सम्पादकीय
कोरोना भाइरसभन्दा मनको बाधले खान्छ कि भन्ने चिन्ताले क्षति गर्न थालेको तथ्यांकहरुले देखाउन थालेका छन् । कोरोना संक्रमित भई मुक्त भइसकेकाहरु समेत मनकै बाधबाट त्रस्त छन् । किनकि उनीहरुलाई समाजले हेर्ने आँखाले डाम्न थालेको छ, अपमानित र विभेद गरेको छ । संक्रमित हुनु व्यक्तिको दोष होइन र कतिपय अवस्थामा बाध्यताबस गरिने कर्मले नै संक्रमित बनाउने गरेको पनि छ । उपचार सेवामा सबैभन्दा अघि रहनुपर्ने चिकित्सक हुन् वा स्वास्थ्यकर्मी अथवा सुरक्षामा क्रियाशील सुरक्षाकर्मी सबै अनिश्चित भविष्य बोकेर माननीय सेवामा समर्पित छन् । भाइरसको संक्रमणको जोखिम उच्च हुँदाहुँदै पनि बिना अर्थ, बिना प्रयोजन, बिना आवश्यकता हिँडडुल गर्ने, भीडभाडमा जाने र स्वास्थ्य सुरक्षाको मापदण्डको पालना नगर्ने प्रवृत्ति बढ्दो छ । यही प्रवृत्तिले भदौ लागेयता संक्रमणको दर चार गुणाले बढेको छ । एकातिर कोरोना महाविपत्ति हो, उपचार छैन रोकथाम र सुरक्षा गर्न भनिँदैछ भने अर्कातिर यो प्रायोजित आतंक हो भन्ने आवाज पनि थपिने क्रममा छ । जो संक्रमण बोकेर बसेका छन् उनीहरुको पीडा अरुले अनुभूत गर्नै सक्दैनन् भने जो सम्भावनाको नजिक छन् तिनीहरु भयग्रस्त छन् ।

महाविपद्बाट जनतालाई मुक्ति दिने काम सरकारको हो । सरकार इतिहासमै शक्तिशाली पनि छ, तर उसले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिने त टाडाको कुरा आश्वस्त पार्न पनि सकिरहेको छैन । सुरक्षाको बलियो घेराभित्र बसेका सरकारमा सामेलहरुले संक्रमण र त्यसपछिको भोगाईको परिणतिको सामना गर्नै परेको छैन । नागरिकले स्वास्थ्य सेवाको पहँुचमा पुग्नै नपाई मृत्युवरण गरिरहनु परेको सन्दर्भलाई नागरिक स्वयम्ले अनुभूत नगर्ने हो भने स्थिति अझै त्रासदीपूर्ण बन्ने निश्चित छ । सरकारको भरोसामा आफूले सावधानी नअपनाउने हो भने कसैको पनि जीवन सुरक्षित छैन भन्ने सत्यलाई आत्मसात गर्नैपर्छ । त्यसकारण पनि सुरक्षाको प्राथमिक उपायहरुको अवलम्बन नेपाली नागरिकको पहिलो जिम्मेवारी हो बिर्सनु हुँदैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारसम्ममा पीसीआर विधिबाट सात लाख पैंतालीस हजार चार सय नब्बे जनाको परीक्षण भएको जनाएको छ । परीक्षण गरिएका मध्ये चवालीस हजार दुई सय छत्तीस जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पुष्टि भएका मध्ये पच्चीस हजार पाँच सय एकसठ्ठी जनाले संक्रमणलाई जितेका छन् । अहिलेसम्मको तस्वीरले जनघनत्व बढी भएका ठाउँहरु र सावधानी नअपनाइएका क्षेत्रहरुमा संक्रमणको दर उच्च रहेको देखिएको छ । त्यसो त भाइरस परीक्षण गर्ने पद्धतिमै आशंका जन्माउनेहरु पनि उल्लेख्य देखिँदैछन् । तर, पनि बढ्दो मृत्युदर कोरोना सामान्य र नियमित जस्तै रहेको ‘फ्लू’ मात्रै होइन मान्नै पर्छ । देश मात्र होइन विश्वकै गति अवरुद्ध भएका बेला महामारीका सम्बन्धमा निरर्थक टिकाटिप्पणी र चर्चा गर्नुभन्दा यसबाट कसरी सुरक्षित रहिएला त्यसतर्फ सजग र गम्भीर हुनु बुद्धिमानी हुन्छ । काठमाडौं राजधानी साधन सम्पन्न भौगोलिक क्षेत्र हो । त्यहीं संक्रमणको दर उच्च छ, त्यहीं मृत्यु हुनेको संख्या समेत उच्च देखिएको छ । यस्तोमा सरकारको मुख ताकेर जीवन गुमाउनुभन्दा प्रतिरक्षाको बाटो रोज्नु जीवन रक्षाको पक्षमा हुन्छ । त्यसैले अरुका लागि होइन आफ्नै जीवनको रक्षाका लागि सचेत, सावधानी र इमान्दार बन्नुको विकल्प छैन । यसतर्फको गन्तव्यले मात्र विद्यमान संकटबाट सहजरुपमा जोगिन सकिन्छ, चेतना होस् ।


























