नेकपा कार्यकर्ताले फेसबुक, ट्विटरमा नेताविरुद्ध लेख्न नपाउने, अभिव्यक्ति स्वतन्त्रतामा बन्देज !

२५ भाद्र २०७७, बिहीबार मा प्रकाशित

काठमाडौं।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अभिव्यक्ति स्वतन्त्रतामा कडाई गरिने भएको छ । खासगरी नेता र सरकारका काम कार्वाहीबारे आलोचनात्मक टिप्पणी गर्न नपाइने गरी बन्देज लगाउन खोजिएको हो ।

दुई अध्यक्षले स्थायी कमिटीमार्फत् कार्यकर्ताहरुले नेताविरुद्ध लेख्न नपाउने व्यवस्था गर्न लागेका हुन् । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले स्थायी कमिटीमा पेश गर्न तयार पारिएको प्रतिवेदनमा नेताका कर्ममाथि टिप्पणी गर्न कार्यकर्तालाई रोक लगाउने प्रस्ताव गरिएको हो ।

प्रस्तावमा भनिएको छ, ‘पार्टीको नीति, नेता र कार्यकर्ताविरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्ने र पार्टी हित विपरीत गतिविधि गर्ने प्रवृत्तिलाई कडाइका साथ रोक्न जिम्मेवार कमरेडहरु र सम्वद्ध सबैलाई यो बैठक निर्देशित गर्दछ ।’

ओली–दाहालको प्रस्तावमा लेखिएको छ, ‘समग्र पार्टी र तीनै तहको सरकारको काममा समेत फैलिँदै गएको गुटबन्दीको असरलाई विधि, पद्धति र संस्थागत निर्णयको प्रभावकारी कार्यान्वयनद्वारा समाधान गर्ने र सबै प्रकारका अनेकता, अराजकता र अनुशासनहीनता एवं गुटबन्दीपूर्ण क्रियाकलापलाई नियन्त्रण गर्ने निर्णय गर्दछ ।’

यता अध्यक्षद्वयले तयार पारेको प्रस्ताव सचिवालय सदस्य र स्थायी कमिटी सदस्यले पढ्नै नपाई सार्वजनिक गरिएका असन्तोषका श्वर पनि सुनिएका छन् । केन्द्रीय सदस्य विष्णु रिजालले नै असन्तुष्टि प्रकट गर्दै फेसबुकमार्फत ‘नेकपा कम्ति पारदर्शी छ त !’ भन्दै व्यंग्य कस्नुभएको हो ।

रिजाल फेसबुकमा, ‘नेकपा कम्ति पारदर्शी छ त ? कार्यदलले तयार पारेको प्रतिवेदन छलफल त के सचिवालय सदस्यकै हातमा नपुग्दै पीडीएफ फाइल नै बाहिर आयो । अध्यक्षद्वयले तयार गरेको प्रतिवेदन स्थायी समिति सदस्यहरुको हातमा पुग्दा नपुग्दै हुबहु सार्वजनिक भयो । छलफलै नभई सार्वजनिक गर्न कति हतार हो ? बैठकमा सम्म त पेश हुन दिए हुने नि !’, लेख्नुभएको छ ।-इमेजखबरबाट साभार

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here