बन्धक बनाइएका चेलीको उद्धार

0
764

परासी, कोभिड– १९ को महामारीबीच दश महिनादेखि बन्धक तीन नेपाली चेलीको भारतबाट उद्धार गरी ल्याइएको छ । आफन्त नेपाल संस्थाको पहलमा बेचबिखन हुन लागेका एक बालिकासहित तीन नेपाली चेलीलाई उद्धार गरिएको हो ।

 

नवलपरासी पश्चिमस्थित आफन्त नेपाल महेशपुर शाखाले नेपाल र भारतीय प्रहरी तथा स्थानीय जनप्रतिनिधिको सहयोगमा भारतको महाराजगञ्जस्थित एक आर्केष्टा कम्पनीबाट ती नेपाली चेलीहरुलाई उद्धार गरी नवलपरासी ल्याएको हो ।

चितवनका २२, १७ र ४ वर्षका ती चेलीलाई उद्धार गरी सुरक्षित रुपमा नेपाल ल्याइएको संस्थाकी शाखा प्रमुख पद्मा आचार्यले राससलाई जानकारी दिनुभयो ।

जागिर तथा विवाहको प्रलोभनमा परी उनीहरु भारत पुगेका थिए । त्यहाँ पुगेको केही महिनापछि आर्केष्टा कम्पनीका मालिकले आफूहरुलाई बेचबिखन गर्न लागेको थाहा पाएपछि प्रतिकार गरी परिवारलाई जानकारी गराएको उद्धार गरिएका युवतीले बताएका छन् ।

उद्धार गरिएकामध्ये २२ वर्षीया महिलालाई भारतमै काम गर्दै आएकी उनकी बहिनीको मोबाइलबाट एक व्यक्तिले विवाह गर्छु भनी बोलाएका थिए । तर उनकी बहिनी अहिले बेपत्ता छिन ।

अर्की एक युवतीलाई पनि जागिर लगाईदिने प्रलोभन देखाएर बोलाएको तर एक महिनापछि भारतको विहारका तीन जना व्यक्तिलाई रु एक लाखमा बिक्री गर्न लागेपछि आफूहरुले प्रतिकार गरेको भनी युवतीले बयान दिएको आफन्त नेपाल महेशपुरकी प्रमुख आचार्यले बताउनुभयो ।

चार वर्षीया बालिका भने २२ वर्षीया महिलाकी छोरी हुन् । विदेशमा रहेका आफ्नो दाजुलाई फोनमार्फत जानकारी गराएपछि युवतीका आफन्तहरुले चितवनस्थित आफन्त नेपालको माडी शाखामा खोजतलासका लागि निवेदन दिएपछि खोजी कार्य शुरु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here