झापा ।

कोरोनाभाइरसको संक्रमण बढिरहेको बेला मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र साबुनपानीले हात धुने कार्य हाम्रो जीवनमा निकै बढेको छ ।
हामी धेरैले यो शारीरिक आवश्यकता झैँ दिनमा कयौँपटक गर्ने गर्छौँ । पछिल्लो छ महिनामा जसरी यिनीहरूको आवश्यकता यसअघि कहिल्यै खड्किएको थिएन । कोरोनाभाइरस विश्वव्यापी सङ्कटका रूपमा देखिएपछि मनतातो पानीमा कम्तीमा २० सेकेन्ड साबुन लगाएर हात धुने कुरा धेरै दोहो¥याइएको छ । विश्व स्वास्थ्य सङ्गठनले हात धुने ठीक तरिका भन्दै विभिन्न सामग्रीहरू तयार पनि पारेको थियो ।
किन २० सेकेन्ड ?
इथियोपियामा गरिएको एउटा अध्ययनको प्रारम्भिक नतिजामा अस्पताल पुग्ने एक हजार जनामध्ये एक प्रतिशतभन्दा कमले मात्र सही तरिकाले हात धुने देखाइएको छ ।
अमेरिकाको नर्थईस्टर्न युनिभर्सिटीका सहप्राध्यापक थोमस गिलभर्टका अनुसार कोरोनाभाइरसको रसायनिक संरचनालाई विथोल्न साबुन र तातो पानीले जस्तो अरू केही कुराले सक्दैन । यो भाइरसको आणुवंशिक पदार्थलाई घेर्ने एकखाले झिल्लीहरू हुन्छन् । तिनको संरचना चिल्लो हुन्छ– गिलभर्ट भन्छन् ।
यो त्यस्तो संरचना हो जसलाई साबुन र पानीले कमजोर पार्छ । साबुनपानीले हात राम्री धुने गर्दा भाइरसको आणुवंशिक संरचना अर्थात् आरएनए मर्न जान्छ र यो मानिसमा विकास हुन सक्दैन ।
गिलभर्टको भनाइ छ– हात धुने समय घटाउने बाहेक मैले यसबारे केही गुनासो सुनेको छैन । बीस सेकेन्ड भनेको हातमा साबुन दल्न र मिच्नका लागि हो । यो समय साबुन र भाइरसको झिल्लीबीच रसायनियक अन्तरक्रिया हुने पर्याप्त समय समेत हो । तातो पानीले यो प्रकियालाई केही छिटो बनाइदिन्छ ।
‘साबुन अत्यावश्यक’
ब्रिटेनको यूनिभर्सिटी अफ केन्टकका प्राध्यापक मार्टिन मिकएलिसले पानी एक्लैले भने भाइरसलाई निस्तेज पार्न नसक्ने बताउँछन् ।
उनले भने– खाना पकाउँदा जसरी हातमा तेल लागेमा पानीले मात्र धुँदा जाँदैन र साबुन लगाउनुपर्छ, कोरोनाभाइरसको हकमा समेत त्यस्तै हो । स्यानिटाइजरहरूको व्यापक प्रयोगले हात धुने कामको प्रभावकारिता भने केही छायामा परेको छ ।
गिलबर्ट भन्छन्– तपाईँ दिनभर घरमै हुनुहुन्छ र आसपासमा मानिसहरूको आउजाउ छैन भने चर्पी गएपछि वा खान पकाउनुअघि बाहेक अन्य समयमा हात धोइरहनु आवश्यक पर्दैन । स्यानिटाइजरको आवश्यकता साबुनपानी उपलब्ध नहुने ठाउँका लागि मात्र हो । त्यसो भए हामीले कति समयको अन्तरालमा हात धुने गर्नुपर्छ ?
महामारीको सुरुतिर धेरैजसो मानिसहरू घरभित्रै भएपनि यूके सरकारका वैज्ञानिकहरूको सुझाव प्रत्येक केही घण्टामा हात धुनु भन्ने थियो । कोभिड–१९ का बिरामीको रेखदेखमा बस्नेहरू भने छिटै हात धुन खोज्नसक्छन् । त्यसैले निश्चित समयको फरकमा हात धुने भन्दा पनि अवस्था हेरेर हात धुने अन्तराल निर्धारण गर्नुपर्छ ।
ह्याण्डवास कि साबुनपानी ?
सामान्यतः साबुनका तुलनामा ह्याण्डवासहरू सजिलो र कम झञ्झटिलो हुने भन्दै मानिसहरूको आकर्षण त्यसतर्फ हुने गरे पनि त्यो सही नभएको प्राध्यापक मिकएलिस बताउँछन् । उनी भन्छन्– त्यस्ता एन्टीभाइरल ह्याण्डवासको धेरै प्रयोगले हामीमा भविष्यमा समस्या समेत देखिने जोखिम हुन्छ ।
गिलभर्ट र मिकएलिस दुवैले कोरोनाभाइरससँग जुझ्नका लागि हात धुन चाहिने पानी पिउने गुणस्तरकै हुनुपर्छ भन्ने नरहेकोमा एकमत छन् । मिकएलिस भन्छन्– पिउन नसकिने पानीमा समेत तपाईँ पौडी खेल्नुहुन्छ किनकि तपाईँको शरीरको छालामा प्रतिरोधी क्षमता छ । हालै विश्व स्वास्थ्य सङ्गठनले जनाए अनुसार विश्वमा महामारी सुरु हुनुअघि प्रत्येक पाँचमध्ये दुई स्कुलमा मात्र पर्याप्त हात धुने सुविधा उपलब्ध थियो । वीवीसी






























