कर्मचारीमा कोरोना देखिएपछि बैंकिङ सेवा बन्द

0
931

कर्णाली,

राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखाका कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण भएपछि एक साताका लागि सेवा बन्द गरिएको छ ।

प्रदेश अस्पताल/पशुपंछी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा शुक्रबार बैंकको नगद शाखामा कार्यरत एकजना कर्मचारीमा सङ्क्रमण पुष्टि भएको थियो । बैंकका प्रबन्धक लीलाराम ढुङ्गानाले सेवाग्राही र कर्मचारीमा सङ्क्रमण फैलिन नदिन एक साताका लागि सेवा बन्द गरिएको बताउनुभयो ।

“सङ्क्रमित कर्मचारी आइसोलेसन बस्नुभएको छ”, उहाँले भन्नुभयो, “कार्यालय सानिटाइज गरेका छौँ, कम्तीमा एक साता बैंक बन्द रहने सूचना जारी गरिसकेका छौँ ।” शाखा प्रबन्धक ढुङ्गानाका अनुसार पाँच दिनपछि बैंकका अन्य कर्मचारीको स्वाब सङ्कलन गर्ने र रिपोर्ट ‘नेगेटिभ’ आएपछि मात्र सेवा पुनः सञ्चालन गरिनेछ ।

यसअघि जिल्ला अदालतमा कार्यरत कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि अदालत एक साताका लागि सिल गरिएको थियो । त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालयको सुरक्षार्थ खटिएका प्रहरीसहित चालक र कार्यालय सहयोगीमा पनि सङ्क्रमण देखिएको थियो ।

मन्त्रालयले बिहीबारदेखि अत्यावश्यकबाहेक अन्य सबै सेवाहरु बन्द गर्नाका साथै मन्त्रालयका सबै कर्मचारी होम क्वारेन्टिनमा बसेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here