सेवा, पेशा र त्यसभित्रको प्रवृत्ति

0
2581

मानिस समाजमा बस्ने गर्छ । त्यसैले समाज सभ्य र समृद्ध बनोस् भन्ने चाहना उसमा रहने गर्छ । तर, के हाम्रो चाहना र कार्यशैलीमा तारतम्य मिलेको भेटिन्छ ? हामी कथनी एउटा गर्छौं, करनी अर्को गर्छौं । अनि परिणाम कसरी सोचे जस्तो पाइन्छ । अहिले हाम्रो समाज र देशको अवस्था यस्तै छ । मानिस स्वभावले नै कर्मशील प्राणी हो । स्वस्थ मान्छे कुनै न कुनै काममा व्यस्त रहिरहन्छ । अधिकांश मान्छेले आफू र आफ्नो परिवारको जीवीकोपार्जन हेतु कुनै न कुनै काम गर्ने गर्छन् । त्यो काम नै उनीहरुको पेशा व्यवसाय भनेर बुझ्ने गरिन्छ । हरेक व्यक्ति–व्यक्तिले गर्ने पेशा व्यवसायको प्रत्यक्ष असर समाजलाई पनि पर्न जान्छ । त्यसैले पेशा व्यवसाय पहिले समाज र देशको हित हुनेखालको हुनुपर्छ । त्यसपछि मात्र व्यक्तिको हितमा ।

विकसित देश वा उनीहरुको समाजलाई हेरौं । उनीहरुले गर्ने पेशा व्यवसाय देश र समाजप्रतिको कर्तव्यबोधले भरिएको हुन्छ । राज्यको आर्थिक नीति पनि देश र समाजलाई कसरी समुन्नत बनाउन सकिन्छ भनेर बनाइएको हुन्छ । त्यस्तो पेशा व्यवसायलाई उनीहरु संरक्षण र प्रोत्साहन गर्ने गर्छन् । अनि नागरिक पनि पुरै इमान्दार भएर नैतिकता र मानवतालाई केन्द्रमा राखेर मेहनतको साथ पेशा व्यवसाय गर्ने गर्छन् । यसकारण उनीहरु सम्पन्न हुन सकेका हुन् । हामीले गर्ने पेशा व्यवसाय र त्यसभित्रको प्रवृत्तिलाई हेरौं । हामीले रोज्ने पेशा व्यवसाय हेरौं । हामी हाम्रो नैतिकता र मानवता पनि बिक्री गर्न तत्पर रहेर चाँडै धनी हुने पेशा व्यवसाय रोज्छौं । बढीभन्दा बढी रोजगारी दिलाउने र समाजलाई सकारात्मक प्रभाव दिने पेशा व्यवसाय गर्न हामी रुची राख्दैनौं । किनकि त्यसमा मेहनत पनि बढी गर्नुपर्ने हुन्छ । मुनाफा पनि सिमित छ । यसरी हाम्रो समाज र देशप्रति उत्तरदायी रहेको पेशा व्यवसायमा नेपालीहरु लगानी असाध्य कम छ भन्दा फरक नपर्ला ।
अहिलेको विश्वमा समाजसापेक्ष अर्थनीति हुनुपर्छ भन्ने मान्यता बलियो हुँदै गइरहेको छ । आर्थिक गतिविधि चलायमान बनाउने, तर समाजलाई उपेक्षा गर्ने आर्थिक नीति लिने हो भने समाज असन्तुलित बन्न पुग्छ । न्यायपूर्ण समाजको निर्माणमा समाजसापेक्ष पेशा र व्यवसाय हुन जरुरी छ । अनिमात्र त्यस समाजको सर्वाङ्गिण विकास हुन सक्दछ । समाजलाई निरपेक्ष राखेर प्राप्त आर्थिक उन्नतीले समाजको कुनै पाटो मोटो देखिए पनि त्यो रोगले सुन्निएको शरीर सरह हुनेछ । अर्थात् मुठ्ठीभर व्यक्तिमात्र धनी हुन सक्छन् । राज्यको अर्थतन्त्रमा पनि उनीहरुको मात्र योगदान देखिन पुग्छ । यस्तै पेशा व्यवसाय मौलाउँदै जाने हो भने गरीबहरुको संख्या अझै बढेर जानेछ । जसका कारण समाज भेदभावपूर्ण र अशान्त बन्न पुग्छ । अहिले नै परिवारको पेट पाल्न, सन्तानलाई शिक्षा दिक्षा दिन, स्वास्थ्यदेखि आधारभूत आवश्यकता पूरा गर्न वैदेशिक रोजगारीमा जान बाध्य छन् नेपालीहरु ।

