्याका घटनामा प्रहरीले सफल अनुसन्धान गर्दै अपराधमा संलग्नलाई कानुनको दायरामा ल्याएको छ । तर, अझै पनि केही घटना भने रहस्यमय बनेको प्रहरीले जनाएको छ । बुधबार मात्रै झापाको शिवसताक्षी–११ स्थित सताक्षीधाम जाने सडकमा स्थानीय २९ वर्षीय गोमनसिंह भनिने गोविन मगरको बिभत्स हत्या भएको छ ।

उनको घाँटी रेटिएको अवस्थामा रतुवामाई बृक्षरोपण आयोजनाको जंगल हातामा शव फेला परेको थियो । घटनाको अनुसन्धानको लागि धरानस्थित संघीय प्रहरी इकाई कार्यालयबाट ट्याकर डग ‘लैला’ को मद्दत लिइएको थियो । मगरको धारिलो हतियारबाट घाँटी रेटेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाको थप अनुसन्धानको लागि धरानबाट ट्याकर डग ‘लैला’ ल्याएर अनुसन्धान गरेको डीएसपी राकेश थापाले जानकारी दिए । कुकुर शाखाका प्रहरी नायव निरीक्षक दयानन्द श्रेष्ठको कमाण्डमा घटनास्थल पुगेपछि लैलाले प्रहरी अनुसन्धानलाई सघाएको थियो । तर, ‘लैला’ समेत अपधीको नजिक नपगेपछि प्रहरीलाई थप चुनौति थपिएको छ ।

झापासहित प्रदेश–११ मा भएका हत्याका घटनामा गम्भिर रुपमा अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्याय विराटनगरले जनाएको छ । गत चैत ११ गते सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–१ नेलेका ६० बर्षीय धनबिर कामी मृत फेला परेका थिए । उनको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धानलाई जारी राखेको छ । चैत २० गते तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाँडाका ८३ बर्षीय फौदराज पौठाक जंगलमा जलेको अवस्थामा मृत फेला परेका थिए । चुहानडाँडा स्थित लामा चौतारी सामुदायिक वनमा जलेको अवस्थामा उनकोे फेला परेको हो । कसैले हत्या गरेर शव जलाएको आशंमा प्रहरीले अनुसन्धान गरेपनि हालसम्म कुनै ठोस प्रमाण फेला नपारेको बताइएको छ ।

यता चैत २४ गते सुनसरीको ईटहरी उप–महानगरपालिका–८ गैसारमा रहेको नमुना कलेज पुर्वपट्टीको कल्भटमा नवजात शिशुको शव फेला परेको थियो । उक्त स्थानमा भर्खरै जन्माएर फालेको जस्तो देखीने स्त्री जातको नवजात शिशु मृत अवस्थामा फेला परेपनि हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेन् । त्यस्तै खोटाङको बाह्रपोखरी गाउँपालिका–१ मा वैशाख २ गते श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमानको घटनास्थलमै मृत्यु भएको छ । ५० बर्षीया मेनुका राईले श्रीमान ५० बर्षकै छकुमार राईलाई खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय खोटाङ बजारले जनाएको छ । हत्यामा संलग्न मेनुकालाई प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै धनकुटा छथरजोरपाटी–४ पानीट्याङ्की बस्ने ४७ बर्षीय ईन्द्र बहादुर लिम्बुको श्रीमतीको कुटाईबाट मृत्यु भएको छ । वैशाख ८ गते श्रीमान श्रीमतीको घरायसी बिषयमा बादबिबाद भई झगडा हँुदा श्रीमती धनमाया लिम्बुले ईन्द्रबहादुरलाई घरेलु हतियार तथा लाठीले टाँउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । हत्यामा संलग्नलाई तत्काल पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उता वैशाख २६ गते तेह्रथुम र खोटाङमा तीन जनाको हत्या भएको छ । तेह्रथुमको फेदाप गाउँपालिका–५ ईसिबु बस्ने २० बर्षीय कन्चन लिम्बुले आफ्नै बुबा ४२ बर्षीय रुप बहादुर लिम्बु र सौतेनी आमा ३५ बर्षीय रुपेनी लिम्बुलाई बन्चरोले टाउको तथा ढाडमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । छोराको बन्चरो प्रहारबाट दुबै जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । यसैगरी खोटाङको केपिलासगढी गाउँपालिका–२ का ४७ बर्षीय प्रितिलाल राईलाई आफ्नै सालो २७ बर्षीय मिलन राईले ढुङगाले टाउकोमा प्रहार गरी हत्या गरेका छन् । दुवै घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

