समस्यामा सबैले सम्झने कालीदास

२३ भाद्र २०७७, मंगलवार मा प्रकाशित

समाज सुधारका लागि एक व्यक्ति पनि काफी हुन्छ भन्ने भनाई नै छ । जहाँ इच्छा त्यहाँ उपाय भने झैं हरेक समस्या पर्ने ठाउँमा पुग्ने ब्यक्ति हुन्– कालिदास रेग्मी ।

युवा जोश र जाँगरका साथ देशको सेवा गर्ने उद्देश्यले १९ वर्षको उमेरबाट नेपाल प्रहरीमा जागिर शुरु गरेका कालीदास रेग्मी बुधबारबाट सेवानिवृत्त हुँदैछन् । खोटाङको माक्पा–३ मा बुबा भवानीप्रसाद र आमा कृष्णकुमारी रेग्मीको सन्तानको रुपमा २०२८ साल फागुन ११ गते जन्मिएका कालीदासले २०४६ सालमा एसएलसी उत्तीर्ण गरेका थिए । एसएलसीसम्मको अध्ययनसँगै देशको सेवा गर्ने उद्देश्यले २०४७ सालमा चितवनको भरतपुरस्थित तालिम केन्द्रमा नेपाल प्रहरीका लागि आवेदन दिए । त्यसपछि उनले सरकारी जागिर शुरु गरेका कालीदासको पहिलो दरबन्दी सुदूरपश्चिमको बैतडी जिल्लास्थित हल्दुविनाय पोष्टमा शुरु भयो । प्रहरी जवानबाट राष्ट्रसेवकको जागिर शुरु गरेका कालीदास प्रहरी नायब निरीक्षकको रुपमा सेवा निवृत्त हुँदैछन् ।

उनले जागिरे जीवनलाई सुदूरपश्चिमबाट शुरुवात गर्दै देशको सेवामा अगाडि बढ्यो । सोहीक्रममा उनले बैतडीकै विभिन्न प्रहरी चौकी, डडेल्धुरा, बझाङ, सिराहा, सुनसरी, सोलुखुम्बू, खोटाङ, झापा, ताप्लेजुङ, तनहुँ, पोखरा, लहान, मोरङ, इलाम, धनकुटा, धादिङ, चितवन, बाराको पतलैया हुँदै २०६८ साल साउन १ गतेबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा आएर राष्ट्रसेवामा खटिरहेका छन् । सुदूरपश्चिमबाट जागिरे जीवन शुरु गरेको कालीदासले ३० वर्षे कार्यकाल पूरा गर्दै सुदूरपूर्वको काँकरभिट्टाबाट बुधबारबाट सेवानिवृत्त हुँदैछन् । झापामा रहँदा ट्राफिक व्यवस्थापनमा सधैँ व्यस्त रहने कालीदासलाई नचिन्ने कमै होलान् । जिल्ला ट्राफिक प्रहरी कार्यालय भन्ने बित्तिकै सबैले सम्झिने नाम हो– कालीदास रेग्मी ।

ट्राफिक जाम, दुर्घटना, सवारी हराएमा, सम्पूर्ण संयन्त्र प्रयोग गरेर खोजतलासमा तदारुकता देखाएका कालीदासले नेतृत्व गरेका क्षेत्रमा सफलता प्राप्त गर्ने गरेका छन् । इलाम र धनकुटाको ट्राफिक प्रहरी प्रमुखको अनुभव समेत सम्हाली सकेका कालीदास झापामा सबैसँग मिलनसार व्यक्तिका रुपमा परिचित छन् । प्रदेश १ मा ट्राफिक डमीको अवधारणा शुरु गरेको कालीदासको कामको सबैले प्रशंसा गरेका थिए ।

‘नो हेल्मेट, नो पेट्रोल’ अभियान काँकरभिट्टा क्षेत्रमा प्रभावकारी रुपमा अगाडि बढाएका कालीदासले बिर्तामोडस्थित मुक्तिचोक क्षेत्रमा ट्राफिक व्यवस्थापनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । बिर्तामोडको फुटपाथ व्यवस्थापन, टेम्पो तथा रिक्साको व्यवस्थापन, प्रत्येक शनिबार सरसफाई तथा रक्तदानका साथै सामाजिक काममा समेत ट्राफिक प्रहरीलाई अग्रसर गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेका कालीदास बुधबारबाट भने सेवानिवृत्त हुँदैछन् ।

समस्या परेका सबैसँग सरलरुपमा प्रस्तुत हुने कालीदासले रेडियो मार्फत पनि चालक तथा आम सर्वसाधारणमा सचेतना फैलाउन सकिने उद्देश्यका साथ धनकुटा, झापा लगायतका स्थानमा ट्राफिक सम्बन्धी सचेतनामूलक कार्यक्रम चलाएका थिए । आफ्नो जिम्मेवारी कुशलताका साथ सम्पन्न गर्ने गरेका कालीदास धेरै क्षेत्रमा सफल प्रहरीको रुपमा पुरस्कृत समेत भएका छन् । २०५५ साल असार १७ गते जिल्ला प्रहरी कार्यालय सोलुखुम्बूबाट एक ग्रेड थप भए ।

त्यस्तै २०५९ साल मंसीर ५ गते जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट नगद तीन सय रुपैयाँले पुरस्कृत भए । त्यस्तै जिल्ला प्रहरी कार्यालय सिरहाबाट २०६२ साल जेठ २४ गते नगद सात सय, जिल्ल प्रहरी कार्यालय धनकुटामा २०६५ असार १९ गते नगद चार सय, मध्यमाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पतलैयाबाट २०६७ असार १३ गते नगद चार सय मध्यमाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पतलैयाबाटै २०६८ असार १२ गते नगद चार सय र जिल्ला प्रहरी कार्यालय झापाबाट २०७६ असोज १७ गते नगद एक हजार दुई सय रुपैयाँबाट उनी पुरस्कृत समेत भएका छन् ।

प्रहरी कार्यालयमा रहँदा आफ्नो जिम्मेवारीलाई गहन ढंगबाट सम्पादन गरेको भन्दै उनलाई पुरस्कृत र सम्मानित गरिएको हो । नागरिक स्तरमा समेत सरल रुपमा चिनिएका कालीदासले झापामा रहँदा गरेको कामलाई प्रशंसनीय रुपमा लिन सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक प्रकाश जबेगूले बताए ।

प्रहरी सेवामा रहेकै अवस्थामा उनले लक्ष्मी रेग्मीसँग लगनगाँठो कसेका थिए । तीन छोरी र एक छोराका बुबा कालिदास हाल सुनसरीको बराहक्षेत्र–५ मा स्थायीरुपमा बसोबास गर्दै आएका छन् । झापामा रहँदा आफूले अत्यन्त सहयोग र साथ प्राप्त गरेको भन्दै सेवानिवृत्त भए पनि झापालीसँग आफ्नो पारिवारिक सम्बन्ध रहिरहने बताए ।

प्रस्तुति : नरेन्द्र ढकाल

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here