झापा ।

सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीले विमितको मृत्युपछि दाबी भुक्तानी रकम सम्बन्धित परिवारलाई सोमबार हस्तान्तरण गरेको छ ।
अर्जुनधारा ८ स्थित शनिश्चरे बजारमा सुनचाँदी व्यवसाय गरिरहेका सुजन रसाइलीले गत मंसिर ४ गते ५० लाखबराबरको जीवन विमा गरेका थिए । विमावापतको पहिलो प्रिमियम बुझाएका उनको एक महिना १९ दिनपछि पुस २१ मा हृदयघातका कारण निधन भएको थियो ।
इन्सुरेन्सले विमा भुक्तानी दाबी गरेअनुसार शनिश्चरे चोकमा एक अनौपचारिक कार्यक्रम गरी ५१ लाख ५० हजार रुपैयाँको चेक मृतकका आमा मनमाया रसाइली र श्रीमती रीना सुनारलाई हस्तान्तरण गरेको हो ।
इन्सुरेन्सका सहायक महाप्रबन्धक तुलसीनाथ पौडेल, बरिष्ठ एजेन्सी मेनेजर प्रेमराज गिरी, रामप्रसाद घिमिरे, रुद्र निरौला र बिर्तामोड शाखा प्रमुख विकास श्रेष्ठलगायतले मृतकका परिवारलाई रकमबराबरको चेक हस्तान्तरण गरेका थिए ।
पुस महिनामा घटना भए पनि लकडाउनका कारण सम्बन्धित परिवारले आवश्यक कागजात जुटाउन नसक्दा रकम हस्तान्तरण गर्न ढिला भएको बरिष्ठ एजेन्सी मेनेजर रुद्र निरौलाले बताए । उनका अनुसार कागजात पूरा भएको १५ दिनभित्र परिवारलाई रकम हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा सहायक महाप्रबन्धक तुलसीनाथ पौडेल, स्थानीय युवा व्यवसायी गोविन्द खतिवडालगायतले आफ्ना भनाइ राखेका थिए ।































