संकट गहिरिँदैछ

२४ भाद्र २०७७, बुधबार १२:०५ मा प्रकाशित
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

सम्पादकीय

Advertisement

नेपालमा पहिचान भएको आठ महिनामा कोरोना भाइरसले महाविपतको रुप लिएको छ । त्यसलाई रोकथाम गर्न, नियन्त्रण र उपचारका लागि सरकारका तर्फबाट भएका प्रयासहरु प्रभावकारी हुन सकिरहेको छैन । अन्तर्राष्ट्रिय प्रचलन अनुसार सरकारले बन्दाबन्दी, नाकाबन्दी, सिलबन्दी, निषेधाज्ञा लगायतका विधिको अबलम्वन ग¥यो । तर, ठीक ढंगले व्यवस्थापन गर्न नसक्दा संक्रमणको जोखिम मात्र बढेन त्यसका कारण मृत्युवरण गर्नेहरुको संख्या समेत उच्च हुन थाल्यो । सरकारले रोकथामका लागि भन्दै विश्व स्वास्थ्य संगठनद्वारा निर्देशित जनस्वास्थ्य सुरक्षाका मापदण्ड पनि लागू ग¥यो । साबुन पानीले हात धुने, सेनिटाइजर लगाउने, भौतिक दूरी कायम गर्ने र मास्क अनिवार्य प्रयोग गर्नुपर्ने जस्ता स्वास्थ्य सतर्कता र सचेतनाले पनि भाइरस विस्तारको क्रमलाई रोक्न सकेन । फलस्वरुप महामारी नियन्त्रणमा पूर्णतः असफल भएको भन्दै सरकारको आलोचना हुन थाल्यो । जनघनत्व उच्च रहेका बस्तीहरु, बजार र शहरहरु भाइरसको विस्तारक भइरहे ।

भाइरस संक्रमणबाट कुनै प्रदेश मुक्त छैनन् । दिनहुँ संक्रमितहरुको संख्या बढ्ने क्रममा छ । यसै मेसोमा सोमबार एकैदिन प्रदेश नम्बर १ मा सर्वाधिक संक्रमित पुष्टि भयो । एकैदिन यस प्रदेशमा एक सय पचपन्न जना संक्रमित थपिए । संक्रमितहरु मोरङमा सबैभन्दा बढी सतसठ्ठी जना सुनसरीमा छैसठ्ठी, झापामा पन्ध्र, पाँचथरमा छ जना र उदयपुरमा एकजना रहेका छन् । यसरी एक नम्बर प्रदेशमा संक्रमितहरुको संख्या चार हजार एक सय सतहत्तर पुगेको छ भने यसकै कारण मृत्यु हुनेको संख्या त्रिचालीस पुगेको छ । संक्रमितमध्ये एक हजार आठ सय छ्यानब्बे संक्रमणमुक्त भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । चीनको हुवे प्रान्तको बुहानबाट गत वर्षको डिसेम्बरको अन्त्यदेखि शुरु भएको कोरोना भाइरसको संक्रमणले विश्वलाई आफ्नो चपेटामा लिएको छ । यसबाट संयुक्त राज्य अमेरिका विश्वमै सबैभन्दा बढी प्रभावित भएको छ भने हाम्रो छिमेकी भारत दोस्रो प्रभावित देश बनिएको छ । विश्वमा झण्डै पौने तीन करोड संक्रमित भएकामा करिब नौ लाख मानिसले यसकै कारण जीवन गुमाउनु परेको छ ।

कोरोना संक्रमणले हाम्रो जस्तो देश सम्पूर्ण रुपले थलिएको छ । बन्द व्यापार, उद्योग धन्दा, यातायात लगायतका उद्यमहरु बन्द छन् । जसका कारण तिनमा कार्यरत मजदुर, कर्मचारी तथा आश्रित परिवार नै बिचल्लीमा छन् । महासंकटको यति लामो समय भइसक्दा पनि राष्ट्रिय आयका स्रोतहरुलाई संरक्षण गर्नेतर्फ सरकारको कुनै योजना आएको छैन भने रोजगार गुमाएकाहरुलाई सुरक्षाको आशा पनि दिएको छैन । संक्रमितहरु उपचार नपाएर मृत्युवरण गर्दैछन् भने सामान्य प्रकृतिका संक्रमितहरु उचित व्यवस्थापनको अभावमा मानसिक रुपले कमजोर भइरहेका छन् । महामारीकै कारण स्वेदश फिरेका नेपाली जोखिमकै बीच फर्किन थालेका छन् । तिनलाई स्वदेशमा रोजगारी दिने, व्यवस्थापन गर्ने सरकारी आश्वासन ‘हावा गफ’ मात्रै भएको छ । महामारीमा जीवन जोखिममा राखेर खटिएका स्वास्थ्यकर्मी, चिकित्सक, सहयोगी र सुरक्षाकर्मीले मनोबल उच्च बनाउन सकेका छैनन् । यस्तो अवस्थाले देश र जनतालाई भगवानको भरोसामा छाड्नुको विकल्प छैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here