विद्यार्थीको घरसम्म शिक्षक पुग्न जरुरी

0
1022

पूर्णबहादुर कटुवाल,

विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोभिड–१९ का कारण शैक्षिक गतिविधि ठप्प भएको छ । अस्तव्यस्त बनेको छ । विगत पाँच महिनादेखि मुलुकभरको शैक्षिक गतिविधि बन्द छ । बालविकासका कक्षादेखि कक्षा १० सम्मको शैक्षिकसत्र बैशाकदेखि शुरु भएर पाठ्यक्रमले निर्दिष्ट गरेका विषयवस्तु अध्ययन अध्यापन गराइसक्नुपर्ने झण्डै आधा समय गुज्रिसकेको छ ।
यसले बालबालिकाको सिकाई र मनोविज्ञानमा नकारात्मक प्रभाव त पारेकै छ, यता सिङ्गो शैक्षिकसत्र नै खेर जान लागेकोप्रति विभिन्न क्षेत्रमा चासो र चिन्ता बढेको छ । यस्तो महामारीमा विद्यालय खुल्ने र परम्परागत शैक्षणिक क्रियाकलापलाई निरन्तरता दिन असम्भव छ । शैक्षिक वर्ष खेर जान नदिन के गर्न सकिन्छ भन्ने विषयमा विभिन्न सरोकारवालाबीच अनौपचारिक छलफल, बहस र निर्णय भए पनि कार्यान्वयन हुन नसक्दा यो अन्योल अझ लम्बिने सम्भावन प्रबल देखिन्छ । उपयुक्त निकास दिने शिक्षा मन्त्रालय, शिक्षा मन्त्रि र विज्ञबीच नै निर्णय र निकासको गाम्भिर्यता नभएको कारण आजसम्म आइपुग्दा मुलुकका लाखौं बालबालिकाको सिकाई प्रभावित भएको छ ।

राज्यको आधिकारिक उपल्लो जिम्मेवार निकाय नै विकल्प खोज्ने बहानामा थरि–थरिका विकल्प दिएर अल्मलिइरहेको छ । समय परिस्थिति अनुरुपको विकल्प निकाल्नुको साटो एकाएक इन्टरनेट र प्रविधिको प्रयोगबाट भर्चुअल कक्षा सञ्चालन गरी सिकाईलाई निरन्तरा दिने र शैक्षिकसत्र खेर जान नदिने भन्ने विषय पनि विकल्पको आधार बन्दै आएका छन् । पाँच महिना अघिसम्म इन्टरनेट र प्रविधिको माध्यमबाट कतै शिक्षण अभ्यास गरिए पनि ठूलो सामाचार शीर्षक बन्ने हाम्रो परिवेशमा अहिले कोभिड–१९ महामारीबाट आत्तिएको अवस्थामा तुरुन्तै यो प्रणालीको शिक्षण कति हदसम्म सम्भव हुन्छ भन्नेसम्म सम्बन्धित पक्षले बुझ्न सकेको छैन । अहिले कै अवस्थामा चार–पाँच महिनाको अवधिमा पठनपाठन बन्द हुँदा के हामी प्रविधिको उच्चतम् प्रयोग गरी भर्चुअल र अनलाइन मार्फत शिक्षण गर्न सक्षम छौं ? यो बुझ्न जरुरी छ ।

