गायिका एवं कलाकार शितल शर्माद्धारा ढोरपाटन बाढीपीडितका लागि सहयोग जुटाउँदै

२३ भाद्र २०७७, मंगलवार मा प्रकाशित

काठमाडौं ।

गायिका एवं कलाकार शितल शर्माले बाग्लुङको ढोरपाटन बाढीपीडितका लागि सहयोग गर्न आर्थिक सहायता जुटाउँदै छिन् । कलाकार शर्माले स्वदेश तथा विदेशमा रहनुभएका नेपालीहरुलाई सहयोग गर्न आग्रह समेत गरेकी छिन् ।

गत भदौ १७ गते बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ९ स्थित भुजी खोलामा आएको बाढीले कयौं व्यक्तिहरुका घरबार बगाएको थियो भने बाढीका कारण १७ जना व्यक्तिहरुको मृत्यु भएको थियो । उक्त बाढीका कारण अझै २२ जना व्यक्तिहरु बेपत्ता भएको बताईएको छ । बाढीले भुजी खोलाका तटिय क्षेत्रका ३१ भन्दा बढी घर पूर्ण रुपमा ध्वस्त भएका छन् भने करिब ४० भन्दा बढी घरमा क्षति भएको छ ।

बाढी पहिरोका कारण आफन्त गुमाएका र घरबारविहीन भएका परिवारलाई सहयोग गर्न गायिका शर्माले सहयोग अभियान चलाएकी हुन् । ‘बाढी पहिरो आएर ढोरपाटन नगरपालिका वडा नं. ९ मा कयौं व्यक्तिहरु बेपत्ता भएका र घर समेत बगाएको समाचार सुन्ने बित्तिकै मेरो मनमा सहयोगको भावना आईहाल्यो ।’ गायिका शर्माले भनिन, ‘बाढी पीडितका लागि थोरै भएपनि सहयोग गर्न पाए हुन्थ्यो भन्ने लाग्यो र मैले देश विदेशमा रहनुभएका नेपालीहरुलाई सहयोगको आग्रह गरें ।’

‘मलाई धेरै व्यक्तिहरुले सहयोग गरिरहनुभएको छ ।’ उनले जोड दिंदै भनिन्, ‘सहयोग गर्छु भनेर अरु व्यक्तिहरुबाट फोन, म्यासेज आईरहेको छ । सहयोग गर्ने व्यक्तिहरुको बारेमा मैले फेसबुक मार्फत उहाँहरुको नाम सार्वजनिक गरेकी छु ।’ यस किसिमको सहयोग मानवताको नाताले पनि गर्नुपर्ने उनको तर्क छ ।

गायिका शर्माले आर्थिक सहयोग संकलन गर्ने क्रम जारी रहेको बताईन् । केही दिनपछि बाढीपहिरो आएको ठाउँमा गई पीडितहरुलाई प्रत्यक्ष सहयोग गर्ने उनले बताईन् । गायिका शर्माले अहिलेसम्म डेढ लाख रुपैयाँ उठिसकेको र अझै सहयोग आउने क्रम जारी रहेको जानकारी दिईन् । बाढी पीडितको घाउमा मल्हम लगाउने उद्देश्यले सहयोग अभियान सुरु गरेको उनको भनाई छ ।

बाढीपीडितहरुलाई सहयोग गर्ने सबै मनकारी व्यक्तिहरुलाई उनले धन्यवाद दिंदै भनिन्, ‘मान्छेलाई दुःख पर्दा सबैले सहयोग गर्ने हो । यदि कसैको ईच्छा भए सहयोग गर्न अपिल गर्दछु ।’

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here