तुलसीप्रसाद निरौला ,विर्तामोड । झापाली समाज कुवेतले मेनेन्जाइटिस भएर बिर्तामोडको मनमोहन अस्पतालमा उपचाररत् झापा गाउँपालिका वार्ड न.६ का नौ बर्षिय गजेन्द्र थापालाई आर्थिक सहयोग गरेको छ ।

झापा गाउँपालिका वार्ड न.६ निवासी गजेन्द्रको वुबा ईन्द्रवहादुर थापाको हालै निधन भएको र वुबाको काजकिरिया गरे लगत्तै छालामा एलर्जी देखिन थालेकोले उपचार गर्दै जाने क्रममा मेनेन्जाइटिस भएको चिकित्सकले बताएको उनका हजुरबुबा चन्द्रबहादुर थापाले वताए ।
ईन्द्रवहादुरको निधन भएपछि आफूले १४ वर्षिया दिदी र १२ वर्षीय दाजुको समेत हेरचाह गर्दै आइरहेको उनले बताए ।
स्थानीय जनकल्याण माविमा कक्षा २ मा अध्ययनरत् बालक थापाको उपचारमा आर्थिक अभाव भएपछि उनको उपचारमा सहयोग गर्न इमेर्जेन्सी रेस्पोन्स सेन्टर झापाले सामाजिक सञ्जालमा पोष्ट गरेपछि उनको उपचारमा सहयोग जुटीरहेको इमेर्जेन्सी रेस्पोन्स सेन्टर झापाका अभियान्ता दिपक दासले बताए ।
बालक थापाको उपचारमा सहयोग गरिदिनु हुन सवैलाई अभियान्ता दासले अनुरोध गरेका छन् । बालक थापाको उपचारमा सहयोग गरिदिनु हुन कुमारी वैंक विर्तामोड शाखामा गजेन्द्र थापाको नाममा रहेको खाता नं.०१२००९७७७१७००००१ मा रकम जम्मा गरिदिनु हुन उनले सवैसंग आग्रह गरेका छन् ।
आर्थिक अभावमा अस्पतालमै छटपटाईरहेका बालक गजेन्द्रको जीवन रक्षार्थ उपचारको लागि झापाली समाज कुवेतले ३१ हजार रुपैयाँ सहयोग गरेको झापाली समाज कुवेतका महासचिब प्रसाद तिम्सिनाले जानकारी दिए ।
झापाली समाज कुवेतका संस्थापक सदस्य खगेन्द्र सिलवालले झापा गाउँपालिका वार्ड नं. ६ का वार्ड सदस्य मोहन पोख्रेलको रोहवरमा गजेन्द्रका हजुरबुबा चन्द्रबहादुर थापालाई अस्पतालमै उक्त रकम हस्तान्तरण गरेका थिए ।
“हाम्रो एकता विकासको लागि“ भन्ने मूल नाराका साथ विगत ७ वर्षदेखि कुवेतमा स्थापित झापाली समाज कुवेतले समाजमा आवद्ध सदस्यहरुको आर्थिक उन्नती तथा झापा जिल्लाको विकासको लागि विभिन्न सहयोग र सामाजिक कार्यहरु गर्दै आएको झापाली समाज कुवेतका महासचिब प्रसाद तिम्सिनाले जानकारी दिए ।
विश्वभरि छरिएर रहेका झापालीहरुलाई एकीकृत गर्दै ४२ देश भन्दावढी झापाली समाजका सञ्जालहरु फैलाउँदै अन्तराष्ट्रिय झापाली समाज समेत गठन गरि विभिन्न सेवा मुलक कामहरु गर्दै आइरहेको उनले वताए ।





























