२२ महिलाको भारतबाट उद्धार, तस्करले नयाँ शैली अप्नाउँदै

0
1561

नरेन्द्र ढकाल / बिर्तामोड ।

कोरोना भाइरसको कारण विश्वमा नै संकटमा परिरहेका बेला पनि चेलीबेटी बेचबिखन भने रोकिएको छैन । कोरोना भाइरसको महामारीकै बीचमा पनि मानव बेचबिखन र ओसारपसार रोकिन नसकेको त्यस क्षेत्रमा क्रियाशील व्यक्तिहरुले बताएका छन् ।

सन् २०१९को अन्त्यतिरबाट देखा परेको कोरोना भाइरसका कारण नेपालमा हालसम्म अढाई सयभन्दा बढीले ज्यान गुमाइ सकेका छन् । मानव तस्करले पूर्वी नेपालका विभिन्न क्षेत्रलाई मानव बेचबिखनका लागि प्रयोग गर्ने गरेको माइती नेपालका प्रदेश–१ संयोजक गोविन्द घिमिरेले बताए । चैत ११ गतेपछिको लकडाउन तथा सीमानाका बन्द रहेकै अवस्थामा समेत माइती नेपालको पहलमा २२ जना चेलीलाई भारतबाट उद्धार गरेर ल्याइएको छ ।

भारतको मणिपुरमाबाट २१ जना र शिलगढीबाट एक जना महिलालाई उद्धार गरिएको माइती नेपालका प्रदेश संयोजक घिमिरेले जानकारी दिए । उनीहरुलाई गत असार ३० गते काँकरभिट्टा हुँदै नेपाल ल्याइएको हो । बेचबिखनमा अधिकांश किशोरीहरु पर्ने गरेको र यो महामारीको समयमा समेत दलालले विभिन्न प्रलोभनमा पार्ने गरेको पाइएको हो । बोर्डर सिल भए पनि खुल्ला सीमानाका कारण मानव तस्करले प्रहरीको आँखा छलेर विभिन्न स्थानबाट भारत पु¥याउने गरेको संयोजक घिमिरेको भनाइ छ ।

कोरोना भाइरसका कारण मानिस संकटमा परिरहेका बेला भारतका विभिन्न स्थानमा कोरोना नरहेको तथा कोरोनाबाट सुरक्षित रहेर काममा लगाई दिने भन्दै तस्करहरुले महिलाहरुलाई लैजाने गरेको खुलेको हो । लकडाउनकै अवधिमा पूर्वी नाका काँकरभिट्टा आएका ९० जना महिला तथा किशोरीहरुलाई माइती नेपालले नियन्त्रणमा लिएर अभिभावकको जिम्मा लगाएको संयोक घिमिरेले जानकारी दिए । शंका लागेर सोधखोज गर्दा मानवतस्करको चंगुलमा पर्ने गरेको पाइएकाले केहीलाई सीमावर्ती क्षेत्रबाटै उद्धार गर्न सफल भएको बताइएको छ ।

सन् २०२०को सात महिनामा २२ महिलाको उद्धार गरेको र एक जनाविरुद्ध मानव बेचबिखन तथा मानव तस्करी मुद्दा दर्ता गरिएको छ भने महिला हिंसामा एउटा मुद्दा दर्ता भएको संयोजक घिमिरेले बताए । पछिल्लो समय प्रविधिको प्रयोग गरेर मानव तस्करलले सहजै रुपमा शिक्षित महिलालाई समेत प्रलोभनमा पार्ने गरेको माइती नेपालले जनाएको छ ।

संकटमा तस्कर सक्रिय

नेपालमा हुने प्राकृतिक संकट तथा अन्य महामारीको समयमा मानव तस्करहरु सक्रिय हुने गरेको संयोजक घिमिरेको भनाइ छ । वि.सं. २०७२ सालको भूकम्पपछि पूर्वी नाकाबाट मानव बेचबिखनको घटना बढेको थियो । संयोजक घिमिरेले भने– भूकम्पको महाविपत्तिमा काँकरभिट्टा नाकाबाट एकैदिन एक सय ४४ जना महिलालाई उद्धार ग¥यौं । अहिले पनि कोरोनाका संकटका कारण धेरैले रोजगारी गुमाएकाले अब चुनौति रहेको संयोजक घिमिरेले बताए ।

