झापा ।

बाराका पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न चौथो आरोपी बिहीबार पक्राउ परेका छन् ।
बाराको महागढीमाई नगरपालिका–२ तेलकुवाका ४५ वर्षीय हरेराम पटेललाई प्रहरीले पक्राउ गरेको हो । कोल्हवी नगरपालिका–४ सपही टोलबाट पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।
पत्रकार साहको हत्या आरोपमा यसअघि तीन जना पक्राउ परिसकेका थिए । २०६४ असोज १८ गते तत्कालीन नेकपा माओवादीका कार्यकर्ताको अपहरणमा परेका पत्रकार वीरेन्द्र साहको डुमरवानास्थित जंगलमा खाल्डो खनेर गाडेको अवस्थामा शव भेटिएको थियो ।
पत्रकार साहलाई हरेराम पटेल, कुन्दन फौजदार भन्ने नरेन्द्रकुमार फौजदार, राम एकवाल सहनी र मनेजर गिरी समेतका ५ जनाले अपरहण गरी हत्या गरेको आरोप लागेको थियो । उनीहरुले गोली प्रहार गरेर हत्या गरेपछि पत्रकार साहको शव जंगलमा खाल्डो खनेर गाडेको प्रहरीको निश्कर्ष थियो ।






