सुविधासम्पन्न ठाउँमाा बसेर छोटो समयमै गरिएको निर्णय हाम्रा लागि लज्जास्पद बन्न सक्छ । एक वर्षअघि नेपालका प्रधानमन्त्री उपचारको क्रममा विदेशमा रहँदा नेपालको मन्त्रिपरिषद्को भर्चुअल बैठक सञ्चालन गर्दा हाँसो उडाउने समाज हामीसँग जीवितै छ । एक वर्ष अघिसम्म भर्चुअल बैठक सुनेर हाँस्ने हाम्रो समाजमा यति छोटो समयमै त्यो पनि महामारीकाबीच मुलुकमा लाखौं विद्यार्थीलाई प्रविधिमार्फत शिक्षण गर्न कति सम्भव होला ? यसमा कति र कसरी यति छिटो प्रगति भयो ? के मुलुकको दूर दराजसम्म प्रविधिको अत्याधुनिक पहुँच पुगेको छ ? सबै नागरिक इनटरनेट, कम्प्युटर, ल्यापटप र एन्ड्रोइड मोबाइल फोनको पहुँचमा पुगेका छन् ? चार महिनाअघिसम्म चक र डस्टर बोकेर कक्षा कोठामा पुग्ने शिक्षक चार महिनापछि कम्प्युटरको अघि बसेर अनलाइन कक्षा सञ्चालन गर्न सक्षम भइसके ? अनलाइन कक्षाको चेतना सबै अभिभभावकमा छ ? लज्जास्पद तरिकाले शैक्षिकसत्र जोगाउने बाटोमा अघि बढ्न सकिनै अवस्था छैन । हुन सक्छ, अहिलेको तयारी आगामी वर्षको आधार बन्न सक्छ र बनाउनु पनि पर्छ । प्रविधिमैत्री पहुँच गाउँ–गाउँ, बस्ती–बस्ती र दूरदराज, कुनाकन्दरासम्म पुर्याउँनुपर्छ । हाम्रा भावी कर्णधार हाम्रा सन्ततीलाई आधुनिक प्रविधिमैत्री शिक्षण क्रियाकलापमा संलग्न गराई ग्लोवलाइजेसनको परिवेश सुहाउने शिक्षा दिनुपर्छ । यसका लागि आजको जस्तै सोच हिजैदेखि लागीदिएको भए अहिले मुलुकको शिक्षाको अवस्था यस्तो हुने थिएन । हिजै आधार बनेको थियो भने अहिले पछुताउनुपर्ने थिएन । तर, एउटा कुरा के ख्याल गरुँ भने ‘जब भयो राति अनि बुढी ताती’ भन्ने उखानलाई चरितार्थ हुने गरी अघि बढ्नु हुँदैन । तत्कालीन अवस्था, आवश्यकता भनेको कसरी शैक्षिक सत्र जोगाउने र बालबालिकाको सिकाईलाई कसरी निरन्तरता दिने भन्ने विषय नै मुल कुरा हो । ढिलो भइसक्यो ताकी हामी वैकल्पिक पद्धतिबाट विद्यार्थीबीच पुग्नै पर्छ ।

भर्चुअल–भर्चुअल भन्दै गीत गाउनुभन्दा पनि अब प्रविधिको प्रयोग सिकाइमाा अनिवार्य छ भन्ने सोचका साथ नीति–निर्माण गर्दै अहिले तत्कालको लागि आवश्यकता पूरा गर्न के गर्न सकिन्छ, त्यो अवलम्वन गर्ने हो । पछिल्लो समय शिक्षामन्त्रीबाट शैक्षिक वर्षलाई खेर जान नदिने विकल्प खाजि गरिने भन्ने अभिव्यक्ति आएको छ । हुन त यस्ता धारणा र अभिव्यक्ति अनौपचारिक रुपमा कैयौंपटक आएका छन् । ती सोच र धारण व्यवहारिक नभएर हो वा अन्य कुनै कारणले हो, राष्ट्रिय मुद्दा बन्न सकेनन् । बहस पनि चलाइएन । ठोस निर्णयमा सम्बन्धित पक्ष समयमै पुगी दिएको भए यति ठूलो क्षति व्यहोर्नुपर्ने थिएन । हुन त शिक्षामन्त्रीका पछिल्ला अभिव्यक्ति पनि कुनै अडानका नहुन पनि सक्छन् । पाठ्यक्रमलाई छोट्याएर संश्लेषित रुपमा तयार गर्ने, विद्यार्थीलाई घरमै बसेर पाठ्यपुस्तक अध्ययन गर्ने वातावरण मिलाउने, परियोजना कार्यमा सहभागी गराइने र शिक्षकको प्रत्यक्ष भूमिका रहने भन्ने विकल्प अहिलेको अवस्थामा उत्तम मान्न सकिन्छ । यसका लागि उपलब्ध भएसम्म स्रोत सामग्रीको रुपमा रेडियो, टेलिभिजन र इन्टरनेट पनि सहायक बन्न सक्छन् । प्रविधिकै माध्यमबाट मात्र भनियो भने चाहीँ वर्तमान परिस्थितिमा असम्भव नै हुनसक्छ । तसर्थ, सबैभन्दा उत्तम विकल्प भनेको शिक्षक र विद्यार्थीको प्रत्यक्ष संलग्नता वा भेट संकट टार्ने महत्वपूर्ण उपाय हुन सक्छ ।