कोरोना भाइरसका कारण आर्थिक समस्या निम्तिने खतरा रहेको र यो अवस्थामा मानव तस्करले रोजगारी लगाई दिने बहानामा चेलीबेटी बेच्न लैजाने सम्भावना धेरै हुन्छ । नेपालमा रोजगारीको अवस्था सिर्जना गर्न नसकेका कारण पनि धेरै महिलाहरु बेरोजगार बस्नुपरेको तथा अन्य घरायसी समस्याका कारण पनि मानव तस्करको प्रलोभनमा छिट्टै पर्ने सम्भावना भएकाले अबा दिनमा अझै चुनौति हुने सम्भावना रहेको संयोजक घिमिरेको भनाइ छ ।

लकडाउनमै ४३ हराए १३ भेटिए

सन् २०२०को सात महिनाको अवधिमा माइती नेपालमा ४३ जना महिला हराएको निवेदन परेको प्रदेश संयोजक घिमिरेले बताए । हराएकामध्ये १३ जनालाई फेला पारेर अभिभावकको जिम्मा लगाइएको छ ।

कोरोनाको संकटका कारण अहिले पनि अधिकांश स्थानमा लकडाउन तथा निषेधाज्ञा रहेकाले खोजी कार्यलाई तीब्र रुपमा अघि बढाउन नसकेको बताइएको छ । हराएको निवेदन आएको आधारमा सम्भावित क्षेमा खोजी गर्ने काम गरेपनि फिल्डमै खटिएर काम गर्ने अवस्था नरहेकाले समस्या भएको संयोजक घिमिरेको भनाइ छ ।

मानव बेचबिखनका लागि नयाँ प्रविधि

मानव बेचबिखनका लागि इन्टरनेट र मोबाइल फोनमा उपलब्ध हुने नयाँ–नयाँ एपको समेत प्रयोग हुन थालेको पाइएको संयोजक घिमिरेले बताए ।

सूचना प्रविधिमा बढ्दो पहुँचका कारण त्यसको दुरुपयोग गर्दै मानव बेचबिखन गर्ने क्रम बढेको पाइएको छ । प्रविधिको प्रयोग गरेर विभिन्न भ्रमक विज्ञापन प्रकाशन गर्ने र विभिन्न अवसरहरु रहेको भन्दै महिलाहरुलाई सहजै जालमा पारेर उनीहरुलाई बेचबिखनमा लैजाने गरेको पाइएको संयोजक घिमिरेले बताए ।

मानव बेचबिखनका दलाल तथा अन्य संलग्न व्यक्तिहरूले सम्पर्क माध्यमका रूपमा आधुनिक प्रविधि, सामाजिक सञ्जाल र इमोजस्ता सम्पर्क माध्यमहरूको प्रयोग गरिरहेको पाइएको बताइएको छ । बेचबिखनमा परेका महिलाहरुलाई यौन शोषणका लागि र बाध्यकारी श्रम, अस्थायी नियन्त्रणमा राख्ने गरेको जनाइएको छ ।

मानव बेचबिखनको चङ्गुलमा फसेका नेपाली युवतीहरूलाई श्रीलङ्का, माल्दिभ्स, मलेशिया, खाडीका विभिन्न देश र अफ्रिकी महादेशका केन्या र ताञ्जानियामा वयस्क मनोरञ्जनको क्षेत्रमा काममा लगाइएको पाइएको माइती नेपालका प्रदेश–१ संयोजक घिमिरेले बताए । केही महिलाहरुलाई भारतकै विभिन्न शहरमा रहेका कोठीहरुमा बेच्ने गरेको पाइएको छ ।

औपचारिकतामा मात्रै दिवस मनाइयो

शनिबार मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १४आँैं राष्ट्रिय दिवस औपचारिकतामा मात्रै मनाइएको छ । बन्दाबन्दीको समयमा कुनै औपचारिक कार्यक्रम नगरिएको संयोजक घिमिरेले बताए ।

मानव बेचबिखन तथा ओसारपसारबिरुद्धको दिवसमा काँकरभिट्टा, भद्रपुर, इलाम, विराटनगर लगायतका विभिन्न क्षेत्रमा कार्यक्रम हुने गरेकोमा यस वर्ष कोरोना भाइरसको संक्रमणको कारण कुनै औपचारिक कार्यक्रम नगरिए पनि विभिन्न सूचना प्रविधिको प्रयोगमार्फत कार्यक्रमहरु गरिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here