श्रमिकलाई हेर्ने नेपाली समाजको दृष्टिकोण

२५ भाद्र २०७७, बिहीबार मा प्रकाशित

अनुराग रोशन,

श्रम र श्रमिक भन्ने बित्तिकै हाम्रो नेपाली समाज र अधिकांश व्यक्तिहरुको मथिंगलमा खोलाको बगरमा गिटी कुट्ने, थाप्लोमा नाम्लो लगाएर भारी बोक्ने, चिल्ला कारहरु हुँइकिने सडक बनाउने र ठूला–ठूला सपिङ्ग मल, कम्प्लेक्स र घरहरुको निर्माण कार्यमा खट्ने ज्यामी मिस्त्रीहरुको तस्वीर आउने गर्छ । तर, समग्रमा आफूले काम गरेवापत ज्याला लिने सबै मजदुर हुन्, चाहे त्यो डाक्टर, इञ्जिनियर र पाइलट नै किन नहोउन् । अवश्य पनि योग्यता, क्षमता र सीपको आधारमा तिनीहरूबीच फरक होला, तर आत्मसम्मानको कोणबाट यिनीहरू सबै समान हुन् ।

किनकि आत्मसम्मानको मूल्य कसैको धेरै, कसैको थोरै भन्ने हुँदैन, सबैको बराबर हुन्छ । तर, आज हाम्रो नेपाली समाज पनि पुँजीवादी युगको शुरुवाती चरणमा प्रवेश गर्दैछ, जसको कारण आफूभन्दा फरक क्षमता र फरक काम गर्नेलाई कमसल ठान्ने, मौका पाएसम्म आफूभन्दा कमजोरलाई दबाउन खोज्ने र अरुको मूल्यांकन उसको सीप, कला, क्षमता र योग्यताको आधारमा नभई उसको आर्थिक अवस्थाको आधारमा गर्ने चरम पुँजीवादी चरित्र र चिन्तनको विकास भइरहेको छ । जुन चरित्र र चिन्तन विद्यमान हाम्रो समाजको लागि मात्र होइन, भविष्यमा पनि मानव समाजको निम्ति ठूलो समस्या बनेर उभिने निश्चित छ । यस्तो चिन्तन प्रणालीको विकासका कारण आज पैसाको अगाडि एक–अर्काबीचको भाइचारा सम्बन्ध र मानवता नै निरीह बन्दै गइरहेको छ । मानवतालाईभन्दा बढी पैसालाई महत्व दिने संस्कारले आज समाजको जुनसुकै तह र तप्काका मानिसहरूलाई नराम्रोसँग गिजोलिरहेको छ ।

जसको कारण ‘जसरी हुन्छ वैधानिक र अवैधानिक बाटो प्रयोग गरेर भए पनि पैसा जम्मा गर्नुपर्छ । किनकि आफूसँग प्रशस्त पैसा भयो भने मात्र यो समाजमा इज्जत पाइन्छ र पैसा कमाउन नसक्नेहरु यो समाजको सबैभन्दा कमजोर र प्रतिष्ठाविहीन मान्छेहरु हुन’ भन्ने मानसिकताले घर गरेको छ । यो दृष्टिकोणबाट परिचालित समाज र व्यक्तिहरु श्रमको अवमूल्यन गर्न पुग्छन् र जो आफ्नो रगत, पसिना बगाएर आफूमात्र होइन, अरुलाई पनि बचाई रहेका श्रमिक वर्गमाथि हेयको दृष्टि राख्छन् । हाम्रो देशमा ठूला–ठूला राजनीतिक परिवर्तनका बावजुद पनि देश अझै गरिबीको रेखामुनी रहिरहनुको प्रमुख कारण पनि यहीँ सोच र चिन्तन नै हो ।

अहिलेको सन्दर्भमा यो कुरा सत्य हो कि, पैसा हाम्रो जीवनको एउटा महत्वपूर्ण साधन हो, तर सबथोक होइन । यदि एउटा सार्थक र सच्चा मानवीय जीवनको लागि पैसा नै सबथोक हुँदो हो त, राजदरवारको सुखसयल र युवराजको उपाधि गौतम बुद्धले पनि किञ्चित त्याग्दैनथे होला । केही समय अगाडि मात्रै बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेघनाले बेलायतको बैभवशाली राजदरवार र राजपरिवारको सदस्य त्यागेर आफूखुशी स्वतन्त्र जीवन जिउने घोषणा गर्दैनथे होला । तर, आज हाम्रो नेपाली समाज अर्थ जोडको पछाडि लगाम बिनाको घोडा जस्तै दौडिरहेको छ । जसले कतिको न्यायपूर्ण आवाजलाई दबाएको छ भने कतिको विसंगतिविरुद्धको ध्वनिलाई कुल्चेको छ, जसको लेखाजोखा गर्ने फुर्सद कसैलाई पनि छैन । र, न्यून ज्यालामा श्रम गर्ने श्रमिकहरु एकातिर आर्थिक विपन्नताको मारमा छन् भने अर्कोतिर श्रम गरेवापत यो समाजबाट ‘निम्न कोटीको मानिसहरु’ को दर्जाबाट विभुषित हुनुपर्ने अवस्था छ । त्यसैले अहिले अधिकांश युवा वर्गहरु आफ्नो घर–खेतबारी बैंकमा धितो राखेर भए पनि विदेश नै जान बढी लालायित हुँदै आएका छन् ।

