सडक विस्तार र इतिहास मोह

३० भाद्र २०७७, मंगलवार १०:१५ मा प्रकाशित
  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

इतिहास, संस्कृति र परम्परा नै कुनै ठाउँको परिचायक हुन्छ । त्यसैले विश्व समाजमा त्यसको संरक्षण, सम्बद्र्धन तथा प्रसार गर्ने गरिन्छ । संसारभरका मानिस शरीर विज्ञानले समान भए पनि रंग, रुप, आकार, भाषा, रहन–सहन, खानपिन, संस्कार र संस्कृतिले भिन्न छन् । त्यही भिन्नताभित्रको एकात्मकता कुनै जाति वा समूह र राष्ट्रको विशिष्टता हुने गरेको छ । त्यस आधारमा नेपाल भूगोलले सानो भएर पनि, जनसंख्याले थोरै भए पनि विशिष्ट पहिचानका साथ विश्व समुदायमा परिचित छ । यहाँ भूगोलको बनौट अनुसार बेग्लाबेग्लै जातिको बसोबास छ र त्यसै अनुसारको भाषा र जीवनशैलीमा पनि भिन्नता छ । तर, समष्टिमा उपल्लो पहिचान नेपाली हुनुले दिएको छ ।

Advertisement

देशको पूर्वी सीमान्त जिल्ला झापा पनि त्यही विविधायुक्त विशेषताले सम्पन्न छ । यहाँका आदिवासी रैथाने जातिहरुका आ–आफ्ना कला–संस्कृति र विशिष्ट जातीय चिनारी छन् । त्यसैमध्येको तत्कालीन अनारमनीको बिर्ताबजार मूलतः राजवंशी, धिमाल जातिको बसोबास भएको थलो हो । कालान्तरमा पहाडे मूलका मानिसहरुको बसोबास हुन थालेपछि यो बहुजाति, बहुभाषी र बहुसांस्कृतिक पहिचान बनाएर जिल्लाकै अग्रणी बजारका रुपमा स्थापित भएकै हो । झापाको टाघनडुब्बामा रहेको सदरमुकाम भद्रपुरमा स्थानान्तरण गरिएपछि र पूर्व–पश्चिम महेन्द्र राजमार्गको सम्पन्नतासँगै बिर्ताबजार हुँदै सदरमुकाम जोड्ने पुरानो सडककै आधारमा नयाँ सडक निर्माण भयो । यसले बिर्ताबजारको शिर बनिएर बिर्तामोडको उत्पत्ति भयो । यद्यपि यसमा भएको पहिलो शब्दले त्यही बिर्ताबजारको अस्तित्व बोकेको छ ।

बिर्ताबजारको ऐतिहासिकतामा त्यहाँको दुर्गा भवानीको मन्दिरको मुख्य स्थान छ । सोही मन्दिर नजिक रहेका अन्य देवालय तथा शिवालयहरु पनि बिर्ताबजारका श्रृंगार हुन् । आज बजारको स्थापना गर्ने अगुवाहरु भौतिकरुपले उपस्थित नहुनु होला तर शास्त्रीय मान्यता अनुसार उहाँहरु यतैकतै हुनुहुन्छ । भौतिक विकासले, समयले र इतिहासलाई नै विश्रृंखल गर्ने मानसिकताले कुनै जाति, स्थान र क्षेत्र विशेषलाई लाभ हुँदैन । बिर्ताबजारको गहना र इतिहासका रुपमा रहेको दुर्गामन्दिर सडक बिस्तारका लागि स्थानान्तरण गर्न थालियो । जसका लागि सर्वदलीय, सर्वपक्षीय, छलफल नै भयो । इतिहास र विशिष्टता मास्नु हुँदैन भन्नेहरुको बोली अंकगणितको भाषाले बुझेन । त्यसैको परिणाम पुरातन धर्म, संस्कृति, परम्परा, वस्तु, भाषा, लिपि र अवशेषहरुको संरक्षण र सम्बद्र्धन गर्ने मूल लक्ष्यसहित स्थापित पुरातत्व विभागले तत्कालका लागि मन्दिर नहटाउन निर्देशन जारी ग¥यो । यस्तो निर्देशनले केही आशा पलाएको छ कि हाम्रा विशिष्टताहरुको संरक्षण हुन्छ । बिर्तामोड–भद्रपुर सडकखण्ड विस्तार गरी चार लेनको बनाउने काम धमाधम भइरहेको बेला पुरातत्व विभागले काम रोकेर यथार्थ विवरण पठाउन निर्देशन दिएको छ । स्थानीयबासीले जिल्लाकै प्रमुख शक्तिपीठहरु मध्येको एक महत्वपूर्ण पीठका रुपमा मान्दै आएको देवी मन्दिरको सञ्चालन स्याहार–सम्भारका लागि भूमिदान समेत गरेका थिए । देवी गुठीका रुपमा रहेको जग्गा समेत भूमाफियाहरुले अपचलन गरिसकेका छन् । यस्तो बेला इतिहास बोकेको मन्दिरलाई मध्य पारेर सडक बिस्तार गर्नु इतिहास र संस्कृतिप्रतिको सम्मान ठहरिन्छ । जसले मन्दिरका संस्थापक, दाता तथा शुभेच्छुकहरुप्रति पनि सम्मान हुनेछ । यसले मौलिकताको पनि रक्षा गर्नेछ । यसैबाट सबैको जय पनि हुन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here