सुरेन्द्र भण्डारी
सुरुङ्गा,कृषिजन्य सामग्री उत्पादनका हिसाबले झापालाई उर्भर भूमि मानिन्छ । ‘अन्न भण्डर’का रुपमा समेत चिनिएको झापाको १ लाख ५९ हजार ९ सय २ हेक्टर कूल क्षेत्रफल मध्ये ९० हजार हेक्टर क्षेत्रफलमा खाद्यान्न, तरकारी तथा नगदेबाली लगाइएको सरकारी तथ्यांक छ । तर, व्यवसायिक खेती गर्ने कृषकको सख्या भने न्यून छ । अझैंपनि झापाका अधिकांश कृषक परम्परागत खेतीमै आधारित छन् । जसका कारण सोचे अनुसारको प्रतिफल कृषकले लिन नसकेको जिल्ला कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।

परम्परागत रुपमा गरिँदै आएको खेतीलाई त्यागेर व्यवसायिक र आधुनिक तरिकाले खेती गर्ने कृषकले भने सोचेभन्दा राम्रो प्रतिफल लिइरहेको बाह्रदशी गाउँपालिका कृषि शाखा प्रमुख देवनारायण यादवले बताउनुभयो ।
वाह्रदशी गाउँपालिका ७ डाडागाउँमा रहेको मदन कृषि फर्म गाउँपालिकाकै नमूना कृषि फर्म हो यादवले भन्नुभयो – १७ वर्षसम्म विदेश बसेर फर्कनुभएका मदन लिम्बूले अहिले सो ठाउँमा ३४ विगाह क्षेत्रफलमा खेती गर्नुभएको छ ।
विरिङ खोलाको बगरका रुपमा परिणत भएको काँसघारीमा उहाँले अहिले दुई हजार चार सय बोटा कागती, चार हजार बोट सुपारी, त्यत्तिकै संख्यामा आँप लगाउनुभएको छ यादवले भन्नुभयो – लिम्बूले शुरु गरेको कृषि परियोजनामा ६० प्रजाति भन्दा बढीका विरुवा लगाइएका कारण गाउँपालिकाकै नमूना कृषि फर्म बनेको छ । झण्डै दुई करोड रुपैयाँको लागतमा सञ्चालनमा ल्याइएको सो फर्ममा अहिले मौसमी तथा वेमौसमी तरकारी खेती समेत गरिँदै आएको छ ।
दुई वर्ष अघिदेखि सञ्चालनमा आएको मदन कृषि फर्ममा लगाइएका कागतीले समेत उत्पादन दिन शुरु गरेको छ ।
उता दमक नगरपालिका–२ का नेत्रप्रसाद जवेगूले च्याउ खेतीबाट मनग्य आम्दानी गरिरहनु भएको छ ।
बिगत सात वर्षदेखि नियमित च्याउ खेती गर्दै आउनु भएका जवेगूले मासिक ५ लाख रुपैयाँको हाराहारी आम्दानी लिने गरेको बताउनुभयो । जिल्लाकै उत्कृष्ठ किसानका रुपमा जवेगूले आर्थिक वर्ष २०७६÷०७७ मा जिल्ला कृषि ज्ञान केन्द्र झापाबाट ३३ लाख ७९ हजार रुपैयाँ अनुदान समेत हात पार्नुभयो । च्याउ पकेट कार्यक्रमका लागि सो रकम अनुदानमा पाउँनुभएका जवेगूले अहिले दैनिक एकदेखि डेढ क्वीटल च्याउ बिक्री गर्दै आउनुभएको छ ।
१५ कठ्ठा जमिन लिजमा लिएर च्याउ खेती गर्दै आउनुभएका उहाँको जवेगू च्याउ उद्योगमा नियमित ५ जना र ज्यालादारीमा पाँच जना गरी १० जनाले रोजगारी पाएका छन् । २०७३ सालबाट च्याउ खेती गर्दै आउनु भएका उहाँ जिल्लाकै सफल र उद्यमशील किसानका रुपमा परिचित हुनुहुन्छ ।
कमल गाउँपालिका–२ मा रहेको श्री आईपीएम आलू ब्लक सञ्चालन समितिले समेत जिल्लामै उत्कृष्ठ खेती गरेको भन्दै जिल्ला कृषि ज्ञान केन्द्र झापाबाट ३० लाख ५२ हजार रुपैयाँ अनुदान रकम लिएको छ ।
सो समितिले पनि आलू खेतीका लागि रकम लिएको हो । कृषि ज्ञान केन्द्र, प्रदेश सरकार र कारितास नेपालसँग गरेर सो आईपीएम आलू ब्लक सञ्चालन समितिले झण्डै ४० लाख रुपैयाँ अनुदान लिएको छ ।
५० प्रतिशत किसानको सहभागिता रहने गरी सो समितिले अनुदान रकम लिएको समितिका कोषाध्यक्ष टंक कटुवालले बताउनुभयो । त्यहाँका किसानले ६४ विगाह क्षेत्रफलमा आलू खेती गरेका थिए । सामुहिक प्रयासमा गरिएको आलू खेती जिल्लाकै नमूना हो – कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले भन्नुभयो ।
कृषि ज्ञान केन्द्रमार्फत नै अनुदानको रकम पाउने अर्काे संस्था हो– बाह्रदशी गाउँपालिका–७ मा रहेको दुर्गा माता कोला खेती तथा कृषि फर्म । जसले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ब्लक बिकास कार्यक्रमका लागि ३५ लाख रुपैयाँ अनुदान लिएको छ । संस्थाले ३५ लाख रुपैयाँ फर्मको लगानी रहने गरी सो रकम अनुदानमा लिएको हो ।
बाह्रदशी गाउँपालिका–५मा रहेको हरित क्रान्ति मकै ब्लक विकास कार्यक्रम सहकारी संस्थाले मकै खेतीका लागि २४ लाख ६८ हजार रुपैयाँ अनुदान लिएको छ । १०० हेक्टर क्षेत्रफलमा मकै उत्पादन गर्ने भन्दै सो सहकारीले सरकारबाट रकम अनुदानमा लिएको हो । शिवसताक्षी–१ मा रहेको च्याउ खेती कृषक समूहले पनि २३ लाख ५५ हजार रुपैयाँ च्याउ खेतीका लागि राज्यबाट अनुदान लिएको छ । १० हजार केजी च्याउ उत्पादन गरेको छ ।
कृषिमा राम्रो काम गरेर सरकारबाट अनुदान लिने झापामा ५८ वटा फर्म, कृषक समूह, कृषि सहकारीहरु रहेका छन् । जिल्लामा सञ्चालित त्यस्ता फर्मले अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ मा चार करोड बढी अनुदान रकम समेत लिएको कृषि ज्ञान केन्द्र झापाको तथ्यांकमा उल्लेख छ ।
व्यवसायिक खेतीका लागि सरकारले समेत अनुदान रकम दिन थालेपछि झापाका किसान व्यवसायिक खेती तर्फ आर्कषित भएको पाउन सकिन्छ ।





