श्रमिक युवा वर्गहरुमा यो अट्टाहास लाग्दो विवशता सिर्जना गर्ने राज्यसत्ताको रुपमा कायम रहेको दलाल पुँजीवादका कारिन्दाहरु नै हुन्, जो अहिले हाम्रो नेपाली समाजमा पनि यौवनकारी फूल जस्तै फक्रिरहेको छ । तर, यसको मूल्य यो संवेदनाहीन समाजले एकदिन अवश्य चुकाउनुपर्नेछ । तर, अबको युवा पुस्ताहरुलाई पनि राज्यसत्ताको गलत चरित्र र प्रवृत्तिका कारण उत्पन्न विषम परिस्थितिबाट भाग्ने सुविधा किमार्थ छैन । किनकि विद्यमान समाजमा मौजुद गलत संस्कृति र प्रवृत्तिका कारण उत्पन्न खराब परिस्थितिकाविरुद्ध अहिलेका युवा पुस्ताले सम्झौताहीन संघर्ष नगर्ने हो भने यो गलत प्रवृत्ति र संस्कृतिको सिकार अब आउने पुस्ता पनि हुनेछन् ।

एकातिर श्रमप्रति हाम्रो संकुचित मानसिकता यथावत छ भने अर्कोतिर हामीले विकास र समृद्धिको कुरा निकै जोडतोडले गरिरहेका छौं । र, विभिन्न विकसित मुलुकहरू जस्तैः चीन, जापान, अमेरिका, स्वीजरल्याण्ड र सिंगापुरको उदाहरण दिएर नेपाललाई पनि त्यस्तै बनाउने भनेर विभिन्न कालखण्डका विभिन्न नेताहरूले भन्दै आएका छन् । तर, यसरी भाषण गरिरँदा के कुरा भुल्नु हुँदैन भने ती विकसित भनिएका मुलुकका नेताहरूको स्पष्ट भिजन र जनताको प्रत्यक्ष योगदान र समर्पणबाट मात्र ती देशहरूमा पनि भौतिक विकास र समृद्धि सम्भव भएको हो । जो अहिले भर्खर हामी नेपालीहरूको निम्ति साझा सपनाको विषय बन्दैछ । यदि अधिकांश ‘ठूलाबडा’ भनिने नेपाली जनहरुले जस्तै श्रमलाई तुच्छ र श्रमिक वर्गलाई अपहेलित नजरले मात्र हेरिरहेको भए आज ती विकसित भनिएका मुलुकहरूको आर्थिक अवस्था सायद हाम्रोभन्दा पनि दयनीय हुन्थ्यो होला ।

यद्यपि विभिन्न कोणबाट समृद्धि र विकासको शिखर चुमिरहेका मुलुकहरूमा मजदुरहरू माथि प्रत्यक्ष र अप्रत्यक्षरुपमा नाङ्गो लुट र बर्बर दमन छैन भन्न खोजिएको होइन । यो त विद्यमान समाजमा व्याप्त भ्रष्टाचार, लुटपाट, विभिन्न जातपात र धर्मको नाममा हुने भेदभाव र छुवाछुत जस्ता जघन्य अपराधको अन्त्य गरी सबैले आत्मसम्मानपूर्वक बाँच्न पाउँनुपर्ने हकको सुनिश्चित गर्दै, समानतामूलक समाजको निर्माण नगरेसम्म, सम्पूर्ण शोषित, उत्पीडित मजदुर वर्गहरुले विभिन्न कालखण्डका शासक र प्रशासकहरुद्वारा गरीब, किसान र श्रमिक वर्गहरु माथि मच्चाई रहेको नाङ्गो लुटको साम्राज्यकाविरुद्ध भिषण आन्दोलन गर्दै आइरहेका छन् । र, ठोसरुपमा परिणाम प्राप्त नभएसम्म यो आन्दोलन भोलि पनि श्रमिक वर्गहरुले निरन्तर जारी राख्नेछन् ।

त्यसैले गरीब, किसान र मजदुरहरूको परिचय केवल गरिबी र मजदुरीसँग मात्र जोडिँदैन, अहिलेसम्मको इतिहास र भोलिको सुन्दर भविष्य निर्माणसँग पनि जोडिएको हुन्छ । यस अर्थमा श्रमजीवी वर्गहरुको इतिहास आत्मग्लानी र पश्चतापले होइन, सधैँ गौरवले भरिएको हुन्छ । र, यदि हामी कसैले पनि आफ्नो व्यक्तिगत जीवन र समाजमा विकास र समृद्धि हेर्न चाहन्छौं भने त्यो श्रमको माध्यमबाट मात्र सम्भव छ । त्यसैले श्रमिकमुखी र श्रममैत्री समाज निर्माण गर्न राज्य आफ्नो दायित्वबाट पछि हटे पनि नागरिक स्तरबाट बेलैमा यसको पहल वा शुरुवात गरौं ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here