झापा ।

नागरिक र प्रहरीको सम्बन्ध नङ र मासुको जस्तै भएमा मात्रै समाजमा शान्ति स्थापना गर्न सकिन्छ । दिनरात जनताको सेवामा खट्ने प्रहरीलाई जनताले गरेको सानो सहयोगले पनि ठूलै प्रेरणा मिल्ने इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।
कोरोना भाइरसका कारण विश्वमा स्वास्थ्य संकट सिर्जना भइरहेको तथा नेपालमा समेत कोरोनाको संक्रमण बढ्दै गएसंगै जनताको सुरक्षामा अग्रस्थानमा खटिने धेरै प्रहरी समेत संक्रमित बन्दै गएका छन् । तर, देशको शान्ति सुरक्षामा खटिने प्रहरीले आफ्नो जिम्मेवारीलाई अविचलित रुपमा निर्वाह गरिरहेको र यो अवस्थामा अन्यत्र फजुल खर्च गर्नुभन्दा नागरिक स्तरबाट भएपनि सानो सहयोग गरौं भन्ने उद्धेश्यले झापाका एक युवाले आफ्नो जन्मदिनमा प्रहरीलाई मास्क र सिनिजाइजर प्रदान गरेर मनाएका छन् ।

इलाम स्थायी घरभएर हाल बिर्तामोडमा बस्दै आएका सागर रिजालले आफ्नो जन्मदिनको अवसर पारेर इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक कार्यालयमा सबै प्रहरीलाई एक–एक थान सेनिटाइजर र मास्क प्रदान गरेर जन्मदिन मनाएका छन् । जन्मदिनमा गरिने फजुल खर्चलाई सामाजिक क्षेत्रमा सहयोग गर्ने उद्धेश्यले यो संकटमा समेत इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले बिर्तामोड, अर्जुनधारा, कनाकाई नगरपालिका लगायतका क्षेत्रमा आफ्नो सक्रिया बढाएकै कारण अहिलेसम्मको अवस्था सहज भएको र प्रहरीको मनोबल उच्च बनाउन नागरिक स्तरबाट पनि सहयोग गर्न प्रेरणा मिलोस् भनेर सानो सहयोग गरेको रिजालले बनाए ।
नगरिक स्तरबाट हुने यस्ता सहयोगले प्रहरीलाई अझ हौसला मिल्ने र सबैको सहयोग प्राप्त भएमा मात्रै कोरोना भाइरसलाई परास्त गर्न सकिने भन्दै इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी मुकुन्द रिजालले सबैलाई स्वास्थ्य प्रति सचेत रहदै शान्ति सुरक्षामा सबैले सहयोग गर्न आग्रह गरे ।

यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश जवेगूले जन्मदिनमा प्रहरीलाई सहयोग गरेर हौसाला प्रदान गरेको भन्दै सागर रिजाललाई धन्यवाद दिएका छन् । ट्राफिक प्रहरी सडकमा खटिने भएकाले जोखिम उच्च हुने भन्दै यस्तो अवस्थामा स्वास्थ्य सामग्री प्रदान गरेर हौसला प्रदान गरेको प्रहरी निरीक्षक जवेगूले बताए ।

हरेक वर्ष जन्मदिनमा सामाजिक काम गर्दै आएका सागरले यस पटक प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान गरेर बनाएका हुन् ।






























