चरम आर्थिक संकटमा पुस्तक तथा स्टेशनरी व्यवसायी

२३ भाद्र २०७७, मंगलवार मा प्रकाशित

पूर्णवहादुर कटुवाल /लक्ष्मीपुर ।

लामो समयको लकडाउनका कारण शिक्षण संस्था बन्द हुँदा पुस्तक तथा स्टेशनरी व्यवसायी मारमा परेका छन् । समयमै पाठ्यपुस्तक तथा स्टेशनरीका सामान विक्री हुन नसक्दा पुस्तक प्रकाशक, डिलर तथा बिक्रेता, कागज तथा स्टेशनरीका सामग्री उत्पादक, बितरक तथा विक्रेता नै आर्थिक संकटमा परेका हुन् ।

नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ, नेपालका केन्द्रीय सदस्य तथा युनाइटेड पेपर प्रालि विराटनगरका सञ्चालक गंगाबहादुर अधिकारी भन्छन्–‘उद्योग तथा डिलरहरुले स्टेशनरी, शैक्षिक सामग्री तथा मसलन्दका सामग्री विक्रेताकोमा सामान्यतः फागुनको अन्तिम सातादेखि चैत मसान्तभित्रमा ढुवानी गर्ने प्रचलन छ । यसरी माग अनुसारको ढुवानी आधामात्र हुँदाहँुदै लकडाउन शुरु भयो । व्यापारीकोमा पुगेको ७५ प्रतिशत सामग्री विक्री नभएको अवस्था छ भने उद्योग र डिलरमा तयारी सामान गोदाममा थन्किएको छ । यसले बितरक र विक्रेतादेखि उद्योगीसम्ममा भुक्तानी शून्य भएको छ । यसको मार सवैलाई पर्यो उत्पादकलाई भुक्तानी दिने अवस्था छैन भने वैंकिङ्ग कारोवारमा पनि असर परेको छ ।’

यता झापामा सञ्चालन भएका करिव पाँचसय पुस्तक तथा स्टेशनरी पसलहरु कोभिड–१९का कारण चैतको दोस्रो सातादेखि शुरु भएको लकडाउनले मारमा परेका छन् । शैक्षिक सत्र शुरु हुने समय र क्याम्पसस्तरका परीक्षाहरु हुने समय बैशाखदेखि भदौ, असोजसम्म हो । वर्षभरीमा पुस्तक तथा स्टेशनरी व्यवसायीको सञ्चालन हुने समय लकडाउन भइ शिक्षण संस्था बन्द भएका कारण पुस्तक तथा स्टेशनरी व्यवसाय ठप्प भएका छन् ।

शैक्षिक सत्र शुरु हुने आशामा वैशाखदेखि असारसम्म वसेका पुस्तक तथा स्टेशनरी व्यवसायीे यसवर्ष निजी प्रकाशनका पाठ्यपुस्तक बिक्री गर्न नपाउँदा वैंक व्याज तिर्नेदेखि घरभाडा तिर्न र पारिवारिक दैनिकी चलाउन समेत संकट परेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, झापाका अध्यक्ष देशवन्धु ढुंगेल वताउँछन् । उनी भन्छन्– ‘निजी प्रकाशनका पाठ्यपुस्तक वितरण गर्ने डिलरले समयमै पाठ्यसामग्री उपलव्ध गराएपनि बिद्यार्थी तथा अभिभावकले पुस्तक नकिन्दा पसल–पसलमा गएर पुस्तक भण्डारण भएर बसेका छन् । अहिलेसम्म पाँचदेखि १५ प्रतिशत मात्र पुस्तक विक्री भएको छ भने अन्य स्टेशनरी तथा शैक्षिक सामग्रीको विक्री शून्य रहेको छ । यसले वैंक व्याज, घरभाडा तिर्न समस्या परेको छ भने व्यवसायीको दैनिकी नै चौपट भएको छ ।’

लकडाउनको समयमा खाद्यान्न, निर्माणसंग सम्वन्धित वस्तु तथा औषधि व्यवसाय राम्ररी नै सञ्चालन भए पनि पुस्तक तथा स्टेशनरी व्यवसाय, यातायात क्षेत्र, शिक्षण संस्था नराम्ररी प्रभावित बनेका छन् । अधिकांश साना ठूला व्यवसायीले वैंक कर्जा लिएर व्यवसाय गर्ने गरेका छन् । गत आर्थिक वर्षको अन्त्यको तेस्रो र चौथौ त्रैमासिकको वैंक सावा व्याज जेनतेन तिरे पनि यस आर्थिक वर्षको यस्तो कारोवार ठप्प हुने अवस्थामा पुगेको व्यवसायीहरुले गुनासो गरेका छन् ।

लामो समयको लकडाउन र असार पछि पनि स्थानीयस्तरमा गरिएका लकडाउन र निषेधाज्ञाले बजार सहज रुपमा सञ्चालन हुने निश्चित छैन । वजार सामान्य रुपमा खुले पनि शिक्षण संस्था बन्द हँुदा र सरकारी कार्यालय, सामाजिक तथा वित्तीय संघ–संस्था पनि कछुवाको गतिमा सञ्चालन भएका कारण स्टेशनरी सामग्री सहज परिस्थिति जस्तो खपत हुने सकेको छैन । स्टेशनरी व्यवसायीले कुनै थप सामग्री खरिद गर्नु परे कम्पनी वा उद्योगबाट मगाएर विक्री गर्न पनि आर्थिक अभावकै कारणले सकिरहेका छैनन् । त्यस्तै आयातित कागजबाट कागजजन्य सामग्री उत्पादन गर्ने बिराटनगर र विरगञ्जका ठूला उद्योगले पनि तयारी सामग्री पहिला नै बजारमा गएको र त्यहाँ पनि जाम भएर बसेकोले त्यसको भुक्तानी समेत पाउन नसकेकाले पछिल्लो उत्पादन पनि प्रभावित भएको छ । उता निजी क्षेत्रका प्रकाशन तथा स्टेशनरी सामग्री उत्पादक तथा आयातकर्ताको पनि यही हविगत भएको बताइन्छ ।

पुस्तक तथा स्टेशनरी व्यवसायीको व्यापार हुने मुख्य याम भनेको चैतको अन्तिम सातादेखि जेठ मसान्तसम्म हो । यस समयमा संस्थागत विद्यालयका पाठ्यपुस्तक र स्टेशनरीका सामग्री आपूर्ति गर्ने गरिन्छ । त्यसपछि असारको अन्तिम सातादेखि साउनको पहिलो सातासम्म आर्थिक वर्षको क्लोजिङ र शुरुआत हुने भएकोले स्टेशनरी व्यवसाय राम्ररी सञ्चालन हुन्छन् । साउन दोस्रो सातादेखि असोजसम्म माध्यमिक तहको कक्षा ११÷१२को पठनपाठन शुरु हुने र व्याचलर्सदेखि मास्टर्स डिग्रीसम्मको परीक्षा सञ्चालन हुने समय भएका कारण निजी प्रकाशनका पुस्तक तथा पाठ्यसामग्री र स्टेशनरीको व्यापार हुने गर्छ । दशैंदेखि फागुनसम्म पुस्तक तथा स्टेशनरी व्यवसाय सामान्य रुपमा मात्र सञ्चालन हुने भएकोले व्यवसायीले व्यवहार र जीवनयापनका सवै प्रवन्ध चैतदेखि असोजसम्मको व्यापारमा निर्भर रहन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here