दुर्गा मन्दिर नहटाउन निर्देशन

0
2422

बिर्तामोड, बिर्तामोड–चन्द्रगढी सडक खण्ड निर्माण थालिएसँगै चर्चामा रहेको बिर्ताबजारस्थित दुर्गा मन्दिर नहटाउन पुरातत्व  विभागले निर्देशन दिएको छ ।

बिर्तामोड नगरपालिकालाई पत्राचार गर्दै विभागले यस्तो निर्देशन दिएको हो । विभागका पुरातत्व अधिकृत मञ्जुसिंह भण्डारीले बिर्तामोड नगरपालिकालाई पत्राचार गर्दै नगरपालिका–३स्थित देवी दुर्गा मन्दिर बाटो बिस्तार गर्ने क्रममा हटाउन लागिएको जानकारी प्राप्त भएकाले सो कार्य तत्काल रोक्का राखी यथार्थ विवरण पठाउन भनिएको छ ।
विभागको २०७७ भदौ २६ गतेको निर्णय अनुसार बिर्तामोड नगरपालिकासहित जिल्ला प्रशासन कार्यालय
झापा र बिर्तामोड नगरपालिका–३को वडा कार्यालयलाई समेत पत्राचार गरिएको छ । झापाको पुरानोमध्येको एक शक्तिपीठका रुपमा दुर्गा मन्दिरलाई लिने गरिन्छ । तर, सडकको बीचमा परेको भन्दै सडकको स्तरोन्नतिका क्रममा पुनः
प्रतिस्थापन गर्न मन्दिरको केही मिटर पूर्व नयाँ मन्दिर निर्माणको काम भइरहेको छ ।


बुद्ध जयन्तीको अवसर पारेर बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटी र उपप्रमुख पवित्रा महतरा प्रसाईले वैदिक विधिपूर्वक मन्दिरको शिलान्यास गरेका थिए । बिर्तामोड–भद्रपुर चार लेनको सडक निर्माणका क्रममा मन्दिर बीचमा हुने भएपछि मन्दिर सार्न लागिएको थियो । बिर्तामोड नगरपालिकाले सम्पूर्ण खर्च ब्यहोर्ने गरी मन्दिर निर्माण शुरु गरेको र अन्तिम चरणमा पुगेपछि पुरातत्व विभागले यस्तो पत्राचार गरेको हो ।
बिर्तामोड नगरपालिकाले करिब ४५ लाख रुपैयाँको लागत अनुमानमा मन्दिर निर्माणका लागि काम अघि बढाएको थियो । मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष पर्शुराम सिटौलाको पहलमा अहिले मन्दिर निर्माण भइरहेको छ । दुर्गा मन्दिर बाटोको बीचमा परेपछि बाटो निर्माण कार्य निक्कै लामो समयसम्म रोकिएको थियो । बाटो निर्माण कार्य रोकिएपछि सर्वदलीय, सर्वपक्षीय बैठकहरु गरेर निचोड निकाल्दै नयाँ मन्दिर निर्माण थालिएको थियो । डिभिजन सडक कार्यालय, दमकको मातहतमा रहेको यो बाटो बनाउन २०७४ फागुन २१ गते सूचना प्रकाशित गरी टेन्डर आह्वान गरिएको थियो । सिलबन्दी ठेक्कामा प्रतिस्पर्धा गरेकामध्ये नयाँबाटो, ललितपुरको आशिष–प्रेरा जेभीले यो बाटो बनाउने
ठेक्का पाएको थियो । २०७५ असार २४ गते २७ करोड ९ लाखमा ठेक्का सम्झौता भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here