यता इलामको देउमाई–६ शान्तीडाँडामा जेठ ६ गते २५ बर्षीया शुष्मा राई आफ्नै बुबाको हत्या आरोपमा पक्राउ परेकी छिन । खाना खाएर घरमा बुबासंग गफ गरेर बसिरहेको अवस्थामा एक्कासी घरायसी बिषयमा बादबिवाद हुनथालेपछी र शुष्माले बुबा ५१ बर्षीय फुलबहादुर राईलाई बन्चरोले टाउँकोमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । उता जेठ ९ गते सोलुखुम्बु सोताङका ४६ बर्षीया परीमाया राईले आफ्नै श्रीमानालाई खुकुरी प्रहार गरेर हत्या गरेकी छन् । ४५ बर्षीय प्रतापसिंह राईलाई परीमायाले टाउँकोमा खुकुरी प्रहार गरेकी हुन । हत्यामा संलग्न परीमायालाई तत्काल नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उता उदयपुरको रौतामाई गाउँपालिका–८ की ४३ बर्षीय नेप्टीमाया भनिने दिलमाया तामाङ जेठ १२ गते आफ्नै घरमा मृत फेला परेकी थिइन् । महिलाको धारिलो हतियार प्रहारबाट हत्या भएको आशंकामा प्रहरीले मृतककै श्रीमान बिष्णु तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । प्रहरीले घटनामा श्रीमान नै संलग्न रहेको निकश्र्ष निकालेको थियो ।

यता सुनसरी बारहक्षेत्र–३ बाङगेका ३७ बर्षीय कमल राईको जेठ १६ गते हत्या भएको अवस्थामा शव फेला प¥र्यो । हत्या आरोपमा सुनसरी बराहक्षेत्र ईक्राहीका २२ बर्षीय गणेश लिम्बु र सोही स्थानका १९ बर्षीय प्रदीप राजधामीलाई प्रहरीले पक्राउ ग¥र्यो । त्यस्तै सुनसरीको ईटहरी उप–महानगरपालिका–२० का २८ बर्षीय रादन राईको जेठ २० गते हत्या भएको थियो । हत्यामा संलग्न मोरङको कानेपोखरी गाउँपालिका–५ का २० बर्षीय प्रज्वल तामाङ, ईटहरी उप–महानगरपालिका–२० का १९ बर्षीय अभिषेक केसी (गिरी) र सोही स्थानका २३ बर्षीय अभिषेक पौडेललाई पक्राय गरिएको प्रहरीले जनाएको छ ।

जेठ २५ गते खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा खुकुरी प्रहारबाट एक जनाको हत्या भयो । स्थानीय ३६ बर्षीय शुभराज राईले सोही स्थान बस्ने ६५ बर्षीय डिल्लीराज राई र उनकै श्रीमती ६२ बर्षीया सममाया राईलाई धारिलो हतियार खुकुरीले प्रहार गरेका थिए । घाईते दुबै जनालाई उपचारको लागी हेलिकोप्टरद्धारा काठमाण्डौ पठाउने तयारी हुँदै गर्दा डिल्लीराज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । खुकुरी प्रहार गर्ने शुभराज राईलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उता सोलुखुम्बु महाकुलुङ गाँउपालिका–४ मा जेठ ३० गते ५७ बर्षीय सन्त कुमार राई र उनकै छोरा कुबेर राईले हत्या गरे । बाबुछोरा बीच झगडा हँुदा कुवेरले आगो फुक्ने फलामको ढुंग्रोले बाबु सन्तकुमार राईलाई टाउँकोमा प्रहार गर्दा उनको घटनास्थलमानै मृत्यु भएको थियो । यस्तै संखुवासभाकै धर्मदेवी नगरपालिका–१ तेल्लोकका ६१ बर्षीय रुद्र राईको असार ३० गते धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । भतिजो ४३ बर्षीय गंगा राईले एक्कासी कुटपीट तथा धारीलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै खोटाङको केपिलासगढी गाउँपालिका–१ का ५६ बर्षीय जबरधन राईको साउन २२ गते हत्या भयो । सामान्य बिबाद हुँदा रिसको आवेगमा २७ बर्षीय राकेश राईले जबरधनको हत्या गरेको प्रहरीले जनाएको छ । यता भदौ ९ गते झापा गाउँपालिका–३ झापाका ७० बर्षीय साईला टुडुलाई उनकै छोरा २५ बर्षीय सुनिल टुडुले कुटपिट गरेर हत्या गरेका छन् । हत्यामा संलग्न सुनिललाई प्रहरीले पक्राय गरेको प्रहरीले जनाएको छ ।

प्रदेश–१ प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता डीएसपी सुमनकुमार तिम्सिनाले अधिकांश हत्याका घटनामा संलग्न दोषिहरुलाई पक्राउ गर्न सफल भएको बताए । कोरोनाको संक्रमणको यस विषम् परिस्थितीमा समेत प्रहरीले अपराध कर्ममा संलग्नलाई कानुनी दायरामा ल्याउने कामलाई तिब्रता दिएको बताए । हत्यामा संलग्नलाई पक्राउ गर्न प्रहरीले कुकुरको समेत सहयोग लिएको बताइएको छ । हत्याको घटनालाई मध्यनजर गरेर कुकुरमो प्रयोग गर्ने गरिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here