यसो हुनुको कारण यहाँ गरिने धेरै पेशा व्यवसायको योगदान समाजप्रति नरहेकोले हो भन्दा फरक नपर्ला । त्यसैले हामी कहाँ गरिने पेशा व्यवसायले सामाजमा पु¥याएको योगदानको समिक्षा हुन जरुरी छ । कुन पेशा व्यवसाय समाज र देशको हितमा छ र कुन छैन भनेर छुट्याउनुपर्ने हुन्छ । कारोवार ठूलो छ । तर, रोजगार धेरै दिन सक्दैन । मानव स्वास्थ्यको लागि हितकार छैन । देशको हितमा पनि छैन भने त्यस्तो पेशा व्यवसायलाई निरुत्साहित गर्न जरुरी छ । त्यसैले पेशा व्यवसाय यस्तो होस्, जसले व्यक्तिको साथै समाज र देशको हित गर्न सकोस् । पेशा व्यवसायभित्रको प्रवृत्ति समाज उपयोगी होस् ।
उदाहरणका लागि बुधबारेका तीन युवाहरु मनोज प्रसाईं, गोकुल पौड्याल र रोशन भट्टराईको पेशा व्यवसाय लिन सकिन्छ । उहाँहरु मिलेर बाँसको कप, ग्लास, जग र बोतल बनाउने उद्योग सञ्चालनमा ल्याएको खबर पूर्वाञ्चल दैनिकमा पढ्न पायौं । जम्मा छ लाखको पुँजीमा सञ्चालित उद्योगले दश जनालाई रोजगारी दिएको रहेछ । जब कि करोडौंको व्यापार गर्छु भन्नेहरुले दश जनालाई रोजगारी दिन नसकेको तितो यथार्थ समाजमा छ । उनीहरुको पेशा व्यवसायले रोजगारी मात्र दिएको छैन । नेपाली स्वाभिमानको रक्षा गरेको छ । परनिर्भरता घटाउन सहायक बनेको छ । आफ्नै देशमा पाइने कच्चापदार्थलाई उपयोग गर्नुभएको छ । मानव स्वास्थ्यका लागि हानिकारक प्लाष्टिकजन्य वस्तुहरुलाई प्रतिस्थापन गर्ने सोच राख्नु भएको छ । देशको पैसा बाहिरनबाट बचाउनु भएको छ । बरु बिदेशी मुद्रा देश भित्रिने सम्भावना देखाएको छ । जीवन जिउन उहाँहरुले अरु पेशा व्यवसाय गर्न सक्नु हुन्थ्यो । तर, देशको भलो गर्ने व्यवसाय खोज्दा उहाँहरु बाँस उद्योगमा पुग्नु भएको रहेछ ।

अर्को उदाहरणको रुपमा बिर्तामोडको शनिश्चरे रोडमा रहेको अच्युत दाहाल र उहाँकी जीवनसाथी कल्पना दाहालको अग्र्यानिक कोशेली घरलाई लिन सकिन्छ । त्यहाँ बिक्रीका लागि बिभिन्न जडीबुटीदेखि बिषादी प्रयोग नगरेको बिभिन्न खाद्य सामग्री राखिएको रहेछ । नेपाली मौलिक खाने कुरा खाजाको रुपमा खान पनि पाइने रहेछ । दाहाल दम्पतीलाई प्रोत्साहन गर्न जलकुमार गुरुङ, कुमार भट्टराई, ज्ञानुराम प्रसाईं, भानु शिवाकोटी, उमेश डालमिया, पवन खेडीय, निरज ओली, उत्तम शिवाकोटी, राजेन्द्र अग्रवाल, राजकुमार गुप्ता, राजकुमार शाह लगायत बिर्तामोडका प्रतिष्ठित व्यवसायी, सामाजिक व्यक्तित्वहरु त्यहाँ भेला हुने गर्नु हुँदोरहेछ । मर्निङवाक सकेपछि एलोवेरा, घोडतापडे, गुर्जो र अमलाको जुस आदि स्वास्थ्यवद्र्धक पेयपदार्थ नियमित रुपमा उहाँहरु पिउने गर्नु हुँदोरहेछ ।

बिर्तामोड जस्तो अवसरले भरिपूर्ण व्यापारिक केन्द्रमा शिक्षित र समाजमा क्रियाशील दाहाल दम्पतीले जीवीकोपार्जनको उद्देश्यमात्र राखेर यो पेशा व्यवसाय रोज्नु भएको रहेनछ । यस प्रकारको पेशा व्यवसायबाट चाँडै धन कमाउन सकिन्न भन्ने कुरा उहाँहरुलाई राम्रोसँग थाह रहेछ । मेरो जिज्ञाशामा अच्युत भाइले प्रष्टसँग भन्नुभयो कि– ‘दाइ पैसा कमाई हुन्छ भनेर नैतिकता, मानवता र समाज प्रतिको दायित्व कसरी बिर्सिदिनु ? खान मिल्छ भनेर मानव स्वास्थ्यको लागि हानिकारक खाने कुरादेखि सूर्ती, मदीराजन्य वस्तुहरुको पेशा व्यवसाय गर्ने समाजलाई हामीले पनि बुझेको छ । समाज र देशलाई गरीब बनाएर व्यक्ति धनी हुने पेशा व्यवसायले हाम्रो पुस्तालाई डुबायो । आउने पुस्तालाई जिविका निर्वाह गर्दा समाज र देशलाई भलो हुने किसिमको रोज्नुपर्छ भनेर बाटो देखाउन पनि हामीले यो व्यवसाय रोजेको हो ।’ पेशा व्यवसाय जीवन वृत्तिका साथै आर्थिक उन्नतीको लागि गरिने हो । तर, त्यसभित्र मानवता सामाजिक मर्यादा र उत्तरदायित्व रहनुपर्छ भन्ने मान्यता उहाँको रहेछ ।

