झिलझिले हत्या प्रकरणका आरोपी पक्राउ, शनिबार पत्रकार सम्मेलन गरिदैं

0
1002

बिर्तामोड।

झापाको शिवसताक्षी–११ का २८ वर्षीय गोमानसिंह मगरको हत्या आफ्नै साथी संलग्न रहेको पाइएको छ ।

लेनदेनको विवादका कारण आफ्नै साथीले मगरको हत्या गरेको प्रहरीले जनाएको छ । मगरको हत्या अभियोगमा स्थानीय मनकुमार लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ । यसबारे विस्तृत जानकारी दिन शनिबार भदौ २० गते जिल्ला प्रहरी कार्यालयमा पत्रकारलाई बोलाइएको छ ।

भदौ १६ गते साँझ लिम्बूले गोमानसिंहको हत्या गरेको खुलेको हो । जिल्ला प्रहरी कार्यालय झापाका एक अनुसन्धान अधिकृतका अनुसार मगरलाई नयाँ नम्बरबाट फोन गरेर लिम्बूले भेट्न बोलाएका थिए । विदेशमा हुँदा पुरानो लेनदेन भएका कारण लिम्बूले नयाँ नम्बर प्रयोग गरेको प्रहरी अनुमान छ ।

प्रहरीका अनुसार मगर गत माघ महिनामा बहराइनबाट नेपाल आएका थिए । आरोपी लिम्बू पनि बहराइनबाट फर्किएका व्यक्ति हुन् । दुईजनाबीच लेनदेनको विवाद हत्यासम्म पुगेको देखिएको प्रहरी स्रोतले बतायो ।

लिम्बूले सो दिन साँझ ६ बजे घरबाट निस्किएका मगरलाई झिलझिले बजारमा भेटेको पाइएको छ । प्रदेश ०१–०१–०१२ प ५२२५ नम्बरको पल्सर मोटरसाइकलमा चढाएर उनले मगरलाई एक किलोमिटर उत्तरमा रहेको रतुवामाई वृक्षरोपण आयोजनाको जंगलतिर लगेको अनुसन्धानबाट खुलेको छ ।

लिम्बूले जंगलमा लगेर छुराले घाँटी रेटेर हत्या गरेको स्वीकारेका छन् । प्रहरी बयानमा मगर र लिम्बूले प्रयोग गरेको गरी दुईवटा मोबाइल र हत्यामा प्रयोग भएको छुरा पानीमा फ्यालेको अवस्थामा भेटिएको छ । प्रहरी अधिकृतहरुका अनुसार बरामद मोबाइलसहित अन्य प्रमाणको प्राविधिक विश्लेषणले पनि घटनामा लिम्बूको संलग्नता पुष्टि भएको छ ।

झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाले भने हत्यामा अन्य कारण पनि हुनसक्ने बताउँदै अनुसन्धान जारी रहेको उल्लेख गरे । प्रारम्भिक अनुसन्धानमा अपराधमा अन्य व्यक्ति पनि संलग्न हुनसक्ने आशंका गरिए पनि अनुसन्धानले पुष्टि नगरेको स्रोत बताउँछ ।

प्रहरीले मगरको शव भेटिएलगत्तै अनुसन्धानका लागि प्रदेश नम्बर १ प्रहरी कार्यालयबाट तालिम प्राप्त ट्याकर कुकुर मगाएको थियो । जसले आरोपी राजमार्गतिर भागेको संकेत गरेको थियो । त्यसपछि भने कुकुर अलमलिएको अनुसन्धान अधिकृतहरु बताउँछन् । मगरको शवलाई पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।

घटनाको अनुसन्धान इलाका प्रहरी कार्यालय झिलझिले, इलाका प्रहरी कार्यालय दमक, जिल्ला प्रहरी कार्यालय झापा र प्रदेश प्रहरी इकाई कार्यालय विराटनगरले गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here