कोरोना : झापामा एक महिलाको मृत्यु,३२ जनामा संक्रमण पुष्टि

0
800

झापा, कोरोना भाइरसको संक्रमणका कारण झापामा थप एक जना महिलाको मृत्यु भएको छ । झापामा आइतबार मात्रै ३२ जनामा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।


कोरोना भाइसरको संक्रमणका कारण कनकाई नगरपालिका–३ निवासी ४५ वर्षीया महिलाको मृत्यु भएको हो । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा आइतबार मृत्यु भएको बताइएको छ । गत भदौ १८ गते स्वास्थ्यमा समस्या देखिएपछि उनलाई धरान लगिएको थियो ।

उनी उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित भएको बताइएको छ । मृतक महिलालाई दुई दिनदेखि ज्वरो, श्वास प्रश्वासमा कठिन हुनका साथै निमोनिया समेत देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । यसअघि कमल गाउँपालिका निवासी एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । त्यस्तै दमकका एक पुरुषको काठमाडौंमा कोरोनाकै कारण मृत्यु भएको थियो । हालसम्म तीन जना झापालीको मृत्यु भएको बताइएको छ ।

आइतबार कोरोना पुष्टि हुनेमा बिर्तामोड नगरपालिकाका १३ महिलासहित दुई पुरुष गरेर १५ जना रहेका छन् । जसमध्ये १२ स्वास्थ्यकर्मी र तीन जना स्थानीय रहेको बताइएको छ । बिर्तामोडको बीएण्डसी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीसहित १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा चिकित्सक, नर्स र बिरामीहरु रहेको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए । आइसोलेसन र क्वारेन्टिनमा बसेकाहरुमा संक्रमण देखिएको गिरीको भनाइ छ । पीसीआर टेष्ट गरे लगत्तै उनीहरुलाई छुट्टै सुरक्षित रुपमा राखिएकाले अहिले नै डराउनु पर्ने अवस्था नरहेको र संक्रमित सबैको अवस्था सामान्य रहेको गिरीले बताए ।

उता मेचीनगर नगरपालिकामा आइतबार एकजना चिकित्सकसहित ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनीहरु नगरपालिकाको ६ र ७ नम्बर वडाका बासिन्दा हुन् । संक्रमण पुष्टि हुनेमा दुई जना सुरक्षाकर्मीसमेत रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

शाखा संयोजक शशिकला राईका अनुसार संक्रमित हुनेमा मेचीनगर–६ काँकरभिट्टाकी २३ वर्षीया एक महिला हुन् । उनी पेशाले चिकित्सक रहेको बताइएको छ । यसअघि मेचीनगर–१० धुलावारीमा रहेको आम्दा मेची अस्पतालमा कार्यरत एक चिकित्सकमा कोरोना पुष्टि भएको थियो । उनी निको भएर काममा फर्केको शाखाले जनाएको छ । यसैगरी १८ वर्षीया एकमहिला, ३४ वर्षीय, ३८ वर्षीय र २५ वर्षका पुरुष रहेका छन् । ३४ वर्षीय र ३८ वर्षीय पुरुष सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट काँकरभिट्टामा कार्यरत सशस्त्र प्रहरी हुन् भने वडानम्बर ७का २५ वर्षका पुरुष होम क्वारेन्टाइनमा रहेका थिए । यसअघि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट काँकरभिट्टामा कार्यरत ३२ जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि भए पनि सवै निको भएर काममा आएका छन् ।

गएको १७ गते काँकरभिट्टाको सामुदायिक भवन होल्डिङ सेन्टरबाट नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीको टोलीले पीसीआर परीक्षणका लागि ३७ जनाको थ्रोड स्वाब नमूना संकलन गरी वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको माइक्रो बायोलोजी विभागमा पठाएको थियो । ३७ मध्ये ५ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको राईले बताइन् । उनीहरुलाई अब आइसोलेसन सेन्टरमा राखिने तयारी छ ।

सोही दिन जिल्ला स्वास्थ्य कार्यालय झापाको टोलीले काँकरभिट्टा माध्यमिक विद्यालयको खेलमैदानको होल्डिङ्ग सेन्टरमा रहेका १६ जनाको पीसीआर परीक्षणका लागि थ्रोड स्वाब नमूना संकलन गरे पनि नतिजा आउन बाँकी छ ।

त्यस्तै कमल गाउँपालिकाका ११ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये तीन महिला र आठ जना पुरुष रहेका छन् । कनकाई नगरपालिकाका एक पुरुषमा समेत कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन जीवन चम्लागाँईले जानकारी दिए । झापाका चार सय ८१ जनाले कोरोना जितेर घर फर्किएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here