व्यवहार बदल्नु पर्छ

२८ भाद्र २०७७, आईतवार १०:५७ मा प्रकाशित
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

सम्पादकीय

Advertisement

कोरोना संक्रमणको दर दिनदिनै बढिरहेका बेला सरकारले भने सुरक्षाका मापदण्ड खुकुल्याउँदै लगेको छ । रोकथामको पहिलो उपाय बन्दाबन्दी नै हो भन्ने मान्यता अनुरुप गरिएको घोषणा क्रमशः खुकुलिँदै जाँदा संक्रमणको दर त्यही अनुपातमा बढ्दै गयो । अहिले संक्रमितको संख्या पचास हजार नाघिसकेको छ । राजधानी काठमाडौं सबैभन्दा बढी प्रभावित भएको छ भने मृत्युको संख्या पनि त्यत्तिकै उकालो लाग्दैछ । सरकार बन्दाबन्दी र त्यसपछि अरु कडा निषेधाज्ञा लगाउन लगाएर हाइसञ्चो मानेर बसेको छ । यी सबै स्थानीय तह र प्रशासनले फस्र्याउनुपर्ने विषय बनाइएकोले सरकारलाई हाइसञ्चो भएकै हो । उनीहरुका साथ सरकारी गाडी छ, गाडीमा इन्धन छ खल्तीमा सवारी पास छ । राज्यको सुविधा भोग्नेहरु पनि त्यस्तै, आनन्दमा छन्, लाग्छ उनीहरु त्यसभन्दा माथिको आनन्द ‘परमानन्द’ भोगिरहेका छन् । खुल्ला सडकमा चिल्ला गाडीको शयर निर्विध्न हुन पाएपछि बन्दाबन्दी वा निषेधाज्ञाको प्रतिफल नभोग्नेलाई के थाह ?

निम्न वर्गीय परिवार मात्र होइन अब त मध्यम वर्गीय परिवार पनि कोरोना पीडाबाट आक्रान्त छन् । यसकै कहरले कतिको मनोसामाजिक दशा औंशीको रात झैं निष्पट कालो भएको छ । ऋण काढेर व्यापार–व्यवसाय गर्नेहरु ब्याज, घर भाडा बुझाउन नसकेर तानावमा छन् । उद्योगी व्यवसायीहरुको साझा समस्याकाबीच सत्तामा रहेकाहरु भने ‘दुनो’ कोल्टो पर्ने पीरले चाउरिन थालेका छन् । यत्रो महामारीका बीच सत्तारुढ दलका नेतृत्व पंक्ति पीडापूर्वक जीवन बाँचिरहेका नागरिकसम्म नपुगेर भागबण्डाकै झगडामा रमाइरहेका छन् । सरकारले बाह्र अर्ब खर्च भइसकेको हिसाब देखाएको छ जसको विवरण नै पारदर्शी बनाउन सकिरहेको छैन । कोरोना त्रासलाई रोकथाम तथा नियन्त्रणका लागि भएको भनिएको खर्चले कति सर्वसाधारण लाभान्वित भए त्यसको समेत जवाफ छैन ।

कोरोना संक्रमणले दिने पीडाले भन्दा नेपालीको जीवन र समाजमा लागेको घाउ अत्यन्त धेरै पीडादायक छ । आधा वर्षको अवधिमा कोरोनाका कारण सरकार र राज्यको सुविधाभोगीहरुले प्राप्त गरेको उपलब्धी यदाकदा विश्लेषण गरिन्छ, आलोचना हुन्छ र समीक्षाको विषय पनि हुन्छ । सडक शान्त छ, सरकारको विरोधका श्वर बन्द छन्, लाग्छ प्रतिपक्ष पनि निश्वास बाँचेको छ यतिबेला । कोरोना संक्रमित भएभन्दा बढी त्रास र पीडा निम्न वर्गीय जीवनका मन र व्यवहारले भोगेका छन् । त्यसैको प्रतिबिम्ब हुनसक्छ यही समय बढ्दै गरेको आत्महत्याको श्रृंखला । त्यसैले निषेधाज्ञा लगायतका प्रतिरोधी उपायको अन्त्य गरी सचेतना, सावधानीका साथ काममा फर्किनु बुद्धिमानी हुन्छ । अन्यथा यसले पारेको घाउ र दिएको पीडा चिरकाल पर्यन्त मेटिने छैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here