कनकाई –१ मा रातैपिच्छे हात्ती आतंक

0
998

तुलसीप्रसाद निरौला ,विर्तामोड  ।

झापाको कनकाई नगरपालिका –१ स्थित प्रजापतिलगायतका टोलमा रातैपिच्छे जंगली हात्तीले आतंक मच्चाउन थालेको छ ।

 

प्रजापति ,गोरेडाँगी , जामुनवारी लगायतका क्षेत्रमा जंगली हात्तीले रातैपिच्छे आतंक मच्चाइरहेको स्थानीयवासी बताउँछन् ।

केही सातादेखि कहिले दुईवटा , कहिले एउटा हात्तीले आतंक मच्चाइरहेको कनकाई नगरपालिका –१ का वडाध्यक्ष रोशनराज पोखरेलले बताए ।

दुईदिन अघिमात्र प्रजापतिस्थित मानवहादुर गिरीको धानवाली तथा वगैंचामा हात्तीले क्षति पुर्याएको छ । त्यस्तै ख्याम पोखरेलको धानवालिमा क्षति पुर्याएको छ भने पुष्प काफ्लेको घरमा क्षति पुर्याएको छ । त्यसैगरी हात्तीले अम्विका गिरीको कुखुराको खोर भत्काएर छ वटा कुखुरा मारेको बताइएको छ ।

त्यस्तै जंगली हात्तीले दिनानाथ खतिवडाको घर भत्काएको छ भने तरुण अधिकारी,पुस्प काफ्ले, गणेश प्रसाद पोखरेल र सुरुङा पुल दक्षिण खतिवडा परिवारको धान समेत खाएर नष्ट गरेको छ।

 

एक साताको अवधिमा कनकाई –१ को मात्रै विभिन्न स्थानका किसानहरुको एक विगाह भन्दावढी धानवालीमा हात्तीले क्षति पुर्याएको बडाध्यक्ष पोखरेलले बताए ।

रातैपिच्छे आउने हात्तीले किसानको घर, धानवालीमा केही न केही क्षति पुर्याइरहेको र जीउज्यान समेत जोखिममा परिरहेको स्थानीयवासी बताउँछन् । गाउँलेले रातभर जाग्राम बसेर हात्ती खेदाउने गरेको स्थानीय हरिबहादुर राउत बताउँछन् ।

जंगली हात्तीको समस्या समाधानका लागि सरकारले ठोस कदम चाल्नुपर्ने पूर्व जनप्रतिनिधि समेत रहेका स्थानीय मानवहादुर गिरी बताउँछन् ।

 

जंगली हात्तीको समस्या समाधानका लागि सामाजिक अभियन्ता एवं वैज्ञानिक महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको हात्ती भगाउने प्लाष्टिकको तोप कनकाई –१का हात्तीपीडित किसानलाई बितरण गरिने बडाध्यक्ष पोखरेलले बताए ।

दिनभर प्रजापति तथा दहिझोडा वन क्षेत्रमा रहने हात्ती साँझ नपर्दै गाउँ तथा विरिङ खोला किनार हुँदै किसानका घर तथा धानवालीमा क्षति पुर्याउन पुग्ने गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here