शिक्षक ब्युँझाउँदै नेल्टा

0
1007

लक्ष्मीपुर ।

नेपाल अंग्रेजी शिक्षक संघ (नेल्टा) पेशागत विकासको लागि काम गर्ने स्वयम्सेवी संस्था हो । यही मूल उद्देश्यका साथ गठन भएको झापा शाखाले आफ्नो स्थापनाको शुरुका दिनमा अंग्रेजी विषय शिक्षकहरुलाई विषयगत सीप र क्षमता अभिवृद्धि गर्ने तालिम आयोजना गर्दै आए पनि पछिल्ला दिनमा त्यही क्षेत्रमा मात्र सीमित भएन ।

यतिबेला नेल्टा कक्षा कोठाभित्रको परम्परागत शिक्षण सिकाई क्रियाकलापलाई विश्वमा विकास भइरहेको नवीनतम् सिकाइ प्रक्रिया, तौरतरिका र प्रविधिमूलक सीपले प्रतिस्थापन गर्न चाहान्छ । सिकारुको मनोविज्ञानलाई संकुचित घेराभित्र मात्र सीमित नराखी विश्वमा परिष्कृत ढंगले विकास भएका सिकाई सीपलाई प्रविधिको सहायताले कक्षाकोठामा भित्र्याउन उद्यत छ नेल्टा । बिद्यार्थीको घोकन्ते वानी र शिक्षकले सीमित पाठ्यपुस्तकभित्रको अल्प ज्ञानले सिकाईलाई सुधार गर्न सक्दैन ।

‘परम्परागत र भद्दा शैक्षणिक क्रियाकलाप सिकारु उत्प्रेरक हुनुको बदला पट्यारलाग्दो र अल्पज्ञानको वाहक मात्र हुने भएकोले शिक्षक र विद्यार्थीको धारणा, ज्ञान, र सीपलाई आधुनिक सिकाई पद्धतिले फराकिलो, मनोरञ्जनात्मक, कृयात्मक, प्रतिष्पर्धि र सहज बनाउँछ’– भन्ने मान्यत अनुरुप नै नेल्टा झापा पनि यस क्षेत्रमा प्रतिवद्ध भएर लागीपरेको शाखाका अध्यक्ष धर्मेन्द्र भट्टराई बताउँछन् । उनले भने– ‘पछिल्लो समयमा हामी सीमित विषयको घेराभन्दामाथि उठेका छौं, एउटा विषय भन्दा पनि कक्षाकोठाभित्र अध्यापन गराइने सवै विषयको मनोरञ्जनात्मक र सहज तरिकाले शिक्षण गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भएर सबैखाले शिक्षकलाई तालिम प्रदान गरिरहेका छौं ।’ नेल्टाको अभियानमा ढिलै भए पनि स्थानीय तहहरु सकारात्मक भइदिनु भएको छ, अझ आउँदा दिनमा उहाँहरु सवै सकारात्मक भइदिनु भयो भने शैक्षिक उन्नयनमा इँटा थप्न झापा नेल्टा इच्छुक रहेको समेत अध्यक्ष भट्टराईले बताए ।

अहिलेको विषम परिस्थिति, यति लामो लकडाउनको अवस्थाकाबीच नेल्टा झापा सुतेन । आफूसक्रिय भएर लकडाउनको वन्धनममा वाँधिएर निष्कृय रहेका करिव १२ सय झापाली शिक्षकलाई अनलाइनमार्फत तालिम दिएर व्युँझाएको छ । यस अवधिमा झापाको बिर्तामोड नगरपालिका, कनकाई नगरपालिका, झापा गाउँपालिका र बुद्धशान्ति गाउँपालिकाका सामुदायिक र संस्थागत विद्यालयका सवै तह र विषयका शिक्षकलाई तालिम प्रदान गर्यो । यस तालिममा विधि र प्रविधिका संयोजनबाट कक्षा कोठामा कसरी शिक्षण गर्न सकिन्छ भन्ने विषयवस्तुलाई मुख्य रुपमा उठाइएको थियो । तालिममा अधिकांश सहभागीहरु उत्साही रहेका थिए । कतिपयले तालिम यस्तो पनि हुँदोरहेछ भन्ने प्रतिक्रिया दिएका छन् । ‘प्रविधिमैत्री तालिमले शिक्षकलाई सिकाइमा सहज हुने र सिकारुले पनि मनोरञ्जनात्मक ढंगले छिटो स्वतःस्फूर्त तरिकाले सिक्न सक्ने उर्जा तालिमले दिएको’ एक सहभागी भृकुटी माध्यमिक बिद्यालय दुर्गापुरका शिक्षक अमृत सुव्वाले वताए ।

यस्तै तालिमका अधिकांश सहभागीले प्रविधिको पहुँच नभएका विद्यालयमा सम्वन्धित निकायले छिटोभन्दा छिटो प्रविधि व्यवस्थापन गरि प्रविधिमैत्री शिक्षणमा सहयोग गर्नु पर्ने धारणा व्यक्त गरेका छन् । नेल्टा झापाले यस अवधिममा पछिल्लोपटक कनकाई नगरपालिकाका तीन सयभन्दा बढी शिक्षकलाई यस्तो तालिम सञ्चालन गरेको थियो । तालिम समापनको अन्त्यमा आयोजित कार्यक्रममा कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलले अब नगरका हरेक विद्यालयको कक्षाकोठामा प्रविधिमैत्री शिक्षणको व्यवस्था मिलाइने प्रतिवद्धता प्रकट गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here