इजरायलमा रहेकी ताराले गरिन् घाइते श्रेष्ठलाई आर्थिक सहयोग

0
864

तुलसीप्रसाद निरौला, विर्तामोड ।

सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका झापा बिर्तामोड –३ का खेमराज श्रेष्ठलाई वैदेशिक रोजगारको सिलसिलामा इजरायलमा कार्यरत बिर्तामोड –२ निवासी तारा चुडाल सेढाईंले आर्थिक सहयोग गरेकी छिन् ।

दुई बर्ष अघि झापाबाट काठमाडौं गइरहेको मातृभाग्यरेखाको वस मुग्लिङमा दुर्घटना हुँदा उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका उक्त वसका चालक श्रेष्ठ आर्थिक अभाव कै कारण ओछ्यानमा थलिएको थाह पाएर वैदेशिक रोजगारको सिलसिलामा इजरायलमा कार्यरत ताराले श्रीमान् दिपक सेढाईंमार्फत श्रेष्ठलाई १५ हजार रुपैयाँ सहयोग गरेकी हुन् ।

सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका वसचालक श्रेष्ठ आर्थिक अभाव कै कारण उपचार गर्न नसकेर ओछ्यानमा थलिएको थाह पाएर घाइते श्रेष्ठलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्व सम्झेर आफूले सहयोग गरेको इजरायलमा रहेकी ताराले बताइन् ।

उक्त रकम ताराका श्रीमान् दिपकले वसचालक श्रेष्ठकी आमा यमकुमारी श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । रकम ग्रहण गर्दै यमकुमारीले छोराको उपचारमा सहयोग गरेकोमा सेढाईंलाई धन्यवाद दिँदै छोराको उपचारमा सहयोग गर्न सवैलाई आग्रह गरिन् ।

सामाजिक कार्यमा सक्रिय इजरायलमा रहेकी ताराले यसअघि कोरोना भाइरसको संक्रमणवाट वच्न सरकारले जारी गरेको लकडाउनमा भोकभोकै बस्ने अवस्थामा पुगेका झापा गाउँपालिका वडा नं ४ टाघनडुव्वामा रहेका विपन्न, अपाङ्ग, असहाय, दैनिक ज्यालादारी गर्ने मजदुरको परिवारलाई १९ बोरा चामल प्रदान गरेको उनका श्रीमान् दिपक सेढाईंले जानकारी दिए । त्यस्तै टाघनडुव्वाका विपन्न, अपाङ्ग, असहाय, दैनिक ज्यालादारी गर्ने मजदुरको परिवारलाई इजरायलमा रहेकी ताराले जाडोमा न्यानो कपडा प्रदान गरेको उनले जानकारी दिए ।

झापाबाट काठमाडौं गइरहेको मातृभाग्यरेखाको वस मुग्लिङमा दुर्घटना हुँदा उक्त दुर्घटनामा परी बसचालक श्रेष्ठको गर्धनको हड्डी भाँचिएको र उपचारपछि गर्धनको हड्डी ठीक भएपनि हाल शरीरको कम्मरमुनीको भाग र हातखुट्टाका अम्लाहरु पनि चल्न छोडेको बसचालक श्रेष्ठका बुबा भक्तशेर श्रेष्ठले बताए । अहिले उनको शरीरमा विभिन्न किसिमका घाउ निस्किएर त्यसले दुःख दिएको भक्तशेरले बताए ।

बसचालक श्रेष्ठको उपचारका लागि हालसम्म १५ लाखभन्दा वढी रकम सकिएको बताउँदै भक्तशेरले बस कम्पनि र बीमाले केही रकम दिएपनि अरु रकम साथीभाइ र साहुसंग ऋण काढेर छोराको उपचार गर्दै आएको उनले वताए ।
छोराको उपचार गर्दागर्दै भएको सम्पति समेत सकिएको र अहिले स्थानीय भरत खड्काको जग्गा भाडामा लिएर घर वनाएर वसेको बताउँदै उनले छोराको उपचारमा सहयोग गर्न सवैलाई आग्रह गरे ।

वसचालक श्रेष्ठका एक जना छोरा युनिस श्रेष्ठ रहेको र उनी मनकामना सेकेण्डरी स्कूल बिर्तामोडमा कक्षा ८ मा अध्ययनरत् रहेका छन् । भक्तशेरलाई एकातिर घाइते छोराको उपचार कसरी गर्नु भन्ने चिन्ताले सताएको छ भने अर्कातिर नाती युनीसको पढाई खर्च कसरी जुटाउने भन्ने चिन्ताले सताएको छ ।

वुढेशकालको सहारा बनेको छोराले आफूहरुलाई पाल्नुपर्ने बेलामा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएर आर्थिक अभाव कै कारण उपचार गर्न नसकेर ओछ्यानमा थलिएका कारण छोराको उपचारमा सहयोग गर्न सवैको साथ चाहिएको उनले बताए । उनले भने – मेरो छोराको जीवन तपाईंहरुको हातमा छ । तपाईंहरुले गरेको सानो सहयोगले मेरो छोराको जीवन वाँच्छ ।

उनले छोराको उपचारमा सहयोग गर्न चाहनेले एनसीसी वैंक विर्तामोड शाखामा रहेको भक्तशेर श्रेष्ठको नाममा रहेको खाता नं.०१५००००६७९११० मा रकम जम्मा गरिदिनु हुन वा मोवाइल नं. ९८१५००४२५० मा सम्पर्क गर्नुहुन सवैसंग आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here