नेपालमा राजनीतिक क्रान्तिहरु पटक–पटक भए । पटक–पटक राजनीतिक परिवर्तन पनि भयो । तर, आर्थिक क्रान्ति हुन सकेको छैन । आर्थिक क्रान्तिको लागि कुनै आन्दोलन वा बन्द, हड्ताल चाहिएको होइन । फगत आर्थिक नीति, समाज र देश सुहाउँदो हुनुप¥यो । तब मात्र त्यो समृद्धि हितकर र दीर्घकालीन हुनेछ । कुनै पनि मानिसले पेशा व्यवसाय नगरी उसको जिविका चल्दैन । यदि त्यही पेशा व्यवसाय देश कै बढीभन्दा बढी कच्चापदार्थ प्रयोग हुने, रोजगारी बढी सृजना गर्नेखालको हामीले रोज्यौं भने सबैको हित गर्नेछ ।

बाँस उद्योग र कोशेली घर लगानीको हिसाबले हेर्दा सानो उद्योग र व्यवसाय देखिन्छ । तर, त्यसले गाउँघरका धेरै सामान्य मानिसको व्यवसाय र रोजी रोटी चलाउन सहयोग पु¥याएको छ । कसैले बाँस खेती गर्ने भए । कसैले तरकारी, जडीबुट्टीको खेती गर्ने भए । त कसैले उद्योगमा काम पाए । त कसैले खेतीमा श्रम गर्न पाए । यदि हामी साँच्चै समाजलाई रुपान्तरण गर्न चाहन्छौं भने समाज र देश सापेक्ष पेशा व्यवसायमा लाग्न मानिसलाई प्रेरित गर्नुपर्छ । समाज उपयोगी पेशा व्यवसाय गर्ने मानिसहरुको मनोबल उच्च बनाउने काम गर्नुपर्छ । उनीहरु समाजका सबैभन्दा बढी सम्मान पाउन लायक व्यक्तित्वहरु हुन भनेर स्वीकार गर्नुपर्छ ।

हामी समाजसेवी भनेर नगद, जिन्सी चन्दा दिने मानिसहरुलाई बुझ्ने गर्छौं । सामाजिक संघ–संस्था मार्फत समुदायका लागि काम गर्ने मानिसलाई हामी समाजसेवी भन्छौं । निःस्वार्थ भावले गरिएको सेवा, पक्कै पनि महान काम हो । हामी मसिनो गरस् केलाएर हेरौं । समाजमा अशिक्षा, गरीबी र वेरोजगारी जति बढी छ । त्यति बढी भूमिका सामाजिक संघ–संस्थाको हुँदो रहेछ । तर, समाज विकसित हुँदै गएमा सामाजिक संघ–संस्थाको भूमिका बिशेष परिवेश र परिस्थितिका लागि मात्र रहन पुग्छ । त्यसैले हामीले हाम्रो समाजलाई रुपान्तरण गर्ने हो, सम्पन्न बनाउने हो भने समाजसापेक्ष पेशा व्यवसाय गर्नेहरुलाई सच्चा समाजसेवीको सम्मान दिन सिक्नु पर्छ । कसैले बाँडी रहन र कसैले हात थापी रहन जन्म लिएको होइन भने सेवाभावले पेशा व्यवसाय गर्ने नै वास्तविक समाजसेवी हुन् । यसको मतलब समाजसेवा गर्नुहुन्न भन्न खोजिएको होइन । समाजसेवा गर्ने हो भने निःश्वार्थ भावले गर्नु प¥यो ।

सामाजिक संघ–संस्थाहरुले कुनै काम गर्छन् भने त्यो प्रचारमुखी मात्र हुनु भएन । उपलब्धिमूलक र साच्चै समाजलाई रुपान्तरण गर्न सक्ने सेवा हुनुपर्छ । समाजमा सेवाभावले सेवा गर्नेहरु पूजनीय हुनुहुन्छ । तर, त्यो भन्दा पनि बढी पुजनीय सेवाभावले पेशा व्यवसाय गर्ने व्यक्तित्वहरु हुनुपर्छ । पेशा वा सेवा शब्दले लाग्ने शाब्दिक अर्थलेभन्दा त्यसभित्र रहेको प्रवृत्तिलाई हामीले बुझ्न सक्नुपर्छ । त्यसैले समाजसापेक्ष पेशा व्यवसाय स्थापित गर्न अभियान शुरु गरौं । तब मात्र देशमा हाम्रो आफ्नै मौलिक अर्थतन्त्र हुनेछ । अनि आर्थिक क्रान्तिको बाटो खुल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here