यो विधिलाई शुरुदेखि नै निरन्तरता दिनु पथ्र्याे । शिक्षकलाई विद्यार्थीसम्म पुग्ने वातावरण मिलाइनु पथ्र्यो । यो हुन सकेन । एकोहोरो भर्चुअल कक्षा मात्र फलाकी रहने प्रवृत्ति बाधक बन्यो । शैक्षिकसत्रका धेरै दिनहरु खेर गए । तत्कालै मुलुकभर एकैपटक शैक्षिकसत्र शुरु गर्दा भर्चुअल कक्षाहरु असम्भव नै थिए । समयमै शिक्षकलाई विद्यार्थीसम्म पुग्ने बाध्यात्मक व्यवस्था मिलाइएको थियो भने सिकाइले कुनै–कुनै तवरले निरन्तरता पाउने थियो । यही समयको उपयोग गर्दै शिक्षकले अन्य वैकल्पिक माध्यमको प्रयोग गर्न सहज हुने थियो । अब ढिलो गर्नु हुँदैन । भविष्यको वारेमा कोशेढुंगा सावित हुने कार्यदिशा राज्यले निर्धारण गर्दै तत्काल शिक्षकलाई विद्यार्थीको घरसम्म पुग्ने वातावरण मिलाउनुपर्छ । शिक्षकहरु हरतरहले विद्यार्थीसम्म पुग्न तयार हुन्छन् । यो परिस्थितिजन्य अप्ठ्यारोलाई शिक्षक सामना गर्न पक्कै तयार हुनेछन् र परिणाम पनि सकारात्मक नै हुने छ । आफ्नो कर्तव्य पूरा गर्न शिक्षक सदैव सचेत छन् ।

प्रत्येक विद्यालय र शिक्षकले आ–आफ्नो सहजता अनुसार, भौगोलिक अवस्था र स्वास्थ्य अवस्था अनुुसारको तालिका बनाएर, आफूलाई सहज हुने माध्यम र तौरतरिका अपनाएर शिक्षक विद्यार्थीको घरसम्म पुग्न सम्भव हुन सक्छ सक्दैन व्यापक छलफल हुन जरुरी छ । यसको अन्तिम जिम्मा विद्यालय र व्यवस्थापन समितिलाई दिइनुपर्छ । वर्तमान असहज परिस्थितिमा माहामारीबाट जोगिएर, उच्च स्वास्थ्य सतर्कता अपनाउँदै विद्यार्थीसम्म शिक्षक पुग्ने वातावरण भयो भने शैक्षिकसत्र खेर जाँदैन । यो जिम्मेवारी शिक्षक र विद्यालयले पूरा गर्न सक्छन्÷गरिनु पनि पर्छ ।

कक्षाकोठामा नै विद्यार्थी उपस्थित गराउने वातावरण छैन । तर, विद्यार्थीको घरसम्म कुनै पनि माध्यमबाट पुग्ने हो भने सिकाईको निरन्तरता हुन्छ । यसबाट अभिभावकलाई समेत जिम्मेवार बनाउन सकिन्छ । कम्तिमा पनि हप्तामा एक÷दुई पटक विद्यार्थीसँग शिक्षकको भेट हुने र पाठ्यक्रम अनुसारको मार्ग निर्देशन हुने हो भने सिकाई क्षति त्यति धेरै नहुन सक्छ । विद्यार्थीको आत्मबल अभिवृद्धि र मनोविज्ञानमा समेत सकारात्मक प्रभाव पर्छ । तसर्थ, अब सम्वन्धित सरोकारवाला नअलमलिई विद्यार्थीको घरसम्म शिक्षकलाई पुग्ने वातावरण मिलाई शैक्षिक क्षति हुनबाट जोगाउन अपरिहार्य छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here